नेपाली कलाकारको बलिउड डेब्यु : खसीको टाउको देखाएर बाख्राको मासु बेच्ने फन्डा

नेपाली कलाकारको बलिउड डेब्यु : खसीको टाउको देखाएर बाख्राको मासु बेच्ने फन्डा

काठमाडौँ : फलानो नेपाली कलाकार बलिउडको फिल्ममा अभिनय गर्दै भन्ने हेडलाइन पछिल्लो समय खूब बढेका छन्। केही कलाकार उतै भारतमै बसेर सङ्घर्ष गरिरहेका छन्।

नेपालमा चल्तीका कलाकार भए पनि भारतमा गैर नेपाली भाषीमाझ सामान्य कलाकारको छवि समेत बनाउन नसकेका नेपाली कलाकारहरू भने यतै बसेर बलिउडमा डेब्युको गफ दिइरहेका छन्।

यस्तो हल्लामा अभिनेता प्रदीप खड्का अलि अगाडि नै देखिएका छन्। भारतीय फिल्म बजारमा नेपाली फिल्मको बजार ध्वस्त बनाउन महत्त्वपूर्ण भूमिका निभाएको प्रेम गीत-3 लाई लिएर भारतमा प्रदीपको डिमान्ड बढेको हल्लाहरू खुल चल्यो।

केही भारतीय कलाकारहरूसँग सेलिब्रिटी पार्टीहरूमा यसो कुनामा उनको तस्विर नआएको भने हैन। बलिउड भारतीय कलाकारकै लागि कति गाह्रो छ त्यो बब देवलले कम ब्याकका लागि गरेको सङ्घर्षले नै पुष्टि गर्यो। तर नेपाली कलाकारको दाबी पत्याउने हो भने' बलिउड डेब्यु नेपाली फिल्मको डेब्यु भन्दा पनि सजिलो जस्तै देखिन्छ।'

बलिउडको गफै चर्को

सुनिल थापा, भोलाराज सापकोटा लगायतका केही कलाकार बलिउडको ए ग्रेडको फिल्ममा नदेखिएको हैन तर उनीहरूले निरन्तरता दिन सकेनन्। बलिउडमा गजबले जमेको नेपाली कलाकार मनीषा कोइराला हुन्। अन्य कलाकारले प्रयास गरे। केही महत्पूर्णसँगै पासिङ रोलमा देखिए पनि। तर बलिउडमा आफ्नो अभिनय यात्रालाई निरन्तरता दिन सकेनन्।

'मेरीकोम' पछि सुनील थापाले केही दक्षिण भारतीय फिल्ममा अभिनय गर्ने मौका पाए पनि त्यही फिल्मको क्रेज कायम गर्न सकेनन्। भोलाराज सापकोटाको बलिउड यात्रा बर्फीबाट सुरु भयो, अनि बर्फीबाट अन्त्य भयो।

१९९७ की मिस नेपाल वर्ल्ड झरना बज्राचार्यले सोनु निगमसँग 'लभ इन नेपाल'मा अभिनय गरिन्। यो नै उनको बलिउडको पहिलो र अन्तिम फिल्म समान बन्यो। उनी अहिले नेपाली कला क्षेत्रमा समेत सक्रिय छैनन्।

उषा पौडेलले केही सिरियलमा अभिनय गर्न मौका त पाइन्। तर त्यसैको भरमा ठूलो पर्दामा फड्को मार्न सकिनन्।

निखिल उप्रेतीको बलिउड यात्रा तिलस्मी कथा समान भयो। बरु बिराज भट्टले भारतको भोजपुरी फिल्म क्षेत्रमा केही वर्ष राज गर्न सफल भए। उनको समय सकियो अनि नेपाल फर्किए। पछिल्लो समय प्रदीप खड्काले बलिउड फिल्ममा अभिनय गर्ने चर्चा भइरहेका छन्।

खड्काले अभिनय गर्ने फिल्म ‘ऐरी’लाई बलिउड फिल्म भनेर ठुलै हल्ला भइरहेको छ। फिल्ममा सुभाष काले, प्रशान्त कुमार गुप्ता र राजन कुँवरको लगानी छ। फिल्मका कार्यकारी निर्माता कमल बहादुर आले हुन्। फिल्म जीवन थापाले निर्देशन गर्दैछन्। निर्माण टिमले नै यो कुन तहको बलिउड फिल्म भन्ने देखाउँछ नै। तर हल्ला राजकुमार हिरानीले निर्देशन गर्ने फिल्मभन्दा पनि चर्को छ।

यो फिल्ममा निर्मातामध्येका एक सुभाष कालेले यस अघि हिन्दीमा डब गरिएको झुर फिल्म ‘प्रेमगीत ३ को भारतमा वितरणको जिम्मा पाएका थिए।

यता अभिनेत्री आँचल शर्मासहितको अभिनय रहेको ‘हिट म्यान’ लाई पनि बलिउड मुभी भनेर प्रचार भइरहेको छ।

यसका निर्देशक तथा अभिनेता विष्णु अधिकारीले केही भारतीय कलाकारहरू राखेर नेपालकै काठमाडौँ,पोखरा लगायतका स्थानमा फिल्म सुटिङ गरेका थिए।

