त्रिविको उपकुलपतिका लागि ४३ जनाले दिए आवेदन

त्रिविको उपकुलपतिका लागि ४३ जनाले दिए आवेदन

काठमाडौं : त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदका लागि ४३ जनाको आवेदन परेको छ।

शिक्षामन्त्री अशोककुमार राई संयोजकत्वको सिफारिस समितिले खुला प्रतिस्पर्धाका लागि आवेदन खुलाएकोमा दुई महिलासहित ४३ जनाले आवेदन दिएका हुन्।

आवेदन दिनेहरूमा वर्तमान निमित्त उपकुलपति शिवलाल भुसाल, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंह, त्रिविका पूर्व उपकुलपति तीर्थराज खनियाँ, खुला विश्वविद्यालयका पूर्व उपकुलपति लेखनाथ शर्मा, पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति केशरजंग बराल, त्रिविका पूर्व रजिस्ट्रार चन्द्रमणि पौडेल, पूर्व रेक्टर गुणनिधि न्यौपाने, गण्डकी विश्वविद्यालयका उपकुलपति नवराज देवकोटाले छन्।

त्यस्तै, त्रिवि मानविकी संकायकी डिन कुसुम शाक्य, शिक्षा संकायका डिन चित्रबहादुर बुढाथोकी, त्रिवि कार्यकारी परिषद्का सदस्य महानन्द चालिसे, ताहाचल क्याम्पसका प्राध्यापक भीमसेन देवकोटा, त्रिरत्न बज्राचार्य, संगीता रायमाझी, गोविन्द सुवेदी, टंकनाथ धमला, भोजराज अर्याल, प्रकाश घिमिरे, केदारनाथ घिमिरे, पूर्व डिनहरू कृष्णराज तिवारी, इन्द्रबहादुर कार्की, राजकुमार पोखरेल, बालमुकुन्द रेग्मी, एकराज ओझा, देवबहादुर खड्का, अक्कल देव मिश्र, प्रमोदकुमार झा लगायतले आवेदन दिएका छन्।

सिफारिस समितिका सदस्य एवं शिक्षा सचिव सुरेश अधिकारीअनुसार अब उपकुलपति नियुक्तिका लागि समितिले ३ जनाको नाम सिफारिस गर्नेछ।

‘आवेदनहरू भेरिफाई गर्ने काम भइरहेको छ। अपुग कागजात भए फेरि माग गर्छौँ। विज्ञ टोलीले मूल्यांकन गरेर सबैभन्दा योग्य व्यक्तिको छनोट हुन्छ,’ उनले भने।

प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहालको निर्देशनमा शिक्षामन्त्री तथा सह कुलपति अशोककुमार राई अध्यक्षताको सिफारिस समितिले खुला प्रतिस्पर्धाका आधारमा उपकुलपति नियुक्ति गर्न १५ दिन समय दिएर आवेदन माग गरेको थियो।

९ माघ, २०८०, ११:१९:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।