अदालतमा ३०, सम्पत्ति शुद्धीकरणमा १५ लाख धरौटी अनि अख्तियारमा साधारण तारेखपछि घर गए खाँण

अदालतमा ३०, सम्पत्ति शुद्धीकरणमा १५ लाख धरौटी अनि अख्तियारमा साधारण तारेखपछि घर गए खाँण

काठमाडौँ : नक्कली शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँणको नाममा उच्च अदालत पाटनबाट ३० लाखको धरौटी निस्किए पनि बिहीबारको रात जेलमै कट्यो।

उच्चको यस अगाडिको संयुक्त इजलासमा धरौटीमा छाड्ने कि पुर्पक्षमै राख्ने भन्ने विषयमा संयुक्त इजलासका न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेको  मत बाझिएपछि एकल इजलासमा गएको सुनुवाइमा उच्चका न्यायाधीश  कृष्णराम कोइरालाले उनी संलग्न हुन् भन्ने देखाउने बलियो प्रमाण नभएकोसहित नौ तर्कमा टेकेर ३० लाख धरौटीमा छाड्न आदेश दिए।

धरौटी बुझाउन नभ्याउँदा खाँण बिहीबार कारागारमै बसे। शुक्रवार बिहानैबाट धरौटी जुटाउने दौडधुप सुरु भयो। खाँणको ३० लाखका लागि नबिल बैंक ग्यारेन्टी बसिदिएपछि उनी अदालतबाट मुक्त भए।

अदालतबाट धरौटी निस्किए पनि उनी विरुद्ध आपराधिक गतिविधिबाट धन आर्जन गरेको आशङ्कामा सम्पत्ति शुद्धीकरण विभागले समेत अनुसन्धान गरिरहेको थियो।

यता उच्च अदालत पाटनको आदेश अनुसार धरौटी बुझाए लगत्तै उनलाई विभागको कार्यालयमा लगियो। विभागले कार्यालय प्रयोजनका लागि अपनाउनुपर्ने विधि पुरा गर्दै उनलाई १५ लाख धरौटीमा छाड्ने निर्णय गर्यो। त्यहाँ पनि धरौटी राखियो।

सरकारी ओहदामा रहेर अधिकारको दुरुपयोग गर्दै भ्रष्टाचार गरेको उनीमाथि अर्को आरोप थियो अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा। उनका सहयोगी र सुरक्षाकर्मीले उनलाई शुक्रवारै अख्तियारको कार्यालय टंगालमा उपस्थित गराइयो। त्यहाँ पनि कार्यालय प्रयोजनको औपचारिकता निभाउने तयारी भइसकेको थियो। उनले अख्तियारमा धरौटी पनि बुझाउनु परेन। साधारण तारेखमै मुक्त भएर घर गए उनी।

गृहमन्त्रीहुँदा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहलाई सघाएको खाँणबाट अभियोग थियो। उनी त्यही अभियोगमा जिल्ला अदालत काठमाडौँको आदेशमा पुर्पक्षका लागि जेलमा थिए। जिल्लाको आदेशविरुद्ध उच्चमा परेको पुनरावलोकन निवेदनको आधारमा उनी कारागारमुक्त भए।

पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी लगायतकाहरु भने पुर्पक्षका लागि कारागारमै छन्।

२९ मंसिर, २०८०, २१:०२:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।