एक्सक्लुसिभ : भारतको जेलबाट भागेका ‘अपराधी’ लाई क्यानडा भगाउन १५ लाखमा बिक्यो नेपालको गृह प्रशासन

एक्सक्लुसिभ : भारतको जेलबाट भागेका ‘अपराधी’ लाई क्यानडा भगाउन १५ लाखमा बिक्यो नेपालको गृह प्रशासन

काठमाडौँ : क्यानडा निवासी जगमनदिप सिंह भारतीय जेलबाट फरार भएर नेपाल आइ सहजै पुन क्यानडा फर्किएको खुलेको छ। उपचारकोक्रममा अस्पतालबाट भागेर नेपाल छिरेका उनलाई नेपालको गृह प्रशासनका अधिकारीहरूले १५ लाख घुस खाएर उनी भारतको जेलमा भएको मितिको भिसा जारी गरेर उनलाई क्यानडा भाग्न सघाएका हुन्।

उकेराले प्राप्त गरेको प्रमाणमा अध्यागमन विभागले उनलाई दुई पटक टुरिस्ट भिसा जारी गरेको देखिन्छ। जुन मितिमा सिंहले नेपालमा भिसा पाएको देखिन्छ त्यो बेलामा उनी भने पन्जाबको जेलमा थिए।

क्यानडाबाट भारतको अमृतसर आएका उनी विमानस्थलबाटै २०२१ मार्च ११ मा पक्राउ परेका थिए। उनी विरुद्ध भारतमा वैदेशिक रोजगारको आवरणमा ठगी गरेको उजुरी थियो। त्यही उजुरीको आधारमा उनी पक्राउ परे।  

उनी कारागार चलान भए। पन्जाबको फरिदाकोट जेलमा रहेको बेलामा स्वास्थ्य अवस्था बिग्रिएपछि उपचारका लागि २०२१ डिसेम्बर २३ मा गुरु गोविन्द सिंह मेडिकल कलेजमा भर्ना गरिएको थियो। उनी अस्पतालबाट २०२२ फेब्रुअरी २ मा बिहानै भागेका थिए।

सिंहलाई नेपालले दिएको भिसाको मिति अनुसार २०१९ अप्रिल १९ मा उनी नेपाल आइसकेका थिए। पहिलो पटक उनको नाममा १२२००६१२१५ नम्बरको पर्यटन भिसा लाग्यो जसको म्याद १५ दिनको थियो। यो बेलामा उनी भारतको पन्जाबको जेलमा थिए।

१५ दिनपछि पुन एक वर्षको भिसा लाग्यो। यी दुवै भिसा जारी भएको मिति भने २०२२ मार्च २९ रहेको छ। सिंहको दाबी अनुसार नेपाली भिसा पाउन उनले १५ लाख रूपैयाँ घुस खुवाएका थिए। घुस कसले लियो उनले खुलाएका छैनन्। भारतीय च्यानल फोपिएमसँगको कुराकानीमा उनले भिसा दिनेहरूलाई सो पैसा दिएको खुलाएका छन्।

भारतको जेलबाट भागेर नेपाल आए पनि सहजै नेपाली भिसा पाएपछि नेपालमा रहेको क्यानेडियन कन्सुलरबाट उनको नाममा २०२२ मार्च ३१ को मितिमा आकस्मिक ट्राभल्स डकुमेन्ट बन्यो। २०२२ अप्रिल ४ मा कतार एयरको क्युआर ६४५ ७६३ बाट नेपालबाट कतारहुँदै क्यानडाको मोन्ट्रियल पुगे। उनी अहिले पनि भारतीय सुरक्षा निकायको सूचीमा फरार अभियुक्त हुन्।

भारतमा उपचारको क्रममा अस्पतालबाट भागेका अभियुक्तले कसरी नेपालबाट सहजै भिसा पाएर क्यानडा फर्किन सफल भए भन्ने पक्षबारे उकेराले गरेको सोधखोजमा उकेराकर्मीले जे जति दस्तावेजहरू पाएको छ ती सबै सक्कली भएको पुष्टि भयो।

भारतको जेलमा रहँदा नै नेपालमा टुरिस्ट भिसा !

