प्रचण्डलाई बालेनको व्यङ्ग्य- ‘एउटा मन कतिपल्ट जित्नुहुन्छ प्रचण्ड सरकार!’

प्रचण्डलाई बालेनको व्यङ्ग्य- ‘एउटा मन कतिपल्ट जित्नुहुन्छ प्रचण्ड सरकार!’

काठमाडौं : मेलम्ची खानेपानी आयोजनाको उद्घाटनको विषयलाई लिएर काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आलोचना गरेका छन्।

सोमबार प्रधानमन्त्री प्रचण्डले पुनः मेलम्ची खानेपानी आयोजनाको उद्घाटन गरेपछि महानगर प्रमुख बालेनले उनीमाथि कटाक्ष गर्दै ‘एउटा मन कतिपल्ट जित्नुहुन्छ प्रचण्ड सरकार!’ भनेका हुन्।

उनले भने, ‘हामीसँग भएको एउटा मन कतिपल्ट जित्नुहुन्छ प्रचण्ड सरकार, एउटै परियोजना बारम्बार उद्घाटनको विश्वकिर्तिमान कायम गरेर।’

उनले मेलम्ची खानेपानी आयोजनाको अहिले समेत गरेर पाँचपटकसम्म उद्घाटन भइसकेको समेत बताए। २०७७ फागुनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, २०७७ चैतमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी, २०७९ वैशाख र मंसिरमा तत्कालीन खानेपानी मन्त्री उमाकान्त चौधरी र आज प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरेको बताएका हुन्।

बालेनले आफूले आलोचना मात्र नभएर सहकार्य गर्नसमेत चाहेको बताउँदै बाह्रै महिना चौबिसै घण्टा पानी आउनका लागि सक्रिय तरिकाले काम गर्नको लागि तत्पर रहेको स्पष्ट पारे।

उनले थपे, ‘हरेक पल्ट भन्ने गरेका छौँ, हामी केन्द्र सरकारसँग सहकार्य गर्न चाहन्छौँ। यो मौका दिनु हुनेछ भन्ने आशा लिएका छौँ। सहकार्यबाट दिगो परिणाम ल्याएर भन्न पाइयोस्, हाम्रो मन साच्चै नै जित्नुभयो भनेर।’

१ माघ, २०८०, १३:५७:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।