दुई कदम : दर्शक त हलमै निदाए, तर फिल्मको व्यापार देखेर निर्मात्रीलाई कसरी निन्द्रा पर्ला !

दुई कदम : दर्शक त हलमै निदाए, तर फिल्मको व्यापार देखेर निर्मात्रीलाई कसरी निन्द्रा पर्ला !

नेपाली चलचित्र नगरीमा निर्देशक उदय सुब्बा ५१ दिन फिल्म चलाउने मेसिन बराबर थिए। उनले निर्देशन गरेका दर्जनौँ फिल्मलाई दर्शकले माया गरे। ५१ दिन मनाउने फिल्मको सङ्ख्या राम्रै छ।

धेरै सफल फिल्मको स्वादले सायद उनको मुख तितो भयो कि क्या हो स्वाद बदल्न झुर फिल्म बनाउनतिर लागेछन्। झुर फिल्मको स्वाद कस्तो हुन्छ भनेर परीक्षण गर्न उनले निर्देशन गरेको फिल्म बन्यो ‘दुई कदम’।

समयसँगै दर्शक बदलिइसके। समाजको कथा बदलिइसक्यो। बिचरा निर्देशक सुब्बा भने जहाँको त्यहीँ रहेछन्। अब समयसँगै नबदलिएर कसैले डाइनोसर हुन्छु भन्यो भने शुभकामना बाहेक के नै भन्न सकिन्छ र।

पछिल्लो समय फिल्म चल्ने अनेक अनेक सूत्रहरू बताउन थालेका छन् कलाकार अनि निर्देशकहरुले। अभिनेत्री पूजा शर्माका अनुसार कथा भए फिल्म चल्छ रे। फिल्म दुई कदममा कथा छ।

निर्माता तथा फिल्म लेखक मौनता श्रेष्ठले उकेरासँगको कुराकानीमा परिचित कलाकार भयो भने फिल्म चल्ने रहेछ नि भन्ने अर्को नयाँ ज्ञान बाँडेका थिए। यो फिल्ममा परिचित कलाकार पनि छन्। तै पनि किन फिल्म चलेन?

कथा होस् या कलाकार त्यसलाई कसरी प्रस्तुत गर्ने मुख्य मियो भनेको निर्देशक हो। निर्देशक चुक्यो भने न कथा अनुसारको फिल्म बन्छन् न अभिनयमा बबाल गर्ने कलाकारले नै गतिलो अभिनय गर्न सक्छन्।

निर्देशक सुब्बा यो फिल्ममा कथाको प्रस्तुति र पात्र चयनमा नराम्रोसँग चुकेको देखियो। त्यसैले त शुक्रवार रिलिज भएको फिल्म ‘दुई कदम’ आर्थिक रूपमा एक कदम पनि अगाडि बढ्न सकेन।

‘दुई कदम’ हेर्ने दर्शकलाई माया लाग्छ तर कलाकार र निर्देशकको हैन, नेपाली फिल्म नगरीको। यति झुर फिल्मले कसरी धान्ला नेपाली फिल्म उद्योग? कसरी प्रतिस्पर्धा गर्ला बलिउड अनि साउथका फिल्मसँग?

अभिनेता इओन लिम्बु, अभिनेत्री सिमोन गिरी, सुनील थापा अनि निर्देशक उदय सुब्बासँग लाजको तत्त्व जीवित छ भने यो फिल्म राम्रो छ पक्कै भन्न सक्दैनन् अब। लाजै हराएको छ भने त के ठेगान!

१ घण्टा ३७ मिनेट हलमा टिकेर फिल्म सक्काउन दर्शकलाई हम्मेहम्मे हुने पक्का छ। दर्शक निधाइरहेका देखिन्थे हलमा। दर्शक त हलमा निदाए, फिल्मको व्यापार देखेर लगानीकर्ता तारादेवी लिम्बूलाई कसरी निन्द्रा पर्ला !