उकेराले सिंहले नेपालको भिसा पाएको विवरण अध्यागमन विभागको रेकर्डसँग भिडाएर हेरेको थियो। जसमा सबै पुष्टि भयो। अध्यागमनको रेकर्ड अनुसार उनलाई सन् २०२२ भरी नेपाल प्रवेश गर्न नपाउने सर्तमा नेपालबाट क्यानडा डिपोर्ट गरेको समेत पुष्टि भयो।

अध्यागमनका सूचना अधिकारी प्रेम दाहालका अनुसार सिंहले नेपालको भिसाको लागि आवेदन दिएपछि उनीबारे बुझ्न राष्ट्रिय अनुसन्धान विभागको सूचना तथा समन्वय विश्लेषण महाशाखामा विभागले पत्र पठाएको थियो। २०७८ चैत १४(२०२२ मार्च २८) मा क्यानडाबाट नेपाल आएको र इन्टरपोलको ब्ल्याक लिस्टमा समेत नपरेको भन्दै अनुसन्धान विभागको पत्र आएपछि उनको नाममा भिसा जारी भएको हो।

२०२२ मार्च २२ मा सिंहको श्रीमतीले अध्यागमन विभागमा क्यानडाको कन्सुलर विभागबाट क्यानडा पठाइदिने आग्रहसहित आएपछि उनी भारत आएको मितिको भोलिपल्ट नेपाल आएको मानेर पहिलो भिसा जारी गरेको र क्यानडा पठाउन दोस्रो भिसा जारी भएको रेकर्डमा देखिएको उनले उकेरालाई जानकारी दिए।

अध्यागनस्रोतका अनुसार सिंहले क्यानेडियन कन्सुलर र क्यानडा जाने कतार एयरको टिकट देखाएपछि उनको बयान लिइएको थियो। बयानमा उनले भारतमा आफन्त भेट्न आएको र भारतमा ब्याग हराएकाले नेपाल आएको बयान दिएका थिए।

भारतमा ब्याग हराएको हो भने उसले सजिलै भारतमै आकस्मिक ट्राभल्स डकुमेन्ट बनाउन सक्थे नै। तर उनी अवैध रूपमा नेपाल आएका थिए। ब्याग हराएको हो भने उतै भारतबाट किन क्यानडा जाने प्रयास नगरेको भन्ने पक्ष अध्यागमनले हेरेको देखिएन।

भारतीय च्यानल फोपिएमसँगको अन्तर्वार्तामा उनले अवैध रूपमा नेपाल प्रवेश गरेपछि नेपाली भिसा लगाउन खोज्दा पहिला सात लाख मागेको बताएका छन्।

आफू सात लाख दिन तयार भएपछि गृह प्रशासनले आफ्नो बारेमा भारतमा बुझ्दा जेलबाट भागेको व्यक्ति भएको खुलेपछि पैसा बढाएर १५ लाख पुर्याएको र उनीहरूले मागे अनुसारको पैसा दिएर क्यानडा फर्किएको बताएका छन्।

‘नेपालको भिसा विश्वको देशहरूमध्ये सबैभन्दा महँगो रहेछ,’ उनले हाँस्दै भारतीय च्यानलसँग भनेका छन्’ नेपालमा दुई दिन बस्न मैले १५ लाख तिर्नुपर्यो।‘

उकेराले प्राप्त गरेको प्रमाणहरूले अध्यागमन विभाग, राष्ट्रिय अनुसन्धान विभाग अनि गृह मन्त्रालयको मिलेमतोमा उनीसँग पैसा लिएर क्यानडा भगाएको पुष्टि हुन्छ। यसमा क्यानडामा रहेर वैध गाँजाको कारोबारसँगै हुन्डी र वैदेशिक रोजगार ठगीमा संलग्न व्यक्तिलाई गृह प्रशासनमा रहेका व्यक्तिहरू मिलेर घुसको बलमा क्यानडा भगाएको प्रस्ट देखियो।

अब गृह मन्त्रालयले यस घटनाबारे के गर्छ? उकेराको जिज्ञासामा गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले भने’ यदि कोही कसैले गल्ती काम गरेको रहेछ भने अनुसन्धानको दायरामा आउँछ।‘

