भुवा मनाउँदै सुदूरपश्चिम, आज सार्वजनिक बिदा

भुवा मनाउँदै सुदूरपश्चिम, आज सार्वजनिक बिदा
फाइल तस्बिर

काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशमा सार्वजनिक बिदा दिएको छ। 

भुवा पर्वको अवसर पारेर प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको हो।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी लक्ष्मीराज जोशीका अनुसार बिदाको दिन प्रदेशस्थित सरकारी तथा सार्वजनिक निकाय बन्द रहने छन्। 

बाजुरा, बझाङलगायत पहाडी जिल्लामा उल्लासपूर्वक मनाइने भुवा पर्व पछिल्लो समय कैलाली, कञ्चनपुरमा समेत मनाउन थालिएको छ।

पहाडबाट तराई झरेका बाजुरेली, बझाङ्गीले भुवा पर्व मनाउने गरेका हुन्।

दमाहाको तालसँगै एक हातमा तरबार र अर्को हातमा ढाल नचाइने यो पर्वमा सुदूरपश्चिमका गाउँबेसीमा युद्धकालीन कौशलताको झल्को दिने झाँकी प्रदर्शन हुन्छन्। खासमा त्यो भुवा पर्वको उल्लास हो।

भुवा पर्व पुसे औँसीको अघिल्लो मध्यरातबाट सुरु हुन्छ। जसको आफ्नै ऐतिहासिक पक्ष रहेको छ।

महाभारतमा पाण्डप र कौरवबीचको युद्धदेखि यो पर्व आरम्भ भएको जनविश्वास रहँदै आएको छ। सोही लडाइँको सम्झनामा तथा पाण्डवहरूको जितको खुसियालीमा यो पर्व मनाउन थालिएको हो।

२६ पुस, २०८०, ०८:२६:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।