आफूमाथि खोयाले हानिएपछी रवि लामिछानेले भने- आजको दिन मेरो लागि स्मरणीय रहनेछ

आफूमाथि खोयाले हानिएपछी रवि लामिछानेले भने- आजको दिन मेरो लागि स्मरणीय रहनेछ

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूमाथि प्रहार भएको मकैको खोया देखाउँदै हरेक प्रकारका प्रहारको सामना गर्न तयार रहेको बताएका छन्।

पोखराको अमरसिंह चोकमा आज आयोजित कार्यक्रममा भाषण गर्दैगर्दा लामिछानेमाथि भीडबाट मकैको खोया प्रहार भएको थियो।

‘यो देशमा प्रश्न कसलाई गर्नुपर्ने हो। यस्ता घोगाहरू कसलाई फाल्नुपर्ने हो मलाई थाहा छैन। कयौं घेराबन्दी, कयौं मुद्दा मामिला, कयौं आक्रमण, कयौं धाक धम्कीबाट नडराइकन म यो बाटो हिँडेको मान्छे हुँ।’ उनले भने, ‘आफ्नै मिहिनेत र परिश्रम, कसैको केही नखाई, सम्मानित जीवन बाँच्ने सुविधालाई एकातिर पन्छाएर खुला किताब भएर आएको हुँ। अरूको हकमा भए एउटा पीरले मान्छेलाई थला पार्छ। मैले एकपछि अर्को पीर, दुःख घेराबन्दी र षडयन्त्र सामना गर्नुपरेको छ। अब त नयाँ प्रहारहरू पनि सुरु भएको रहेछ। सुनाइदिनु होला यो खबर रवि लामिछाने हरेक प्रहारसँग जुध्न तयार छ। कुनै चिजबाट डराएर पछि हट्न आएको होइन।’

उनले खोया प्रहार गर्नेलाई आफूले फूल दिने बताउँदै उनले भने, ‘खोया प्रहारको बदलामा फूल छाडेर जाँदैछु। आजको दिन मेरो लागि स्मरणीय रहनेछ।’

जसले खटाएर जे सोचेर प्रहार भएको हो। मनबाट गल्ती भएछ भन्ने स्वयंलाई मेरो कामबाट महसुस गराउने गरी फेरि यही चोकमा आएर यसबारे कुराकानी गर्नेछु।’ लामिछानेले भने।

उनले भने, ‘तपाईंहरूले खाइ नखाइ सहकारीमा जम्मा गरेको पैसा फिर्ता नभएसम्म जुन ठाउँमा जान परे पनि म अग्रभागमा उभिन्छु।’

७ पुस, २०८०, १८:०१:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।