५० वर्षदेखि ढोकाटोलमा ह्याण्डीक्राफ्ट बेचेका बामनको अनुभव : भाउ सुनेर पर्यटकहरू तर्सिन्छन्, नेपालीले किनौला जस्तो गरेर गफ दिएर हिँड्छन्

५० वर्षदेखि ढोकाटोलमा ह्याण्डीक्राफ्ट बेचेका बामनको अनुभव : भाउ सुनेर पर्यटकहरू तर्सिन्छन्, नेपालीले  किनौला जस्तो गरेर गफ दिएर हिँड्छन्

काठमाडौंको ढोकाटोल हुँदै नरदेवी जाने गल्लीमा बामन शाहीको पसल छ। पसलमा प्रायः 'स्टक'का ह्याण्डीक्राफ्टका सामानहरू सजाएर राखिएका छन्। हेर्दा पुरानो देखिन्छन्। त्यो उनले नै 'पुरानो जस्तै देखिने' बनाएका रहेछन्। 

अहिले उनी ७२ वर्षका भए। यो पसल साथीहरूको डेढ सय रूपैयाँको  सहयोगमा खोलेका रहेछन् उनले। उनले अहिले आफ्नो पसल ५०/६० लाख मूल्यसम्मको पुर्याइसके।

तर, अहिले पर्यटकहरू देखिनै छाडे। उनको व्यापारमा खस्किएको छ। उनी फुर्सदमा छन्। अहिले व्यापार गरेर नाफा हैन जसरी हुन्छ पसल टिकाइराख्न उनी र उनको छोरा लागिपरेका देखिए। 

'अहिले पनि खान-लाउन त पुग्छ,' उनी हाँस्दै सुनाउँछन्, 'तर, पहिला चैं कमाउन पनि पुग्थ्यो। अहिले मान्छेलाई धेरै नै दुख छ।'

आधा शताब्दी ह्याण्डीक्राफ्टकै काम गरे पनि उनको पुर्ख्यौली पेसा भने यो होइन। उनको बुवाले यही असनमा किराना पसल राख्दै आएका थिए। उनी आठ वर्षको हुँदा उनको बा बिते। त्यसपछि घरको आर्थिक अवस्था नाजुक हुँदै गयो। उनको पढाइमा पनि पूर्णविराम लाग्यो।  घरको कान्छो सन्तान। तर घरको सबै जिम्मेवारी उनले आफ्नो काँधमा लिए।

'त्यो बेलामा यस्तो पसल नै थिएन। गाउँगाउँबाट मान्छेहरू खाना र लत्ताकपडा मात्र किन्न बजार आउँथे। तिब्बतीलाई यस्तो सामान मन पर्थ्यो। उनीहरू किन्न पाटन नै जान्थे,' उनले सुनाउँदै गए, 'पहिला त यस्तो पसल पनि थिएन। हातमा यसो खत्रा-खुत्री सामान बोक्थेँ अनि भीडभाड हुने ठाउँमा बस्दा मान्छेहरू किन्न आउँथे। त्यसरी बेच्नेमा कृष्ण कामी भन्ने एकजना थिए। हामीले देखे अनुसार उसले नै हो पहिलो पटक भुइँमा पसल राखेको। उनले पछि हनुमानढोका भित्रै पनि पसल खोले।'

कृष्णको व्यापार फस्टायो। अनि धेरैले त्यही व्यापार गर्न थाले। उनी पनि २०/२२ वर्षको भइसकेको थिए। पढाइ थिएन। साथीहरूले यही गर्न थालेका थिए। उनीहरूसँग डेढ सय रूपैयाँ सापटी मागेर उनले माने, माला लगायतका सामान बेच्न थाले।

सामान लिन उनी पाटन पुग्थे। पछि उनको व्यापार फराकिलो हुँदै गयो। मेटल, काँच, तामा, पित्तल र तामामा सुनको लेप लगाएको सामान बेच्न थाले। अहिले पनि उनको पसलमा यस्तै सामान छन्। तर, अहिले बजारमा पाटनको हैन भारतको सामानले ओगट्दै गएको उनको अनुभव छ। 

'अहिले त हामीसँगै धेरै पैसा भयो’

तीब्बतीहरुले यस्तो सामान पाटनमै किन्थे। तर सामान देखेपछि आकर्षित भएका पर्यटकहरूले भने वसन्तपुर वरपर किन्न थाले। पहिलाका पर्यटकहरूले हरेक किसिमका सामानहरू किन्थे। तर अहिलेका पर्यटकहरूले सबै सामान किन्दैनन्।

'त्यो बेलामा राजाहरू बाहिर जाँदा नेपाल गरिब छ भनेर यहाँको गरिवी देखाउँथे। त्यसैले सामान मन परेर भन्दा पनि सहयोग हुन्छ भनेर पर्यटकहरूले केही न केही किनेको जस्तो लाग्छ। महँगो पनि थिएन। अनि यहाँ पैसा खर्च गर्ने ठाउँ पनि थिएन' उनले भने।

तर अहिले यस्तो सामान बनाउने पाटनका धेरैको मृत्यु भइसक्यो। कतिले पाटन नै छोडे। आजकल बजारमा धेरैजसो नक्कली सामान मात्र आउने गरेको उनको अनुभव रहेछ।

