चिकित्सक जसवनमाथि स्वास्थ्य परीक्षणको क्रममा अनुमति नलिई युवतीको संवेदनशील अंग हेरेको आरोप

चिकित्सक जसवनमाथि स्वास्थ्य परीक्षणको क्रममा अनुमति नलिई युवतीको संवेदनशील अंग हेरेको आरोप

काठमाडौं : प्लास्टिक सर्जन डाक्टर जसवन शाक्यमाथि यौन दुर्व्यवहारको गम्भीर आरोप लागेको छ। विदेशबाट नेपाल आएकी एक युवतीले परामर्शकोक्रममा उनले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी हुन्।

शाक्य ग्रान्डी अस्पतालमा समेत काम गर्दै आएका थिए। उनले युवतीमाथि ग्रान्डीमै दुर्व्यवहार गरेको आरोप छ। शाक्यको गतिविधिबारे युवतीले अस्पतालमा निवेदन दिएपछि शाक्य अहिले ग्रान्डीमा छैनन्।

शाक्यविरुद्ध नेपाल मेडिकल काउन्सिलमा समेत उजुरी परेको छ। ती युवतीले कार्तिक १ गते काउन्सिलमा दिएको उजुरी छानबिनकै चरणमा रहेको छ। काउन्सिलका एक सदस्यले शाक्य विरुद्ध उजुरी परेको पुष्टि गरे।

‘शाक्य विरुद्ध उजुरी परेको हो। हामीले उहाँमाथि छानबिन गरिरहेका छौँ,ती सदस्यले भने, ‘निवेदनको प्रकृति र उहाँको स्पष्टीकरण हेरेर काउन्सिलले के गर्ने निर्णय गर्छ।’

सर्जरी परामर्शकोक्रममा यौन दुर्व्यवहार भएको पीडितको दाबी

उकेराको सम्पर्कमा आएकी ती युवतीका अनुसार उनी असोज तीन गते ग्राण्डी अस्पतालमा सर्जरीको परामर्श लिन र स्वस्थ परीक्षण गराउन गएकी थिइन्। परीक्षण कक्षमा पुगेकी युवतीको अनुमति नै नलिई उनले उनको गोप्य अंग हेरेका थिए।

उनी थाइको बोसो घटाउन परामर्शका लागि अस्पताल गएकी थिइन्। तर शाक्यले उनीसँग सोध्दै नसोधी पेन्टी खोल्दै गोप्य अंग हेरेका थिए। उनले यस्तो व्यवहार गर्दा परीक्षण कक्षमा महिला सहायक नर्स वा अन्य कर्मचारी थिएनन्।

शाक्यको व्यवहार ती युवतीलाई सहज लागेन। उनले आफूलाई असहज भएको शाक्यलाई जानकारी गराइन्। युवतीको दाबी अनुसार आपत्तिपछि पनि शाक्यले  उनको बेवास्ता गर्दै भित्री वस्त्र तानेर हटाउँदै उनको गुप्ताङ्ग नियाली भद्दा टिप्पणी गरेका थिए।

‘खासमा मेरो थाई लगायतका अंगको बोसो घटाउनु पर्ने थियो। त्यसैको लागि म ग्राण्डी अस्पताल गएको थिएँ,’उनले उकेरासँग भनिन्, ‘तर मेरो अनुमति नै नलिई शाक्यले गोप्य अंग हेरेर भद्दा टिप्पणी गर्नुभयो। मैले अब्युज भएको महसुस गरेँ।’

शाक्यको त्यस्तो गतिविधिबारे उनले अस्पताल प्रशासनमा जानकारी गराइन्। उनले शाक्यलाई दोस्रो पटक भेटेर ‘उपचार पद्धति ठिक नभएको र आफूलाई अब्युज भएको महसुस गरेको बताइन्।

उकेरालाई प्राप्त दुवैबिचको कुराकानीको अडियोमा चिकित्सक शाक्यले अर्को व्यक्ति नराखी, नसोधी संवेदनशील अंगमा छुनु आफूबाट गल्ती भएको स्विकारेका छन्। उनले फंगस् भएको जस्तो लागेर हेरेको दाबी गरेका छन्।

युवतीले आफू थाइको सर्जरीको परामर्शका लागि आएको तर अनुमति नै नलिई, सोध्दै नसोधी गोप्य अंगमा भएको कपडा समेत हटाउँदा सहज महसुस नगरेको बताएकी छिन्। शाक्यले फंगस भएको जस्तो लागेर परीक्षण गरेको भन्दै माफी मागेका छन्।

