राजतन्त्र इतिहास भइसकेको छ अब त्यो फर्केर आउन सम्भव छैन : माधव नेपाल

राजतन्त्र इतिहास भइसकेको छ अब त्यो फर्केर आउन सम्भव छैन : माधव नेपाल

काठमाडौं : एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केही व्यक्तिहरू राजसंस्थाको पक्षमा हिडिरहेको भन्दै अब मुलुकमा राजतन्त्र फर्किने सम्भावना नरहेको बताएका छन्।

कैलालीको टीकापुरमा आजदेखि सुरू भएको नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनमा बोल्दै उनले राजतन्त्र फर्किन सक्ने सम्भावना नरहेको बताए।

‘केही मान्छेले खुट्टा उचालिरहेका मात्रै हुन्, राजतन्त्र इतिहास भइसकेको छ अब त्यो फर्केर आउन सम्भव छैन,’उनले भने।

उनले पार्टी व्यवस्था भन्दा निर्दलीय, निरङ्कुश र अधिनायकवाद काम नलाग्ने कुरामा जोड गरे।

‘एउटा वंशको हातमा शासन लगेर सबैलाई दास बनाउने व्यवस्था काम लाग्दैन, फेरी दास बनाउने गरि कोही आउन थालेको छ भने त्यो स्वीकार्य हुँदैन,’ उनले भने।

नेपालले रेशम चौधरी टीकापुर घटनामा प्रत्यक्ष रूपमा नरहेको बताए।

आज टीकापुरमा नेपाल र नागरिक उन्मुक्ति पार्टीका अध्यक्षसमेत रहेकी भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले महाधिवेशनको उद्घाटन गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले महाधिवेशन उद्घाटन गर्ने बताए पनि उनी नआएपछि नेपाल र श्रेष्ठले संयुक्तरुपमा नागरिक उन्मुक्ति पार्टीको पहिलो महाधिवेशनको उद्घाटन गरेका हुन्।

आजदेखि दुई दिनसम्म सञ्चालन हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।

२६ पुस, २०८०, १८:५९:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।