भारतमा समेत हङ्गामा

उनले जे जति दाबी गरेका छन् त्यसले भारतमा समेत विवाद भइरहेको छ। भारतमा विवादको कारण नेपाल आएर क्यानडा भागेको प्रकरण भन्दा भारतीय जनता पार्टीका नेताहरूसँग जोडिएको उनको अवैध सम्बन्ध हो।

उनी क्यानडामा वैद्य गाँजाको व्यापारमा सक्रिय भए। यहीबिचमा भारतमा उनीसहित भएको एक भिडियो सार्वजनिक भयो जसमा भारतीय जनता पार्टीका नेता तथा केन्द्रीय कृषीमन्त्री नरेन्द्रसिंह तोमरको छोरा प्रबल तोमरले कसैसँग करोडौं डिल गरिरहेका थिए।

भिडियोमा उनी पनि देखिएपछि भारतीय मिडियाले उनको खोजी सुरु गर्यो। तर उनीबारे पर्याप्त विवरण थिएन। उनले आफ्नै युट्युब च्यानलमा भिडियो बनाएर राख्दै सो भिडियोमा देखिएको आफू भएको र भिडियो खिचिएको स्थान क्यानडामा रहेको आफ्नो घर रहेको खुलाए। अनि भारतीय मिडिया उनीसम्म पुगे।

उनले तोमर परिवारको पोल खोल्दै उनीहरूले हुन्डीमार्फत भारतबाट क्यानडामा पठाएको कालो धन र त्यसको लगानीको फेहरिस्त सार्वजनिक गरे। मलमा हुने खेल खुलाए। अनि आफू उपचारको बहानामा कसरी कारागार बाहिरको अस्पतालमा बसेको, अस्पतालबाट भाग्न कसले सहयोग गरेको, दिल्ली हुँदै गोवासम्ममा कुन कुन नेताले सहयोग गरे अनि कसरी नेपाल आएर क्यानडा फर्कन सकेँ भन्ने खुलाए।

भाजपा नेता तथा मन्त्री नरेन्द्रसिंह तोमर र उनको छोरा प्रबल। रातो घेरामा जेलभित्र रहेका सिंह। तस्विर : क्राइमतक।उनको दाबी अनुसार उनी बिहान अस्पतालबाट भागेपछि पनि ४५ दिन भारतमै रहेको देखिन्छ। पन्जाबबाट दिल्ली पुगेर भाजपा नेता तोमरको सरकारी क्वाटरमा बसेको, उनकै सहयोगमा गोवा र सिक्किम पुगेर श्रीलंकाहुँदै क्यानडा फर्कने प्रयास असफल भएपछि पटनाबाट नेपाल आएको समेत खुलाएका छन्।

गोवामा रहेको क्यानेडियन कन्सुलरकोमा गएर आफ्नो राहदानी फिर्ता माग्दा अदालतको पत्र चाहिने भन्दै भारत बाहिरको देश गएर इमर्जेन्सी ट्राभल्स डकुमेन्ट बनाउन सुझाव दिएको उनले खुलाएका छन्। त्यसका लागि श्रीलङ्का जाने प्रयासमा असफल भएपछि भाजपा नेता तोमरको नेपाली मूलका चालकको सहयोगमा पटनाहुँदै नेपाल छिरेको र नेपालबाट क्यानडा भाग्न समेत भाजपा नेताहरूले नै सघाएको उनले दाबी गरेका छन्।

उनको दाबी अनुसार जब नेपाली गृह मन्त्रालयले उनीबारे भारतसँग बुझेको थियो त्यो बेलामा उनको क्राइम रेकर्ड नेपाल आएको थियो। भाजपाकै नेताले आफूलाई नेपालबाट क्यानडा फर्कन सघाएको दाबी गरेका थिए।

अर्को रोचक के भने उनले आफूमा कोकिनको कुलत रहेको समेत स्विकारेका छन्। भारतमा रहँदा होस् या नेपालमा रहँदा आफूले नियमित कोकिन प्रयोग गर्ने गरेको उनले बताएका छन्।

१ पुस, २०८०, १८:२६:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।