राष्ट्रिय सभा निर्वाचन तयारी पूरा, लुम्बिनीमा गठबन्धनको जीत निश्चित

राष्ट्रिय सभा निर्वाचन तयारी पूरा, लुम्बिनीमा गठबन्धनको जीत निश्चित

बुटवल : भोलि हुन लागेको राष्ट्रिय सभा निर्वाचनको लागि लुम्बिनी प्रदेशमा दुई सदस्यको तयारी पुरा भएको छ।

दाङको कर्मचारी मिलन केन्द्र घोराहीमा हुन लागेको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन कार्यालयले जनाएको छ।

निर्वाचन स्थलमा दुई मतदान केन्द्र बनाइएको छ। निर्वाचन सामग्रीको व्यवस्थापन, कर्मचारीलाई जिम्मेवारी प्रदान र सुरक्षा व्यवस्थापनको काम पनि भइरहेको निर्वाचन कार्यालयले जनाएको हो।

प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले निर्वाचनमा २० कर्मचारी खटिन लागेको बताए।

‘दुई वटा मतदान केन्द्रमा १०/१० जना गरी २० जना कर्मचारी खटिनेछन्,’ उनले भने।

उनका अनुसार मतदान केन्द्रमा रहेको 'क' मतदान स्थलमा प्रदेश सांसदले मतदान गर्ने छन भने 'ख' मतदान स्थलमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाका प्रमुख, उपप्रमुख गरेर २ सय १८ जनाले मतदान गर्ने व्यवस्था मिलाइएको छ।

प्रदेश सभामा ८७ जना सांसद छन्।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशबाट पाँच राजनीतिक दलका ६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

लुम्बिनीमा अन्य र महिला कलस्टरका दुई पदका लागि निर्वाचन हुँदैछ।

सत्ता गठबन्धन लुम्बिनीमा बलियो छ। तर, एमाले पनि गठबन्धनको मत चोरेर आफ्ना उम्मेदवार जिताउने दाउमै छ। यतिबेला गठबन्धन र एमाले उम्मेदवारहरू मत माग्न लागि परेका छन्।

सत्ता गठबन्धनबाट कांग्रेसका विष्णु सापकोटा र माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी उम्मेदवार छन्। त्यस्तै, एमालेका झपेन्द्रबहादुर जिसी र तुलसाकुमारी केसी उम्मेदवार छन्। राप्रपाबाट विजयलक्ष्मी सिंह र जनमत पार्टीबाट बालगोविन्द चौधरी उम्मेदवार छन्।

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि ८ हजार ७ सय ५३ मतभार छ। त्यसमा सत्ता गठबन्धनको पुरै मत एकैतर्फ हुँदा ५ हजार ४ सय ७७ मत हुन्छ। लुम्बिनीमा एमाले भने कमजोर अंकगणितमा छ।

एमालेको २ हजार ८ सय १० मतभार छ। लुम्बिनीमा एमालेका २९ प्रदेश सभा सदस्य र स्थानीय तहमा ६७ जना प्रमुख उपप्रमुख छन्। राप्रपाको २ सय ६९ मतभार छ। त्यस्तै, छुट्टै उम्मेदवारी दिएको सत्ता गठबन्धनकै जनमत पार्टीको १ सय ५९ मतभार छ।

लुम्बिनीमा स्थानीय तह तर्फ जनता प्रगतिशिल पार्टीको पनि ३८ मतभार छ।

लुम्बिनीमा कांग्रेसको मात्र ३ हजार १ सय ७९ मत छ। लुम्बिनी प्रदेश सभामा कांग्रेसका २७ जना प्रतिनिधि छन् भने स्थानीय तहमा ९२ जना प्रमुख उपप्रमुख निर्वाचित छन्।

गठबन्धन अन्तर्गतको माओवादीको १ हजार ३ सय ४३ मतभार छ। माओवादीबाट ११ जना प्रदेश सभा सदस्य र ४० जना स्थानीय तहमा प्रमुख उपप्रमुख निर्वाचित भएका छन्। जनता समाजवादीको २ सय ७३, नागरिक उन्मुक्ति पार्टीको २ सय १२, लोकतान्त्रिक समाजवादीको २ सय ३५ मतभार छ।

१ जना प्रदेश सभा सदस्य मात्र रहेको एकीकृत समाजवादीको मतभार ५३ मात्र छ।

त्यस्तै, एक प्रदेश सभा सदस्य र स्थानीय तहमा ४ प्रमुख उपप्रमुख रहेको राष्ट्रिय जनमोर्चाको १ सय २९ मतभार छ। यो हिसाबले गठबन्धन बलियो छ।

गठबन्धनका नेताहरू र उम्मेदवारले आफूहरू जित्नेका ढुक्क रहेको बताउँदै आएका छन्।

१० माघ, २०८०, १६:०४:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।