आजीवन काराबासको सजाय पाएका सिमोन्स ४८ वर्षपछि निर्दोष ठहरिएपछि...

आजीवन काराबासको सजाय पाएका सिमोन्स ४८ वर्षपछि निर्दोष ठहरिएपछि...

एजेन्सी : अमेरिकाको ओक्लाहोमा राज्यका एक न्यायाधीशले ४८ वर्षदेखि कैद भुक्तान गरिरहेका व्यक्तिलाई निर्दोष ठहर गरेका छन्।

यो सँगै ग्लिन सिमोन्स, अमेरिकी इतिहासमा सबैभन्दा लामो समय गलत सजाय काट्ने नागरिक भएका छन्। उनले ४८ वर्ष १ महिना १८ दिन जेलमा बिताए।

जेल पर्दा २२ वर्षका सिमोन्स अहिले ७० वर्षका भइसकेका छन्। मंगलबार काउन्टी जिल्ला न्यायाधीश एमी पालुम्बोले सिमोन्सलाई निर्दोष ठहर गरेका हुन्।

पालुम्बोले आफ्नो फैसलामा भनेका छन्, ‘स्पष्ट र विश्वसनीय प्रमाणको आधारमा ग्लिन सिमोन्सलाई जुन अपराधको लागि दोषी ठहर गरेर जेलमा राखियो, त्यो अपराध सिमोन्सले गरेकै थिएनन्।’

ग्लिन सिमोन्सलाई उद्धृत गर्दै समाचार एजेन्सी एशोसियट प्रेसले लेखेको छ, ‘यो धैर्य र सहासको उदाहरण हो। कुनै पनि कुरा हुन सक्दैन भनेर कसैलाई नभन्नुस् किनकी त्यो हुन पनि सक्दो रहेछ।’

क्यारोलिन सु रोजर्स नामक एक महिलाको हत्या अभियोगमा सिमोन्स दोषी ठहर्याइएको थियो। ओक्लाहोमा शहरको एक मदिरा पसलमा डकैतीको दौरान क्यारोलिनको हत्या भएको थियो।

क्यारोलिनाको हत्या अभियोग लागेका अर्का अभियुक्त डन रोबर्टलाई भने त्यहाँको अदालतले १९७५ मा मृत्युदण्ड दिएको थियो। तर, पछि सर्वोच्च अदालतले मृत्युदण्डलाई आजीवन काराबासमा बदलेको थियो।

घटनाको समयमा आफू गृह राज्य लुइजियाना गएको सिमोन्सले अझै दाबी गरिरहेका छन्। सरकारी वकिलले प्रतिरक्षामा सबै प्रमाण बुझाउन नसकेपछि अदालतले उनलाई निर्दोष ठहर गरेको बीबीसीले लेखेको छ।

५ पुस, २०८०, १४:२५:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।