नेपाली फिल्ममा ‘नेपोटिजम’को गाँज : बाउआमा निर्माता-निर्देशक, छोराछोरी हिरो-हिरोइन

नेपाली फिल्ममा ‘नेपोटिजम’को गाँज : बाउआमा निर्माता-निर्देशक, छोराछोरी हिरो-हिरोइन

काठमाडौं : नेपाली फिल्म होस् या टेलिफिल्म, आफ्ना सन्तानलाई कलाकारितामा डेब्यु गराउने चलन नौलो होइन। क्षमता हैन, बुवाआमा कलाकार या निर्देशक भएकै आधारमा सन्तान स्वतः कलाकार बन्ने गरेका छन्।  

फिल्मका लागि सान्तानले कति अभिनय गर्न सक्छन् भन्ने ज्ञानको मतलव देखिन्न। फिल्ममा लगानी गरेकै भरमा हिरो-हिरोइन बनाउने विकृती देखिन्छ। आफन्तवादलाई प्रश्रय दिइनु ‘नेपोटिजम’ हो। यहि नेपोटिजमले गाँज्दै गएको छ नेपाली कला क्षेत्र।

छोराछोरीको खुशीका लागि भन्दै करोडौं लगानी गरेर हिरो-हिरोइन बनाउँदा राम्रा कलाकार ओझेल परेका छन्। दर्शक दिक्किदा फिल्म क्षेत्रलाई नै घाटा लागिरहेको छ। नेपाली फिल्म यस्तै झुर हुन्छ भन्ने सन्देशले प्रभावशाली कलाकार र निर्माता पनि डुबेका छन्।

रहरै रहरमा नायिका, लगानी चौपट

पुस २७ गते रिलिज भएको फिल्म ‘पर्खि बसे तिमीलाई’मा रक्षा बुढाथोकी नायिकाको रुपमा फिल्म क्षेत्रमा प्रवेश गरिन्। कलाकारितामा कुनै सम्बन्ध नभएकी उनी सिधै नायिकामा डेब्यु गर्ने मौका पाउनुको योग्यता निर्माताको छोरी हुनु नै देखियो।

फिल्मका निर्माता राजाराम बुढाथोकीकी छोरी हुन् उनी। कमजोर अभिनयका कारण फिल्मको ब्यापार चौपट भयो। तर निर्माता बुढाथोकीले छोरीको अभिनयमा रुचि र अभिनय सिकेको हुनाले फिल्म निर्माण गरेको दाबी गरेका थिए।

‘छोरीमा केही क्षमता देखेर नै फिल्ममा लगानी गरेको हो। उनमा कुनै क्षमता नभएको भए अर्को हिरोइन लिएर भए पनि फिल्म निर्माण गर्थे’, उनले केही दिनअघि भनेका थिए। उनमा क्षमता भएर नायिका भएकी रहिछिन् या निर्माताको छोरी भएर त्यो तर फिल्मको प्रतिक्रियाले देखाइहाल्यो। 

यता अभिनेता तथा निर्देशक बिराज भट्ट छोरा समिरलाई फिल्म ‘१२ गाउँ’बाट डेब्यु गराउँदैछन्। फिल्मका लागि छोराको फोटो सामाजिक सञ्जालमा राख्दै उनले छोरालाई कला क्षेत्रमा ल्याउने सार्वजनिक गरे। 

नेपाली फिल्म ‘साङ्लो’मा मुख्य कलाकार तथा निर्देशक बनेका बिराजलाई दर्शकले नपत्याएपछि उनले दोस्रो निर्देशकीय फिल्मबाट छोरालाई अभिनय क्षेत्रमा डेब्यु गराउन लागेको देखिन्छ। फिल्ममा उनी आफैँले लगानी समेत गर्दैछन्। तस्बिरमा समिर आकर्शक देखिएका छन्। तर अभिनय क्षमता र अनुभव के हो खुलेको छैन।

आफैँ लगानी र निर्देशन गरेर छोराछोरीलाई फिल्म खेलाउनेमा राजाराम , बिराजका  अलावा भुवन केसी र झरना थापा लगायत टन्नै छन्न नेपाली कला क्षेत्रमा। जसले क्षमता हैन नातालाई नै प्राथमिकता दिएको प्रष्टै देखिन्छ।

