नागरिक उन्मुक्ति पार्टीको महाधिवेशन प्रधानमन्त्रीले उद्घाटन गर्ने, एक लाख बढीको सहभागिता हुने दाबी

नागरिक उन्मुक्ति पार्टीको महाधिवेशन प्रधानमन्त्रीले उद्घाटन गर्ने, एक लाख बढीको सहभागिता हुने दाबी
फाइल फोटो

काठमाडौं : नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशमलाल चौधरीले पार्टीको प्रथम महाधिवेशन ऐतिहासिक हुने दाबी गरेका छन्।

आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै संरक्षक चौधरीले महाधिवेशन आगामी पुस २६ २७ र २८ गते हुने बताए।

‘देश भरिबाट ८ हजार महाधिवेशन प्रतिनिधि ल्याउने तयारी गरेका छौँ। ५२ जिल्लामा जिल्ला कार्यसमिति गठन भएको छ। नागरिक उन्मुक्ति पार्टी प्रति निकै उत्साह छ’ चौधरीले भने, ‘हामी पहिलो महाधिवेशनलाई ऐतिहासिक बनाउँदै छौँ।’

महाधिवेशनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने तयारी भइरहेको उनले बताए।

‘प्रधानमन्त्रीले उद्घाटन गर्नु हुन्छ। माधव, बाबुराम, डा. सिके रावत, उपेन्द्र यादव सबैलाई भेटेरै निम्तो दिएका छौँ, उहाँहरू पनि आउँछु हुन्छ’ उनले भने, ‘केपी ओली मिति हेरेर खबर गर्छु भन्नु भएको छ। शेरबहादुर देउवाले मुख्यमन्त्री सहित संघको मन्त्रीलाई पनि आफ्नो शुभकामना सन्देश पठाउँछु भन्नु भएको छ।’

उनले भारतबाट भाजपाका प्रतिनिधिहरू पनि महाधिवेशनमा आउने बताए। थाइल्याण्ड केन्याबाट पनि प्रतिनिधिहरू आउने उनले बताए।

उनका अनुसार भारतको झारखण्डबाट टिकापुरमा कलाकारहरू आउने छन्। उनका अनुसार एक लाख भन्दा धेरै नेता कार्यकर्ता नागरिक उन्मुक्ति पार्टीको उद्घाटन सभामा उपस्थित हुने छन्।

‘उक्त महाधिवेशनबाट ३९ पदाधिकारी सहित ५०१ सदस्य निर्वाचित हुने छन् जहाँ २४६ जना प्रत्यक्ष निर्वाचित र २५५ जनालाई मनोनीत गर्ने गरि महाधिवेशन गर्न लागेका छौँ’, उनले भने।

अहिले नागरिक उन्मुक्तिका प्रदेशमा तीन जना र संघमा एक जना मन्त्री छन्। उनले ती मन्त्रीहरूले पनि देखिने गरि काम गर्न आवश्यक रहेको बताए।

१८ पुस, २०८०, १७:२२:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।