प्रधानमन्त्रीसँग बालेनको गुनासो- संघीय सरकारका कारण फोहोर व्यवस्थापनमा समस्या भयो

प्रधानमन्त्रीसँग बालेनको गुनासो- संघीय सरकारका कारण फोहोर व्यवस्थापनमा समस्या भयो

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले संघीय सरकारका कारण फोहोर व्यवस्थापनमा समस्या भइरहेकाले बताएका छन्।

सोमबार ललितपुर महानगरपालिकाको १०५ औं स्थापना दिवसको अवसरमा महानगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले फोहोर व्यवस्थापनको दीर्घकालीन समस्या समाधानका लागि कानूनको बाधा अड्चन फुकाइदिन प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष आग्रह गरेका हुन्।

काठमाडौंको खोला अतिक्रमणमा सरकारले आवश्यक पहल गर्न आग्रह गर्दै उनले उपत्यकाको विकास एकैपटक गर्नका लागि संघीय र स्थानीय कानून बाझिएका कारण असहज भएको बताए।

उनले भने, ‘काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिका दुई वटा एक आपसमा परस्पर सम्बन्ध भएका महानगरपालिका हुन्। काठमाडौं एक्लै बनेर पनि उपत्यका राम्रो देखिँदैन, ललितपुर एक्लै बनेर पनि उपत्यका राम्रो देखिँदैन। काठमाडौं उपत्यका बाहिरका मानिसहरूलाई काठमाडौं उपत्यका एउटै हो जस्तो लाग्छ। ललितपुर आएपनि काठमाडौं जस्तो लाग्छ, काठमाडौं गएपनि ललितपुर जस्तो लाग्छ। त्यसैले सम्पूर्ण उपत्यकाको विकास एकैपटक हुनुपर्छ।’

उनले काठमाडौं महानगरलाई उज्यालो बनाउन खोज्दा प्रदेश सरकारले मुद्दा हालेको भन्दै असन्तुष्टि व्यक्त गरे।

उनले तीन तहकै सरकारले आवश्यक छलफल र समन्वय गरी अघि बढ्ने हो भने उपत्यकाको विकास चाँडो हुने बताए।

२ पुस, २०८०, १२:४७:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।