यता निता ढुङ्गानाले भोजपुरी फिल्म ‘माही’ मा अभिनय गरिन्। चन्द्र वन्तको निर्देशनमा बनेको फिल्म पनि उस्तै भयो। भोजपुरी फिल्ममा काम गरेकी निताले श्रीमान् हरिहर अधिकारीसँग मिलेर हिन्दी नेपाली कलाकार राखेर नेपालमै बलिउड बराबरको फिल्म बनाउने भन्दै ‘ह्रस्व दीर्घ’ को निर्माण सुरु गरेका थिए।

दक्षिण भारतीय कलाकारहरू अनुबन्ध गरिएको फिल्मको केही दृश्य छायाङ्कन पछि निर्माण नै रोकियो।

 

घोषणा गरिएका नेपालका हिन्दी

फिल्म,जो बन्दै बनेनन्

नौ वर्ष अघि निर्देशक शोभित बस्नेतलाई लिएर एक भारतीय निर्माताले हिन्दी फिल्म ‘मै हुँ नही’ को घोषणा गरेका थिए। एभरेस्ट होटेलमा तामझामका साथ घोषणा गरिएको फिल्मको निर्माता लियाकद अली खान देखिएका थिए। त्यो कार्यक्रमपछि फिल्म हरायो।

सोही समयमा कमलकृष्ण भन्ने व्यक्तिले हिन्दी फिल्म ‘तेरे ईश्क मे’को काठमाडौँमा नै घोषणा गरेका थिए।  फिल्मलाई इदरिस खान र अजर खानले निर्माण गर्ने र फिल्मको बजेट १० करोड भएको दाबी गरियो। फिल्म बनेको छैन।

भारतमा नेपाली फिल्मको बजार भव्य भएको भ्रममा नेपाली कलाकार तथा निर्माताले नेपाली फिल्मलाई हिन्दीमा डब गराएर भारतमा चलाउने प्रयास नगरेका हैनन्। तर चल्न सकेन।

 

प्रयास अझै जारी छ

मनीषापछि वाह भन्नेगरि नेपाली कलाकार बलिउड फिल्म नगरीमा जम्न सकेका छैनन्। तर प्रयास जारी छ।

मोडलिङ हुँदै अदिति बुढाथोकी केही म्युजिक भिडियो अनि सिरिजमा देखिएकी छिन्। तर करिअरको यात्रा सङ्घर्षबाट अगाडि बढ्न सकेको छैन।

नेपाली फिल्म क्षेत्रमा जम्न नसकेपछि अहिले आशिरमान देशराज जोशी बलिउडमा डेब्युको सपना बोकेर मुम्बइमा संघर्षरत छन्।

नेपाली फिल्म नगरीमा जन्मन नसकेपछि अहिले पारामिता आरएल राणा पनि मुम्बईतिरै छिन् बलिउड अनि साउथ फिल्ममा डेब्युको आस सहित।

यी नेपालमै परीक्षण भइसकेका कलाकार भएकाले चमत्कार नभए उनीहरूको बलिउड यात्रा सफल हुने सम्भावना बलियो भने देखिन्न।

बलिउड डेब्यु गफ मात्रै

सामीप्यराज तिमल्सिना नेपाली कलाकारले हिन्दी फिल्म खेल्दैछन् भन्ने दाबी 'खसीको टाउको देखाएर बाख्राको मासु बेच्न' गरिएको चलाखी समान भएको दाबी गर्छन्।

‘ग्ल्यामर बिजनेसमा खसीको टाउको देखाएर बाख्राको मासु बेचे जस्तै हो यो' उनले भने।

नेपाली निर्माता निर्देशक र कलाकारले हिन्दी फिल्म बनाउने वा खेल्ने भन्नु नै त्यो फिल्म गतिलो छैन भन्ने सन्देश समान भएको उनले बताए।

‘म हिन्दी फिल्म बनाउदैछु,के गर्दैछु भनेर गफ गर्नु भनेको त्यो गतिलो छैन है भने जस्तै हो,' नेपाली फिल्म मेकरमा हिन्दी भाषामा फिल्म बनायौँ भने हामी खत्रै फिल्म मेकर भयौ भन्ने भ्रम छ।’

गत वर्ष फिल्म ‘प्रेम गीत ३’पछि हिन्दी भाषामा फिल्म डबिङ गरेर आफ्नो फिल्मलाई हिन्दी फिल्म नै भन्नेहरू धेरै आए। त्यसपछि फिल्म ‘परस्त्री’,‘ह्यारी की प्यारी’ लगायत फिल्म नेपाली बाहेक हिन्दीमा पनि डब भए। हलमा पनि लागे तर दर्शकलाई नेपाली भाषाको फिल्म बाहेक मतलबै भएन।

तिमल्सिना नेपाली फिल्मलाई हिन्दीमा डब गरेर हिन्दी फिल्म भनेर झुक्काउन खोज्दा बन्न सक्ने बजार पनि बिग्रिएको बताउँछन्।

‘हिन्दी भाषामा फिल्म डब गरेर उतै चलाउँछु भन्ने रोग पुरानै हो,नयाँ भने होइन’ उनले भने' हिन्दी भाषामा डब भएका फिल्मलाई मिडियाले बढाई चढाई गरेर बलिउड फिल्म भन्दिने गरेका छन्।  मिडियाले कलाकारको व्यर्थ हाइहाइ गरेका छन्। कलाकार त्यसैमा मक्ख छन्।'

६ पुस, २०८०, १७:२०:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।