बसपार्कका होटलहरूमा बालिकाहरूलाई यौनजन्य कार्यमा लगाएको अभियोगमा एक जना पक्राउ

बसपार्कका होटलहरूमा बालिकाहरूलाई यौनजन्य कार्यमा लगाएको अभियोगमा एक जना पक्राउ

काठमाडौं : ग्राहकको रोजाइ अनुसार बालिकाहरू उपलब्ध गराई यौनजन्य कार्यमा लगाउने गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा टोखा नगरपालिका-९ नयाँबसपार्क बस्ने  नुवाकोट तादी गाउँपालिका-६ घर भएका २४ वर्षीय सुमन तामाङ रहेका छन्। उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो।

नयाँ बसपार्कमा रहेका विभिन्न होटल तथा गेष्ट हाउसहरूमा बालिकाहरूलाई विभिन्न प्रलोभनमा पारी वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेको सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट प्रहरी टोली खटिएको थियो।

टोलीले वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाइएका ४ जना बालिकाहरूलाई उद्धार गरी उक्त कार्यमा संलग्न सुमनलाई पक्राउ गरेको हो।

सुमनले आर्थिक अवस्था कमजोर भएका बालिकाहरूलाई फकाएर होटल/गेष्ट हाउसहरूमा वेटर तथा सरसफाईको काममा लगाइदिने भन्दै बेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेको प्रहरीले जनाएको छ।

पीडित बालिकाहरूलाई विगत पाँच महिनादेखि होटल/गेष्ट हाउसहरूबाट बाहिर समेत निस्कन नदिई जबरजस्ती शारीरिक सम्पर्क राख्न बाध्य पार्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ।

प्रहरीले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान कार्य गरिरहेको छ।

६ पुस, २०८०, १२:२८:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।