चितवनमा बोरामा फेला परेको महिला र पुरुषको शवको रहस्य खुल्यो, दुवै भारतीय, सम्बन्धको शंकामा हत्या

चितवनमा बोरामा फेला परेको महिला र पुरुषको शवको रहस्य खुल्यो, दुवै भारतीय, सम्बन्धको शंकामा हत्या

काठमाडौँ : चितवनको मिलनचोकको सडक कल्भर्टमा बोराभित्र भेटिएको शवको डेढ महिनापछि पहिचान भएको छ। प्रहरीले स्केच बनाएर सार्वजनिक गर्दा पनि शव कसको हो खुलेको थिएन। अनुसन्धानबाट ती शव भारतीय नागरिक ऋषभ कुमार कुशवाहा र अस्मिता भन्ने सन्जु देवीको रहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

यी दुवैको हत्या सन्जुका श्रीमान् अखिलेश भगतले गरेको खुलेको छ। उनी अहिले भारतको जेलमा छन्। प्रहरीका अनुसार ऋषभ र सन्जुबीचको सम्बन्धमा शङ्का गरेर उनले डेरामा हत्या गरेर शव बोरामा प्याक गरी कल्भर्टमा फालेका थिए। लगत्तै भारत गएका उनी उतै अपहरण केसमा पक्राउ परेर जेल चलान भइसकेका छन्।

प्रहरीले २०८० मंसिर ६ गते चितवन, भरतपुर- १२ मिलनचोक स्थित सडक कल्भर्ट मुनी शङ्कास्पद  दुई वटा जुटको बोरामा अन्दाजी २४/२५ वर्ष उमेरको जस्तो देखिने पुरुष व्यक्ति र अन्दाजी ३०/३१ वर्ष उमेरको जस्तो देखिने महिलाको शव फेला पारेको थियो।

मुखमा टेप लगाएको, घाँटीमा सल जस्तो रातो कपडाले कसेको, दुवै शवको दुवै हात र खुट्टा क्रस गरी डोरीले बाँधी सोही डोरीले घाँटीमा समेत बाँधेर डल्लो बनाई बोरा भित्र राखेको अवस्थामा शव फेला परेको थियो।

स्थानीय प्रहरीले मात्र अनुसन्धान गर्न नसकेपछि केन्द्रीय अनुसन्धान ब्युरो, बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले घटनास्थलको अध्ययन, प्राविधिक विश्लेषण, सूचना सङ्कलन र विश्लेषण गरेको थियो। स्केच सार्वजनिक भएपछि भारतबाट आएका आफन्तले दुवै शवको सनाखत गरेका थिए।

प्रहरीका अनुसार दुवै मृतक हत्या अगाडि नेपालमा तरकारी, फलफूल व्यापारका लागि भारत-नेपाल आउजाउ गरिरहन्थे। उनीहरू अन्तिम पटक २०८० को दशैपछि चितवनको मिलनचोकमा कोठा लिएर बसेका थिए।

ऋषभ  र सन्जुदेवीको सम्बन्धलाई लिएर सन्जु देवीको श्रीमान् अखिलेश भगतले शङ्का गरी झगडा गर्दै आएका थिए। मङ्सिर दुई गते ऋषभ र सन्जु देवीलाई अखिलेशले भाडाको कोठामा हत्या गरेका थिए।

उनले दुवै शवलाई २ वटा जुटको बोरामा बन्द गरेर ३ गते मध्यरात १२ :४५ देखि १:१२ बजेको समयमा दुई पटक गरी साइकलमा राखेर श फेला परेको कलभर्टतिर लगेको प्रहरीले सिसिटिभी फुटेज फेला पारेको थियो।

शव फेला परेको आठ दिनसम्म अखिलेश चितवनमै थिए। भारतको बिहार सुगांव डीह, सुगौली, पूर्वी चम्पारण बस्ने अखिलेश  मङ्सिर १६ मा भारत गए।

उनको पहिचान भएपछि नेपाल प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरेको थियो।  उनी भारतको जेलमा रहेको खुल्यो।

नेपालबाट भारतजाँदा उनी विरुद्ध अपहरणको जाहेरी परेको थियो। थाना सुगौली बिहारमा दर्ता भएको जाहेरीको आधारमा उनी पुस १६ गते  पक्राउ परेका थिए। उनी अहिले भारतको केन्द्रीय कारागृहमा मोतिहारीमा छन्।

भारतीय प्रहरीको समन्वयमा  सोधपुछ गर्दा उनले नेपालको चितवनमा भतिजा नाता पर्ने ऋषभ र श्रीमती सन्जु देवीको हत्या गरेर आएको स्वीकारेको प्रहरीले जानकारी दिएको छ।

२४ पुस, २०८०, ०२:०४:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।