'महँगी पनि अचाक्ली बढेको छ। पहिला दस रूपियाँ पर्ने मुर्ति अहिले पाँच हजार पुगिसक्यो,' उनले भने।

उनले पर्यटकसँग कारोबार गर्दा डलरको भाउ नेपाली एक रूपैयाँ बराबर १४ रूपैयाँ थियो रे। अहिले त भाउ पनि आकासियो। उनलाई लाग्छ अहिले पर्यटकसँग भन्दा उनीसँगै धेरै पैसा भयो। उनीहरूले एक करोड कमै देख्ने तर हामीले दस करोड देख्ने गरेको भन्दै बढेको डलरको भाउप्रति ब्यंग्य गरे उनले।

सुन सस्तो हुँदा पर्यटकले सकेसम्म सुनकै सामान लाने गरेको उनी सम्झन्छन्। तर, सुन तोलाकै लाख भन्दा बढी भएपछि सुनको ह्याण्डीक्राफ्ट सामान लाने आएनन्। अहिले उनको पसलमा सबैभन्दा महँगो भनेकै एउटा बुद्धको मुर्ति छ। त्यसको मूल्य एक लाख चानचुन राखिएको उनले सुनाए।

'अलि अगाडिसम्म यही सामान बीस/तीस हजारको थियो। तर, महंगी हेर्नु कहाँ पुग्यो' उनले भने। डलरको भाउ बढेकाले सामानको मूल्य धेरै भएको बताउँदै उनले भने' पर्यटकलाई फाइदा नै हुने भए पनि डेढ लाख  सुनेर पर्यटकहरू तर्सिन्छन्।'

बजारमा प्लास्टिक, सेरामिकको सामानको माग बढ्नु र पर्यटक पनि घट्नुले व्यापार डामाडोल भएको उनले अनुभव गरेका छन्।

 'नेपालीले त झन् किन्दै किन्दैनन्। गफ चैं दिन्छन् फेरि' उनले हाँस्दै सुनाए।

जे भए पनि पसल त रहिरहन्छ …

कुनै समय उनले आफ्नो सामान स्विट्जरल्यान्डमा मात्र वार्षिक दस/बाह्र लाखको निर्यात गर्थे। तर, अहिले एकाध अर्डर बाहेक विदेशमा निर्यात ठप्प छ। 

आफ्नो ५० वर्षको व्यापारमा धेरै उतार-चढाव आए पनि यो काम छोडेर अर्को गरौँ भन्ने चैं उनलाई कहिल्यै पनि लागेन।पहिला सामान सस्तो र नाफा पनि टन्नै गर्ने उनी अहिले सामान पनि महँगो अनि नाफा पनि नहुने भएपछि केही निराश पक्कै भएका छन्।

'त्यति मात्र हो र व्यापार राम्रो हुँदा त पर्यटकले यो खोजेको छ, यो मन पर्छ भन्ने ट्वाक्कै अन्दाज लगाउन सक्थेँ। उनीहरूले त्यही मात्र लान्थ्यो पनि। अहिले त केही अन्दाज नै गर्न सकिँदैन। केही पनि मन नपरेको जस्तो गर्छन्' उनले सुनाए।

पर्यटकको संख्यामा कमी आए पछि साथीहरूमाझ नै एक अर्काको पसलमा सामान आपूर्ति गर्ने गरेका छन्।

उनले सामान पुरानो जस्तो देखाउन त्यसमा चाकु, सक्खर र सुर्तीहरूको प्रयोग गर्ने गरेका रहेछन्। उनले आफ्नो पसलमा काम माग्न आउने धेरैलाई काम पनि लगाइदिएका छन्। केही त अमेरिकामा समेत पुगिसके भनेर उनी खुसी हुन्छन्। केही पुरानै ग्राहकहरू निरन्तर आउने हुँदा उनलाई तत्काल त्यति सारो गाह्रो परेको छैन रे।

' सजिलो नै छ। नत्र यो कामको लागि नयाँ आउनेहरूलाई त धेरै गाह्रो छ नि। आफ्नो ग्राहक बनाउनु र उनीहरूलाई टिकाइराख्नु सबै भन्दा गाह्रो काम हो। त्यही भएर त ठमेलका ठूलठूला पसलहरू पनि अहिले बन्द भइसके' उनले भने।

उनको परिवारका सबै सदस्य देश बाहिर बस्छन्। एउटा छोराले भने यही काममा उनलाई सहयोग गर्छन्। त्यही भएर ढुक्क भएर पसल आउने गर्छन्। दिनभर काठमाडौँको भित्री गल्लीमा आफ्नो मन भुलाउन डुल्छन्। अनि साँझ फेरि छोरा सँगै घर फर्किन्छन्।

'अहिलेसम्म पसल आउन सकिरहेछु। पछि म नसक्ने भए पनि छोराले गरि नै रहन्छ। उसले पनि सकेन भने एउटा नातिले त गरि नै हाल्छ। त्यही भएर पसल रहिरहन्छ भन्नेमा त म ढुक्क छु' उनले भने।

२३ पुस, २०८०, १९:४१:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।