विलियम लाइ बने ताइवानको नयाँ राष्ट्रपति

विलियम लाइ बने ताइवानको नयाँ राष्ट्रपति

 

एजेन्सी : ताइवानको नयाँ राष्ट्रपतिमा सार्वभौमसत्तावादी विलियम लाइ (लाइ चिङ ते) निर्वाचित भएका छन्।

ताइवानको स्वतन्त्रताको पक्षमा रहेका लाइ हिजो भएको निर्वाचनबाट ४० प्रतिशत मत प्राप्त गर्दै निर्वाचित भएका हुन्।

यसअघिका उपराष्ट्रपति लाइ राष्ट्रपतिमा निर्वाचित भएसँगै चीनबाट अलग हुने प्रयासमा झनै बल मिलेको छ। निर्वाचनको नतिजाले बेइजिङ रुस्ट भएको र ‘ताइवान चीनको हिस्सा हो’ भन्दै विज्ञप्ति जारी गरेको बीबीसीले उल्लेख गरेको छ।

बेइजिङले ताइवानलाई शान्तिपूर्ण तरिकाले चीनमा ल्याउने र आवश्यक परे बल समेत प्रयोग गर्ने भन्दै आएको छ। ताइवानको यो ऐतिहासिक चुनावलाई ‘युद्ध र शान्ति’बीचको निर्वाचनका रूपमा हेरिएको छ।

ताइवानलाई स्वतन्त्र देश दाबी गर्ने डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डीपीपी) आठ वर्षदेखि सत्तामा छ। प्रमुख विपक्षी उमेदवार कुओमिन्ताङ (केएमटी) पार्टीका हु यु–इ लाई डीपीपीकै लाइले निर्वाचन जितेसँगै पार्टी लगातार तेस्रो कार्यकालका लागि शासन गर्ने भएको हो।

राष्ट्रपति निर्वाचित भएपछि उनले ‘देश सही बाटोमा अघि बढ्ने र दायाँबायाँ वा पछाडि नफर्कने’ टिप्पणी गरेका छन्।

२९ पुस, २०८०, १२:२१:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।