सन्दीप लामिछाने विरूद्वको मुद्दामा आज पनि बहस सकिएन, भोलि फैसला हुने सम्भावना

सन्दीप लामिछाने विरूद्वको मुद्दामा आज पनि बहस सकिएन, भोलि फैसला हुने सम्भावना

काठमाडौं : पटक-पटक पेशी स्थगित हुँदै आइरहेको क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा आज पनि हेर्दाहेर्दैमा राखिएको छ।

बहस नसकिएपछि मुद्दा भोलि शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए।

यो सँगै शुक्रबार बहस सकिने र फैसला आउने सम्भावना देखिएको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासमा गत आइतबारदेखि अन्तिम सुनुवाइ सुरू भएको हो।

बिहीबार प्रतिवादी सन्दीपका तर्फबाट ३ जना वरिष्ठ अधिवक्तासहित ६ जनाले प्रतिरक्षा बहस सकाएका छन्।

वरिष्ठ अधिवक्तात्रय शम्भु थापा, रमणकुमार श्रेष्ठ र सविता भण्डारीसहित ६ जनाले बहस गरेका अदालतका सूचना अधिकारी पन्थीले बताए। ​उनका अनुसार सन्दीपतर्फकै कानुन व्यवसायी ५ जनाले बहस गर्न बाँकी छ।

शुक्रबार उनीहरूको बहसपछि जवाफी बहस सकाएर मुद्दाको फैसला आउने सम्भावना रहेको पन्थीले बताए।

बहस केही लम्बिएको खण्डमा आगामी आइतबारसम्म फैसला सुनाउने तयारी इजलासको छ।

क्रिकेटर लामिछानेमाथि नाबालिका बलात्कारको आरोप छ। उनलाई काठमाडौं जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो।

पछि सर्वोच्च अदालतले विदेशका प्रतियोगिता खेल्न जान पाउने आदेश दिएको थियो।

सन्दीप विरूद्वको मुद्दामा अन्तिम बहस सुरू हुने भनेर पेसी चढेको १० महिना भइसकेको छ। तर मुद्दाको किनारा लाग्न भने सकेको छैन।

१२ पुस, २०८०, १७:३७:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।