यस विषयमा उकेराले शाक्यसँग समेत सोधेको थियो। शाक्यले आफ्नो नियत खराब नभएको र 'मिसअण्डरस्टान्डीगं' भएको बताए।

‘म प्लास्टिक सर्जन भएको हुँदा कुन ठाउँमा के भइरहेको छ हेर्नुपर्ने हुन्छ। मैले बिरामीको कोही व्यक्ति नराखी र अर्को डाक्टर पनि बिदामा भएको हुँदा एक्लै उपचार गर्दा यस्तो आरोप लाग्यो। मेरो नियत दुर्व्यवहार गर्ने थिँदैथिएन’ उनले भने।

पीडित युवतीले डाक्टर शाक्यसँग सुरुमा भेट्दा नियत राम्रै देखे पनि बेडमा सुत्न लगाएर अनुमति बेगर अकस्मात्  भित्र वस्त्र तानेपछि भने आफू शक भएको र अब्युज भएको महसुस गरेको बताइन्।

ग्रान्डीले स्पष्टीकरण सोध्यो, शाक्यले अस्पताल छाडे

अस्पतालमा स्वास्थ्य परामर्शका लागि आएको युवतीले डा शाक्यको व्यवहारबारे प्रशासनमा जानकारी गराएपछि स्पष्टीकरण सोधेको ग्राण्डी अस्पतालका मानव संसाधन तथा प्रशासन प्रमुख हरि खड्काले बताए।

‘एक पेसेन्टले डाक्टरको व्यवहार असहज भएको र अब्युज भएको कुरा बताउनुभयो। उहाँले बिरामीसँग गल्ती भएको स्विकार्नु भएको पनि रहेछ। त्यसपछि हामीले डाक्टर शाक्यलाई स्पष्टीकरण सोध्यौँ,’उनले भने, ‘हामीले स्पष्टीकरण सोधेपछि उहाँले ग्राण्डी अस्पताल छाडिसक्नु भएको छ।'

उता नेपाल मेडिकल काउन्सिल भने अनुसन्धानमै देखियो। काउन्सिलमा शाक्यले अनुमति नलिई, कुनै सहयोगी समेत नभएको कोठामा संवेदनशील अंगको कपडा तानेर हेर्नु गल्ती भएको स्विकारेको अडियो समेत पुगेको छ।

युवती स्वास्थ्य परीक्षणका लागि अस्पताल गएको प्रमाणहरू त छन् नै काउन्सिलमा शाक्यले बिरामीसँग गल्ती भएको स्वीकारेको अडियो समेत पुगेको देखियो। सो अडियो दुर्व्यवहारमा सबैभन्दा बलियो प्रमाण बनेको छ।

ग्राण्डी अस्पतालले पनि शाक्यको त्यही अडियो प्रमाणपछि स्पष्टीकरण सोधेको थियो। राजीनामा नदिए अस्पतालले कारबाही गरेर निष्कासन गर्नुपर्ने जानकारी दिएपछि उनले राजीनामा दिएका थिए।

पीडितले काउन्सिलमा दिएको उजुरीमा कानुन र आचारसंहिता विपरीत काम गरेको दाबीसहित नेपाल मेडिकल काउन्सिल ऐन, २०२०; नेपाल मेडिकल काउन्सिल नियमावली, २०२४ तथा अन्य प्रचलित नेपाल कानुन बमोजिम आवश्यक छानबिन गरी हदैसम्मको दण्ड सजाय गरी निजको नाम चिकित्सकको दर्ता किताबबाट हटाउन माग गरेकी छिन्।

घटनामा के भएको हो भन्नेबारे काउन्सिलका पदाधिकारी अझै निष्कर्षमा पुगेको देखिएन। उनीहरू अझै अनुसन्धानमै देखिए।

‘अझै पनि हामी छानबिनमै छौँ। यदि छानबिनबाट लागेको आरोप पुष्टि भयो भने लाइसेन्स नै खारेज हुन पनि सक्छ। किनभने बिरामीलाई उसको अनुमतिबिना उसका अङ्गहरू छुनु चिकित्सक आचारसंहिता विरुद्धको काम हो।'

२९ मंसिर, २०८०, २३:५१:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।