१६ वर्षअघि अभिनेता भुवन केसीले छोरा अनमोल केसीलाई फिल्म ‘सुपरस्टार’मा निर्माताका रूपमा अघि सारेका थिए। सदावहार अभिनेताका रूपमा आफूलाई उभ्याएका भुवन केसीकै नामले फिल्म क्षेत्र चलिरहेको अवस्थामा सुनिल रावलको लगानीमा बनेको फिल्म ‘होस्टेल’मार्फत अभिनेताका रूपमा अनमोलले आफूलाई चिनाए। उनको पहिलो फिल्मले कमाई पनि राम्रै गर्यो।

तर, उनको अभिनयभन्दा पनि लुक्सले गर्दा फिल्म चलेको चर्चा व्यापक भयो। समीक्षकहरूले फिल्म र उनको अभिनय त्यति रुचाएनन्। त्यसपछि फिल्म ‘जेरी’ मा मुख्य अभिनेता थिए अनमोल। 'कृ', 'गाजलु'हुँदै 'क्यापटेन'मा आएर भुवन निर्माता, अनमोल नायक भए।

अनमोल अभिनेता तथा निर्माता भुवन केसीकै छोराका नामले चलेका हुन् भन्दा फरक पर्दैन। किनभने त्यो समयमा उनको अभिनयले दर्शकलाई मनोरञ्जन दिन सकेको थिएन। लुक्सको चर्चाले फिल्म धानेको थियो।

अभिनयले चलेका कलाकार अहिले पनि फिल्ममा टिकिरहेका छन् भने अनमोल फिल्म छान्दै बसिरहेका छन्। अनमोल पछिल्लो समय अरुकै लगानीका फिल्म खेलिरहेका छन्। उनी अहिले फिल्म ‘फर्की फर्की’को छायांकन सकाएर बसेका छन्।

अर्का अभिनेत्री झरना थापा र निर्माता सुनिल कुमार थापाले छोरी सुहाना थापालाई हिरोइनको रूपमा उभ्याए। सुहानालाई उनीहरूले होम प्रोडक्सनमा निर्माण भएको फिल्म ‘ए मेरो हजुर ३’बाट अभिनेत्रीका रूपमा भित्र्याए।

यस फिल्मको निर्देशन झरना थापा आफैँले गरेकी हुन्। होम प्रोडक्सनमा बनेको फिल्ममा सुहाना थापाले हिरोइन हुने मौका पाइन्। यदि झरना र सुनिलको छोरी हुन्थिनन् भने उनलाई फिल्मको मुख्य भूमिका पाउन अनि फिल्म क्षेत्रमा आउनै निकै कठिन हुन्थ्यो भन्ने उनको अभिनय क्षमताले नै देखाउँछ।

अर्का अभिनेता संयम पुरीलाई पनि उनका बुवा तथा निर्देशक नारायण पुरीले फिल्ममा भित्र्याएका थिए। एक दशकअघिका चर्चित निर्देशक पुरीकै नामबाट उनका छोरा संयमले फिल्म ‘सायद’बाट अभिनेतामा डेब्यु गर्ने मौका पाए। पहिलो फिल्मबाट निकै चर्चा कमाएमा संयम पछिल्लो समय श्रीमती आस्मासँग अमेरिका पलायन भए। अभिनयमा खासै सक्रिय छैनन् उनी।

यता टीका पहाडीको छोरा गौरव पहाडीले पनि फिल्ममा काम गर्न नयाँ कलाकारले जस्तो संघर्षरत छिन्। उनी बुवाकै नामबाट निर्माता निर्देशकबीच परिचित भए र अभिनयको लहरो समाते। नेपालका चर्चित कलाकार बुवा हुँदा उनलाई फिल्ममा आउन पनि सजिलो भयो। तर जम्न सजिलो भएन।

