बुटवलमा सञ्चालित ११ वटा ट्राभल एजेन्सी कारबाहीमा

बुटवलमा सञ्चालित ११ वटा ट्राभल एजेन्सी कारबाहीमा

बुटवल : जिल्ला अनुगमन समितिले रुपन्देहीको बुटवलमा सञ्चालित ११ वटा ट्राभल एजेन्सीहरूलाई जरिवानासहित कारबाही गरेको छ।

दर्ता, नवीकरण र शाखा सञ्चालन अनुमति नलिएका ट्राभललाई कारबाही गरिएको हो। बिहीबार जिल्ला प्रशासन र पर्यटन डिभिजन कार्यालयसहितको संयुक्त अनुगमन समितिले मापदण्ड पूरा नगरी सञ्चालनमा रहेका ट्राभललाई कारबाही गरी तत्काल आवश्यक प्रक्रिया पूरा गर्न निर्देशन दिएको छ। समितिले बुटवल उपमहानगरपालिका–९ मा रहेका १४ वटा ट्राभलहरूको अनुगमन गरेको थियो। जसमध्ये ३ वटा कानुनसम्मत सञ्चालनमा रहेको पाइए पनि बाँकी ११ वटा भने मापदण्डअनुसार नपाइएपछि जरिवानासहित कारबाही गरिएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी तथा अनुगमन समिति संयोजक रामचन्द्र अर्यालले बताए।

उनका अनुसार कारबाहीमा परेका ट्राभल एजेन्सीहरू दर्ता विनै सञ्चालन गरिएको, कपिलवस्तु र रुपन्देहीका विभिन्न ठाउँमा प्रधान कार्यालय खोलेर शाखा सञ्चालन गरिए पनि अनुमति नलिइएको, नवीकरण नगरी सञ्चालन गरिएको पाइएको छ।

 समितिले सरकारी निकायबाट लिनुपर्ने इजाजत पत्र नलिई सञ्चालनमा रहेका रुद्रावती टुर्स एन्ड ट्राभल, खलङ्गा सुपा देउराली टुर्स प्रालि, लुम्बिनी हिमालय टुर एन्ड ट्राभल प्रालि, सुपा देउराली टुर एन्ड ट्राभल प्रालि, श्री दुर्गेश्वरी ट्राभल प्रालि, जनसगरमाथा टुर एन्ड ट्राभल, नमस्ते बिहानी टुर एन्ड ट्राभल, न्यु सागर एन्ड सगरमाथा र्टुस एन्ड ट्राभल, न्यु सुपा देउराली माँ टुर्स एन्ड ट्राभल प्रालि, श्री शुभ साइत टुर्स एन्ड ट्राभल प्रालि र सुपा देउराली टुर्स एन्ड ट्राभललाई जरिवानासहित कारबाही गरेको छ।

यी ११ वटै ट्राभल एजेन्सीलाई कारवाहीस्वरुप जनही २० हजारका दरले दुई लाख २० हजार जरिवाना तिराइएको पर्यटन डिभिजन कार्यालय, रुपन्देही प्रमुख गीता आचार्यले बताइन्।

प्रदेश पर्यटन ऐन, २०७६ तथा नियमावली, २०७९ को परिच्छेद ३ को दफा ११ मा ट्राभल एजेन्सी वा ट्रेकिङ एजेन्सी खोल्नु पूर्व अनुमति लिनुपर्ने व्यवस्था छ। यदि अनुमति बिनै सञ्चालनमा ल्याए २० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था छ।

उपभोक्ता हित संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड (ट) ले जिल्ला प्रशासनलाई ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था गरेको छ।

अनुगमन गरिएका ट्राभललाई तत्काल बन्द गर्न लगाई सबै निकायबाट इजाजत लिएपछि मात्रै सञ्चालन गर्न निर्देशन गरिएको छ। कारबाहीमा परेका ट्राभलको पुनः अनुगमन गरिने आचार्यले बताइन्।

२० बैशाख, २०८१, २२:३४:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।