ग्याब्रियल एटल बने फ्रान्सको सबैभन्दा कान्छो प्रधानमन्त्री

ग्याब्रियल एटल बने फ्रान्सको सबैभन्दा कान्छो प्रधानमन्त्री

एजेन्सी : फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनले गेब्रियल एटललाई देशको नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन्। खुला रूपमा आफूलाई समलिङ्गी बताउने ३४ वर्षीय एटल फ्रान्सको सबैभन्दा कम उमेरमा सरकार प्रमुख बनेका छन्।

उनी २९ वर्षको उमेरमा सरकारका सबैभन्दा कम उमेरका मन्त्री बनेका थिए। त्यति बेला उनी कनिष्ठ शिक्षामन्त्री बनेका थिए।

सन् २०२० देखि उनी सरकारको प्रवक्ता भए। राष्ट्रपति म्याक्रोन पुनः निर्वाचित भएपछि एटल छोटो समयका लागि बजेटमन्त्री थिए।

त्यसपछि गत जुलाईमा शिक्षमन्त्रीको जिम्मेवारी पाएका नवनियुक्त प्रधानमन्त्री एटल म्याक्रो सरकारको सबैभन्दा प्रशंसनीय पात्र रहेका विभिन्न मत सर्वेक्षणले देखाएको छ।

राष्ट्रपतिको विज्ञप्तिमा भनिएको छ, ‘गणतन्त्रका राष्ट्रपतिले श्री ग्याब्रियल एटललाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ र उहाँलाई सरकार बनाउने जिम्मेबारी दिनुभएको छ।’

फ्रान्सेली राजनीतिक प्रणाली अन्तर्गत प्रधानमन्त्री राष्ट्रपतिद्वारा नियुक्त गरिन्छ र संसदप्रति उत्तरदायी हुन्छ। नवनियुक्त प्रधानमन्त्री अटल घरेलु नीति कार्यान्वयन गर्ने एबम् सरकारका मन्त्रीहरूको टोलीलाई समन्वय गर्ने जिम्मेवारीमा हुनेछन्।

२०२३ मा अलोकप्रिय पेन्सन र अध्यागमन सुधारलाई धक्का दिएपछि म्याक्रोनले चुनौतीहरूको वर्ष भोग्नु परेको छ। अटललाई बोर्डमा ल्याउने उनको कदमलाई जुनमा हुने युरोपेली संसदको चुनावअघि लोकप्रियता बढाउने रुपमा हेरिएको छ।

२५ पुस, २०८०, १६:२२:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।