सदावहार अभिनेत्रीका रुपमा परिचित करिश्मा मानन्धरकी छोरी कविता मानन्धरले फिल्म ‘एउटा यस्तो प्रेम कहानी’बाट डेब्यू गरेकी थिइन्। अभिनेता तथा निर्माता शिव श्रेष्ठले निर्माण गरेको फिल्मलाई दीपेश सापकोटाले निर्देशन गरेका थिए। नयाँ पुराना कलाकार राखेर निर्माण गरिए पनि फिल्मबाट अभिनेत्री कविताको खासै चर्चा भएन। उनलाई अभिनयमा दोहोर्याउने हिम्मत गर्ने दोस्रो निर्देशक फेला परेको देखिएन।

नाट्यकर्मी बद्री अधिकारीका छोरी केकी अधिकारी नेपाली फिल्ममा सहजै प्रवेश गरिन्। फिल्ममा उनी न हिट भइन् न फ्लप। एकनाशले चलिरहेकी छिन्। केकी मात्रै होइन, उनका भाई बिम्ब अधिकारी पनि अभिनयमा सक्रिय छन्। उनी फिल्मका लागि ट्राइ मारिरहेका छन् भने केही नाटकमा काम गरिसकेका छन्। उनको पछिल्लो अभिनय गरेको नाटक ‘पगला घोडा’हो।

फिल्म निर्देशक शंकर आचार्यका छोरा राज आचार्य बालकलाकारका रूपमा उदाए। हरिवंश आचार्यका छोरा मोहित आचार्यले पनि बुवाकै बलबुतामा केहि सिरियलमा अभिनय गरे। बुवाजतिको चल्न नसकेपछि उनी फिल्ममा आउन सकेनन्।

त्यस्तै फिल्म ‘मायाज् बार’का अभिनेता गजित बिष्टले छोरा सौगातलाई बाल निर्देशककै रूपमा उभ्याएका थिए। उनले फिल्म ‘लभ यु बाबा’मार्फत विश्वकै सानो निर्देशक भन्दै गिनिज बुकमा नाम लेखाउन खोजेका थिए।

कलाकार नै चर्को आवाज उठाउँछन्
फिल्ममा नातावाद र परिवारवादले गाँजेको कुरा नउठेको होइन। चर्को रूपमा बेला–बेलामा उठ्ने गरेको छ। बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेपछि यो विषयमा चर्को बहस भएको थियो।

त्यो समयमा अभिनेत्री नम्रता सापकोटाले फिल्ममा नातावाद र परिवारवादले गर्दा राम्रा कलाकारको आगमन हुन नसकेको भन्दै सामाजिक सञ्जाल तथा अन्तर्वार्तामा बोलेकी थिइन्। उनको भनाइमा थुप्रै कलाकारले ‘हो मा हो’ मिलाएका थिए।

केहि महिनाअघि मात्रै अर्की अभिनेत्री उषा रजकले नातावाद र परिवारवादकै कारण आफू छनोट भएको फिल्मबाट बाहिरिनुपरेको भन्दै आक्रोश पोखेकी थिइन्। उनले सामाजिक सञ्जालमा नामै तोकेर आफ्नै गुरु अनुप बरालले आफूलाई हटाएर श्रीमती दिया मास्केलाई फिल्ममा अभिनेत्री बनाएको आरोप लगाएकी थिइन्।

फिल्म निर्माता तथा निर्देशक मिलन चाम्स आफू नातावाद परिवारवादभित्र नरहेको बताए। उकेरासँगको सम्वादमा उनले आफू अलिक फरक निर्देशक रहेको उल्लेख गरे।

‘म त्यस्तो छैन,’ बहिनीको उदाहरण दिँदै उनले भने, ‘मेरो मामाको छोरी अहिले थिएटरमा एक्टिङ सिकिरहेकी छिन्। मेरो ममीले  मलाई बहिनीलाई हिरोइन बना भन्नुभएको छ तर उनले आफ्नो अभिनय निखारेर नआएसम्म अनि अडिसन पास नभएसम्म मैले केही गर्न सक्दिनँ भनेँ।’

फिल्म व्यावसायिक भएको हुनाले आफ्नो आफन्तभन्दा पनि कामको प्रभाव कतिको छ हेर्नुपर्ने निर्देशक चाम्स बताउँछन्। अभिनय राम्रो गरेको खण्डमा फिल्ममा काम गराउँदा कुनै अफ्ठ्यारो नहुने उनको तर्क छ।

१५ माघ, २०८०, १२:५३:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।