बेलायतमा चलचित्र सम्बन्धी कार्यक्रमको आवरणमा एक हजार युरो माग्दै डेल्फिक काउन्सिल, बोर्ड सदस्यले मन्त्रालयमा दिए उजुरी

बेलायतमा चलचित्र सम्बन्धी कार्यक्रमको आवरणमा एक हजार युरो माग्दै डेल्फिक काउन्सिल, बोर्ड सदस्यले मन्त्रालयमा दिए उजुरी

काठमाडौं : बेलायतमा नेपाली चलचित्र सम्बन्धी कार्यक्रम गर्ने भन्दै इन्टरनेशनल डेल्फिक काउन्सिल नेपाल शाखाले कलाकारहरूसँग एक हजार युरो( करिब एक लाख ४४ हजार) असुलेको भन्दै चलचित्र विकास बोर्डका सदस्यले उजुरी गरेका छन्। बोर्डका सदस्य केएल बुढाथोकीले नेपाली फिल्मसम्बन्धी कार्यक्रम गर्ने भनेर सो संस्थाले भिसा लाग्ने कलाकारहरूसँग रकम माग गरेको भन्दै सञ्चार मन्त्रालयमा उजुरी दिएका हुन्।

इन्टरनेशनल डेल्फिक काउन्सिल नेपाल शाखाले लन्डनमा ‘नेपाली चलचित्रको ६ दशक, चुनौती र अन्तर्राष्ट्रिय बजारको खोजी’ नामको कार्यक्रम गर्ने भन्दै चलचित्र विकास बोर्डको सहभागिताको लागि पत्र पठाएको थियो। उनीहरूले कार्यक्रममा बोर्डको स्टल राख्ने र सो स्टलबापत दुई लाख ५० हजार रुपैयाँ दिनुपर्ने सर्त राखेको थियो।

काउन्सिलको प्रस्ताव अनुसार मंसिर २८ को बोर्ड बैठकले कार्यक्रममा सहभागी हुने र पुस ३ गते कार्यक्रममा केएल कार्यक्रममा सहभागी गराउन मन्त्रालयबाट सहमति माग्ने निर्णय गरेको थियो। बोर्डको निर्णय अनुसार पुस २० गते मन्त्रिस्तरिय निर्णय गरेर बुढाथोकीलाई बेलायत जान सहमति दिएको थियो।

बेलायतको कार्यक्रममा प्रतिनिधित्व गर्ने अनुमति पाएका बुढाथोकीले नै आयोजकले भिसा लागेका चलचित्रकर्मीबाट पैसा असुल्न थालेको भन्दै कार्यक्रममा बोर्डको सहभागिता रद्द गर्न निवेदन दिए।

आयोजकले भिसा लागेका कलाकारहरूसँग प्रतिकलाकार एक हजार युरो मागेको, चाहे अनुसारका कलाकारको भिसा नलागेपछि माघ ६ बाट ११ गतेसम्म हुने भनिएको कार्यक्रमको मिति सारेर  फेब्रुअरी १० देखि १२ पुर्याएका छन्। आयोजकले कार्यक्रमको कुन स्थानमा हुने भनेसम्म नखुलाई बेलायत लैजानेभन्दै पैसा उठाउन थालेको उनको दाबी छ।

उजुरीबारे बोर्डका प्रवक्ता बुढाथोकीसँग बुझ्दा उनले चलचित्रकर्मीहरूबाट आयोजकले पैसा असुलेको कुरा आएको र यसबारे बुझ्ने काम भइरहेको बताए।

 ‘आयोजकले भिसा लागेका चलचित्रकर्मीहरूबाट पैसा उठाइरहेको कुरा आइसकेको छ,’ बोर्डको प्रवक्ता समेत रहेका उनले उकेरासँग भने’ यसबारेमा मैले बोर्ड अध्यक्ष भुवन केसीलाई र सञ्चार मन्त्रालयमा जानकारी गराइसकेको छु।’

उनका अनुसार डेल्फिकले मंसिर १४ गते बोर्डमा पठाएको पत्रमा कार्यक्रमको पूर्ण तालिका र कार्यक्रम स्थल लगायतका अन्य धेरै कुराहरू स्पष्ट भनेको छैन। संस्थाले  मंसिर २८ गते कार्यक्रममा सहभागीको व्ययभारबारे पठाएको पत्रमा कार्यक्रम आयोजना गर्ने मिति र कार्यक्रम स्थलबारे उल्लेख नै नगरेको र बोर्डको पुस ३ गतेको निर्णय अनुसार सहभागी हुनेको लागि जानकारी सहितको निमन्त्रण पत्र पठाउन आग्रह गर्दा हालसम्म पत्र नपाएको उनले बताए।

