टीयुले समयमै परीक्षा र नतिजा नपाएपछि विद्यार्थीले विदेश रोज्न थाले : सञ्चारमन्त्री

टीयुले समयमै परीक्षा र नतिजा नपाएपछि विद्यार्थीले विदेश रोज्न थाले : सञ्चारमन्त्री

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले त्रिभुवन विश्वविद्यालयले समयमै परीक्षा र नतिजा प्रकाशन नगर्दा विद्यार्थी विदेश रोज्न थालेको टिप्पणी गरेकी छन्।

आज त्रिभुवन विश्वविद्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री शर्माले त्रिविको असक्षमताले विद्यार्थी विदेशिएको बताइन्।

उनले त्रिभुवन विश्वविद्यालयले समयमै परीक्षा नलिने र समयमा नै नतिजा प्रकाशन नगर्ने गुनासोहरू बढेको भन्दै विद्यार्थी सोही विषयलाई लिएर निजी विश्वविद्यालय र विदेशी विश्वविद्यालयतिर बिस्तारै आकर्षित भइरहेको बताइन्।

उनले अध्ययन/अध्यापन र परीक्षा, नतिजा लगायतका विषयहरू सूचना र प्रविधिसँग जोड्दा समस्या समाधान हुने बताइन्।

मन्त्री शर्माले भनिन्,  ‘टीयूसँग केही गुनासाहरू छन्। नतिजा र परीक्षाहरूका समस्याको बारेमा समयमै नहुने समस्या छ। त्यसले गर्दा निजी विश्वविद्यालय र विदेशी विश्वविद्यालयतिर बिस्तारै आकर्षित भइरहेका छन्। त्यहाँ जानुपर्ने बाध्यात्मक स्थिति पनि सिर्जना भइरहेको छ। टीयू राम्रो हो तर के गर्नु? समयमा नतिजा आउँदैन, परीक्षा हुँदैन। कोर्स पूरा हुँदैन भन्ने गुनासो छ। परीक्षा, नतिजा लगायतका सबै कुरालाई सूचना र प्रविधिमा लाग्यौँ भने यस्ता समस्याहरू अन्त्य भएर जान्छन्। हामीले हाम्रा परीक्षा प्रणाली, अध्ययनका कुरालाई सूचना र प्रविधिको प्रयोग गरेर अघि बढ्ने हो भने गुनासा समाधान हुनेछन्। विश्वविद्यालय माथि उठ्नेछ।’

३ माघ, २०८०, १३:४७:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।