बलात्कार पीडितको पहिचान खुलाउने र गालीगलौच गर्ने खोज्दै साइबर ब्युरो

बलात्कार पीडितको पहिचान खुलाउने र गालीगलौच गर्ने खोज्दै साइबर ब्युरो

काठमाडौँ : बलात्कार पीडितको परिचय सार्वजनिक गर्ने र मानमर्दन गर्ने विरुद्ध प्रहरीको साइबर ब्युरोले अनुसन्धान अगाडि बढाएको छ। बुधवार काठमाडौँ जिल्ला अदालतले सन्दीप लामिछानेलाई आठ वर्ष कैद सजाय सुनाएपछि उल्टो पीडितको आलोचना गर्दै केहीले त उनी भएको दाबी गर्दै तस्बिरहरू समेत सार्वजनिक गरेका थिए।

अपराध पीडित संरक्षण ऐन र गोपनीयतासम्बन्धी ऐनले कस्ता विवरण सार्वजनिक गरे दण्डनीय हुने भन्ने उल्लेख गरेको छ। अपराध पीडित संरक्षण ऐनमा बलात्कार, मानव बेचबिखन, यौन दुर्व्यवहारका घटनाका पीडितको पहिचान कुनै पनि रूपबाट प्रकट गर्न नहुने’ उल्लेख छ।

गोपनीयतासम्बन्धी ऐनले कुनै पनि व्यक्तिको जीवनमा असर पुग्ने, आघात पुग्ने गरी लेखेर, बोलेर, प्रकाशन गरेर वा विद्युतीय माध्यम प्रयोग गरेर वा अन्य कुनै पनि प्रकारले सार्वजनिक गर्नु वा गराउनु हुँदैन’ भनेको छ।

पीडितको हकमा यी सामाजिक सञ्जालहरूमा यी दुवै गतिविधि भइरहेका छन्। ब्युरोका एसपी पशुपति रायले पीडितको पहिचान सार्वजनिक गरिएको भन्दै उजुरी आएको र त्यसबारे तत्काल अनुसन्धान अगाडि बढाइसकिएको जानकारी दिए।

‘उजुरी आए लगत्तै सम्बन्धित व्यक्तिहरू पहिचान गर्न अनुसन्धान सुरु भइसकेको छ,’ उनले उकेरासँग भने’ कतिपयले यस्ता काम फेक प्रोफाइलबाट पनि गरेका हुन्छन्। जसले यस्तो काम गरेको हो उसको पहिचान गरेर कानुनी कारबाहीको दायरामा ल्याउन ब्युरो गम्भीर छ।‘

२६ पुस, २०८०, १६:१८:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।