कमल खत्रीका प्रिय १० सुर : सुगम पोखरेल र नविन के भट्टराईलाई सुनेपछि पप गीतहरू मनपर्न थाल्यो

कमल खत्रीका प्रिय १० सुर : सुगम पोखरेल र नविन के भट्टराईलाई सुनेपछि पप गीतहरू मनपर्न थाल्यो

नेपाली युवापुस्तामाझ चर्चित गायक हुन् कमल खत्री। आधुनिक पप जनराका गीत गाउँदै आएका खत्रीका अधिकांश गीत युवापुस्तामाझ लोकप्रिय छन्। उनी आफ्ना मात्र नभएर अरूका मनपर्ने गीत पनि सुन्ने र गुनगुनाउने गरेका छन्। उनै गायक खत्रीले आफूलाई मनपर्ने आफ्ना पाँच र अरूका पाँच गीत यसरी छानेका छन्।

जाउँला रेलैमा 
यो गीत अहिलेको समयमा एकदमै सान्दर्भिक रहेको छ। किनभने अहिले पनि केहि समाजमा जातीय विभेद छ। त्यो विभेदलाई अलिकति भए पनि मेरो गीतमार्फत ‘जातभन्दा माया ठूलो’ भन्ने सन्देश दिन खोजेको छु। स्रोता-दर्शकले पनि अत्यन्त रुचाइदिनुभएकाले मलाई यो गीत मन परेको हो। गीतमा शब्द, संगीत र स्वर मेरो आफ्नै छ।

आत्मामा मेरो आत्मामा
यो गीतले मलाई छोटो समयमा नै कमल खत्री भनेर चिनायो। अहिले पनि सांस्कृतिक कार्यक्रममा दर्शकहरूले यो गीत सुन्न चाहनुहुन्छ। सधैँ याद भइरहने गीत पनि हो यो। त्यसकारण पनि यो गीत मलाई प्रिय लाग्छ। यो गीतको शब्द संगीत मेरो आफ्नै हो। यसमा मलाई बबिता मानन्धरले गायनमा साथ दिनुभएको छ। 

चोखो माया दिए पुग्छ मलाई 
यो ‘जीन्दगी रक्स’ फिल्मको गीत हो। गीत श्रेया सोताङ र मैले गाएका छौँ। यो गीत मलाई किनपनि प्रिय लाग्छ भने यसले मायाको भाव प्रकट गरेको छ। सुनचाँदी भन्दा पनि माया ठूलो हो, त्यो त देखावटी चीज हो भन्ने भाव गीतले बोलेको छ। त्यसैले पनि यो गीत मलाई प्रिय लाग्छ। यसको शब्द संगीत मेरो आफ्नै हो।

फिका फिका 
यो गीत मैले र मेरो श्रीमती मेलिना मैनालीले पहिलो पटक गाएको गीत हो। युट्युबमा पनि धेरै पटक हेरिएको गीत पनि हो। एक करोड ५० लाख भन्दा बढी दर्शकले हेरिसक्नुभएको छ यो गीत। उनीसँगको पहिलो सहकार्य भएकाले पनि मेरा लागि यो गीत प्रिय छ। फिका फिका जीवनमा तिमी आयौँ रंगिन भयो भन्ने भाव गीतले बोलेको छ। गीतको शब्द र संगीत मेरो आफ्नै हो।

तिमी मेरो पहिलो माया 
एउटा मायामा त्याग देखाएको गीत हो यो। आफ्नो मायालु भन्दा अरु केहि चाहिँदैन। मसँग भएका सबै चीजहरू दिन सकुँ भन्ने भाव गीतले बोलेको छ। सुजित लम्सालले लेख्नुभएको गीतको शब्द मन परेर पनि मैले गाएको हो। गीत गाउँदामा पनि आनन्द लाग्छ। दर्शक स्रोताको रोजाइमा अत्यधिक परेको गीत पनि हो। त्यसकारण पनि यो गीत मलाई प्रिय लाग्छ।

अरूका पाँच 
फेरि त्यो दिन सम्झन चाहान्न
सुगम पोखरेलले गाउनुभएको यो गीत एकदमै मनपर्छ। हामी स्कुल पढ्दाखेरिको एकदमै रुचाइएको गीत थियो यो। यो गीतको शब्द संगीत एकदमै राम्रो छ। आधुनिक गीतमा इन्ट्रेस थियो, तर पप गीतहरू पनि सुन्थेँ। सुगम पोखरेल र नविन के भट्टराई लगायतको गीतहरू सुनेपछि मात्र पप गीतहरू मन पर्न थाल्यो। मैले स्कुल पढ्दाको समयमा धेरै पटक गाएको गीत हो। यो गीतमा सुगम पोखरेलकै शब्द संगीत रहेको छ।

चुलेसीमा
यो गीत मैले धेरै स्टेजहरूमा गाउने गीत थियो। हाइ पिचको गीत एकदमै मनपर्ने भएको कारणले गर्दा मेरो रोजाइमा पर्ने गीत थियो हो। मलाई अहिले पनि याद छ। ५८ सालतिर मैले एसएलसी दिने समयमा यो गीत खुब चलेको थियो। म आफूले पनि गुनगुनाउँदै हिड्थेँ। त्यो समयमा कि म रामकृष्ण ढकाल दाईको गीत गाउँथे कि त यहि गीत थियो। यो गीत अहिले कतै बजेको सुने भने स्कुल पढ्दाको याद आउँछ। त्यसकारण पनि यो गीत मलाई प्रिय लाग्छ। गीतलाई सञ्जिव सिंहले नै गाउनुभएको हो भने शब्द संगीत पनि उहाँकै छ।

मलाई नसोध कहाँ दुख्छ घाउ
हामी हुर्किँदै गर्दा रेडियो नेपालमा बज्दा धेरै सुन्ने गीतहरूमध्ये एक हो यो पनि हो। स्कुलका कार्यक्रमहरूमा मैले धेरै गुनगुनाएको गीत हो यो। सबै जनराको गीत गाए पनि यो अलि बढी मनमा गढेको छ। स्वरसम्राट नारायण गोपालको आवाजाम रहेको गीतमा उहाँकै संगीत छ। गीतलाई हरिभक्त कटुवालले लेख्नुभएको छ।

हजार सपनाहरूको 
भजन शिरोमणि भक्तराजा आचार्यको आवाजमा रहेको यो गीत पनि मलाई एकदमै मनपर्छ। सर्लाही छोडेर काठमाडौंमा संघर्ष गर्दा गाउँ सम्झेर यहि गीत गुनगुनाउँथे म। गाउँको याद दिलाउने गीत भएकोले पनि धेरै पटक यो गीत रुममा बसेर गुनगुनाउँथे म।

साउने झरी 
‘लाहुरे’ फिल्ममा समावेश यो गीत आशा भोस्लेले गाउनुभएको हो। यो गीत सुनेपछि मैले गाउन पाए पनि हुन्थ्यो नि जस्तो लाग्ने। लेडिज भोकल भएता पनि स्कुलका कार्यक्रमहरूमा पनि म गाउँथे यो गीत। यो गीतले गाउँका गोरेटोहरू कस्ता हुन्छन् भन्ने कुरालाई आखै अगाडि झलझली ल्याइदिन्छ। 

२७ पुस, २०८०, ११:४८:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।