कलाकार हेर्ने हो भने सुनील थापा पनि छन् जो मेरीकोमको अभिनयबाट बलिउडमा वाह भनिएका थिए।

गौरव पहारी,बुद्धि तामाङ (हैट) पनि छन्। गीतमा विल्सन विक्रम राई, वर्षा सिवाकोटी पनि घुसाइएकै छ। गीत राम्रो पनि छ तर फिल्मै यति झुर भए पछि युट्युबमै भएको गीत हेर्न दर्शक टिकट काटेर हलमा आउँछन् र!

घुमघाममा भेटिने पात्र, उनीहरूबीचको सम्बन्ध र त्यसले निम्त्याउने द्वन्द्व त्यसैको वरपर घुमेको छ फिल्म। फिल्ममा लिम्बू समुदायको रहन सहनलाई प्राथमिकता दिएर देखाइएको छ। धनकुटाको वसन्तपुरको दृश्य आकर्षक देखिएको छ।

फिल्ममा समावेश ‘ए बाबै नि’ बोलको गीतको छायाङ्कन राम्रो बनेको छ। यो गीतमा अभिनेत्री वर्षा सिवाकोटी र इओन लिम्बूले नाचेका छन्। मुस्ताङका खिचिएको ‘बिस्तारै बिस्तारै’ बोलको गीतमा इओन र सिमानको अभिनय राम्रो छ। कोरियोग्राफी र ड्रेसको छनौट मिलेको छ।

अर्को गीत ‘काग भन्दा कोइली चलाख’ पनि सुन्दर रूपमा खिचिएको छ। गीत खिच्न गरिएको मिहेनत फिल्म खिच्न लगाएको देखिन्न। नत्र फिल्म यति कमजोर पक्कै हुने थिएन। फिल्ममा गतिलो अभिनय सुवाङ्गेको घरमा सुसारे बसेकी विमला राईको मात्र देखिन्छ।

फिल्मको सुरुवातको दृश्य नै फोकस आउट छन्। संवाद उस्तै कमजोर। फिल्मको ब्याकग्राउण्ड म्युजिक पनि कमजोर सुनिन्छ। फिल्मको निर्देशकीय पक्षको कमजोरी हेर्दा यो सुब्बाले निर्देशन गरेको फिल्म हो त भनेर शङ्का लाग्छ।

बाटोका लामा दृष्यले फिल्म हेर्दा अल्छी लाग्ने बनाएको छ। फिल्ममा आकाश(इओन लिम्बु) र रियाना (सिमोन गिरी)को कसरी मुख्य कलाकार छानिए छक्क पार्छन्। उनीहरूले पारिश्रमिक लिएर फिल्ममा अनुबन्ध भएका हुन् भन्नेमा शङ्का उब्जाउँछ।

सुनील थापा,बुद्धि तामाङ (हैट),गौरव पहारी,सुरवीर पण्डितको अभिनय कला फिल्ममा उतार्न सकेका छैनन् निर्देशकले।

फिल्ममा नयाँ कलाकार लिनै हुन्न भन्ने हैन। नत्र कलाकार कसरी पुरानो हुने! तर नयाँ कलाकार भन्दैमा अभिनयको अ पनि नआउनेलाई लिएर फिल्म बनाउँदा घाटा निर्माताले मात्रै हैन दर्शक विच्कदा फिल्म क्षेत्रले नै क्षति ब्यहोर्छ।

सुवाङ्गे सुब्बाको दरबार भित्रको दृश्य सामान्य गेस्ट हाउसमा खिचिएको प्रस्टै देखिन्छ। घुमन्तेको प्रेमकथामा फिल्म बनाउँदा बाटोको लामो-लामो हेर्दै झ्याउ लाग्ने दृश्य आवश्यक हुन्छ र!

चरित्र स्थापित नगरी निर्माण गरिने पात्रहरूले फिल्मलाई सुन्दर बनाउँदैनन्। यसमा सबैभन्दा ठुलो समस्या यही देखियो।

समग्रमा नेपाली फिल्मप्रति अलिअलि माया पलाइराखेको छ भने यो फिल्म नहेर्दा नै राम्रो। नत्र त्यो उम्रिरहेको माया पनि मर्छ।

१ पुस, २०८०, १९:४०:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।