‘आयोजकको विभिन्न गतिविधिले नियत ठिक देखिएको छैन। कार्यक्रमको विश्वसनीयता र गरिमा बढाउन चलचित्र विकास बोर्डको सहभागिताको प्रचार व्यापक भएको र बोर्डको दुरुपयोग भइरहेको छ’ उनले भने।

बोर्ड सबै विवादमा, चेत्दैन नेतृत्व

विभिन्न बहानामा विदेशमा चलचित्रबारे आयोजना हुने कार्यक्रमहरूमा सहभागी गराउने भन्दै मानव तस्करीको धन्दा हुँदै आएको छ। यस अगाडि बोर्डले ३० लाख आर्थिक सहयोग गरेर आयोजना गरेको कार्यक्रमको मूल आयोजकै मानव तस्करी र ठगीमा जोडिएको थियो।

नेपाली अवार्ड अनि नेपाली चलचित्रको विस्तारभन्दै आयोजना हुने कार्यक्रमका आयोजकहरूले गैर कलाकारहरूलाई लगेर उतै छाड्ने गरेको घटना पटक-पटक सार्वजनिक भइरहेका छन् नै। तर बोर्डको नेतृत्व अझै चेतेको देखिएन। अहिले त बोर्डकै सदस्यले नेपाली चलचित्रको आवरणमा पैसा असुल्ने काम भएको गम्भीर आरोप लगाएका छन्।

‘विगत केही वर्ष यता विदेश घुमाउने मोह देखाएर चलचित्र क्षेत्रको प्रवर्धनको नाममा पैसा कमाउने धन्दा फस्टाएको भन्ने समाचार आइरहेका छन्। यसले बोर्ड लगायत सरोकारवाला सङ्घसंस्था एवं व्यक्तिहरूले अन्तराष्ट्रियस्तरमा आयोजना गर्ने कार्यक्रमको विश्वसनीयता र प्रतिष्ठा घट्दै गएको छ,’ उनले उकेरासँग भने’ समग्र चलचित्र क्षेत्रको नै बदनाम भएको स्थितिमा यस्ता क्रियाकलापहरूलाई निरुत्साहित नियमन एवं नियन्त्रण गर्न जरुरी छ। गलत कामको म खुलेरै विरोध गर्छु।’

उनले आयोजकले पैसा असुलेको केही प्रमाणहरू आएको र त्यसबारे कानुनी प्रक्रियामा जाने समेत बताए।

को हो आयोजक ?

इन्टरनेशनल डेल्फिक काउन्सिल नेपाल शाखाको आधिकारिक वेबसाइटमा उल्लेख भए अनुसार यसको अध्यक्ष बाबुराम अर्याल(श्रीदेव बिएल) हुन्। यसको उपाध्यक्षमा कला पत्रकार जीवन पराजुली छन्। महासचिव नरेशध्ज जोशी,सचिव सूर्यबहादुर रस्कोटी, कोषाध्यक्ष सबिरा नकर्मी श्रेष्ठ र सदस्यहरूमा शारदा खड्का अर्याल र दीपक विष्ट गाउँले छन्।

संस्थाका उपाध्यक्ष पराजुलीले पैसा लिने कुरा सुरुमा नै सबैलाई जानकारी गराइएको र कसैलाई पैसा लिने र कसैलाई नलिने नभनिएको दाबी गर्छन्।

‘कार्यक्रममा सहभागी हुन सुरुमा नै सबैले आ–आफ्नै लगानीमा कार्यक्रममा जाने भनिएको थियो। यसमा स्पन्सरका रूपमा कान्तिपुर फिल्म एकेडेमीबाट १० लाख लिइएको हो। यस बाहेक चलचित्र विकास बोर्ड दुई जना सहभागी हुँदा कर सहित २ लाख ५० हजार मागिएको हो। कार्यक्रममा बसुन्जेल आफैले खर्च गर्ने भनिएको छ’ उनले दाबी गरे।

पहिला पैसाबारे जानकारी नगराएको तर पछि भिसा लागेकाहरूसँग पैसा मागेको भन्ने विषयमा उनको जवाफ थियो’ म उपाध्यक्ष भएर त आफ्नै खर्चमा गइरहेको छु भने अरूलाई  सित्तैमा लैजाने भन्ने हुन्न।’ 

५ माघ, २०८०, १८:०९:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।