चौतर्फी आलोचनापछि दोस्रोपटक त्रिविको उपकुलपतिको लागि दरखास्त आव्हान

चौतर्फी आलोचनापछि दोस्रोपटक त्रिविको उपकुलपतिको लागि दरखास्त आव्हान

काठमाडौं : आफैँले गरेको घोषणाबाट  विमुख भएको भन्दै चौतर्फी आलोचना भएपछि त्रिभुवन विश्वविद्यालयमा रिक्त उपकुलपतिमा नियुक्तिका लागि दोस्रो पटक दरखास्त आह्वान गरिएको छ।

उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दोस्रो पटक दरखास्त आह्वान गरेको हो।

समितिको आइतबार बसेको बैठकले उपकुलपति छनोटसम्बन्धी कार्यविधि परिमार्जन गरेपछि दरखास्त आह्वान गर्ने निर्णय गरेको हो।

समितिले यसअघि पहिलो पटक पुस २० गते सार्वजनिक सूचनामार्फत उपकुलपतिमा नियुक्तिका लागि योग्य व्यक्तिबाट दरखास्त आह्वान गरेको थियो।

उक्त सूचनामा उपकुलपतिका लागि दरखास्त दिने व्यक्तिका लागि विभिन्न छ वटा मापदण्ड तोकिएको थियो। 

ती मापदण्डमध्ये विश्वविद्यालयको पदाधिकारीमा न्यूनतम तीन वर्ष काम गरेको ब्यहोरा खुलाउनुपर्ने विषयसमेत समेटिएपछि प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उक्त व्यवस्था शंसोधन गर्न निर्देशन दिएका थिए।

आफ्नो कार्यकालको एक वर्ष पूरा भएको अवसरमा गत पुस १० गते राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विश्वविद्यालयका उपकुलपति खुला प्रतिस्पर्धाबाट छनोट गर्ने बताएका थिए।

उनको निर्देशनपछि समितिले पुस २० गतेको सूचना रद्द गरिएको सूचना आइतबार नै अर्को बैठक बसेर समितिले दोस्रो पटक दरखास्त आह्वान गरेको हो।

उपकुलपतिका लागि इच्छुक व्यक्तिले ‘त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८०’ बमोजिम दरखास्त दिन भनिएको छ। 

२३ पुस, २०८०, ०८:१५:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।