धनगढीका मेयर गोपि हमालले गरेनन् राष्ट्रियसभा चुनावमा मतदान

धनगढीका मेयर गोपि हमालले गरेनन् राष्ट्रियसभा चुनावमा मतदान

काठमाडौं : धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल (गोपि) राष्ट्रिय सभा निर्वाचनमा मतदान नगरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टका अनुसार सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको मतदान प्रक्रिया सकिएको भएपनि स्वतन्त्र उम्मेदवारका रुपमा मेयर निर्वाचित भएका मेयर हमाल भने मतदानमा सहभागी भएनन्।

भट्टका अनुसार मतदान नगर्नेमा भजनी नगरपालिकाका उपमेयर राजु तिरूवाले पनि छन्। नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित भएका उपमेयर तिरूवा बिरामी भएका कारण मतदानमा सहभागी नभएको उनको पार्टीले जनाएको छ।

धनगढीस्थित प्रदेशसभा सचिवालयमा बिहान ९ बजे सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको हो। सहायक निर्वाचन अधिकृत भट्टका अनुसार प्रदेशसभा सदस्य सबै ५२ जनाले मतदान गरेका छन्।

स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १७५ जनामध्ये १७३ जनाले मतदान गरेका छन्। 

११ माघ, २०८०, १६:५०:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।