खाँणलाई धरौटीमा छाड्न उच्चले टेकेको नौ आधार : जाहेरी र टेकनारायण पाण्डेले लेखेको चिटमा नाम छैन

खाँणलाई धरौटीमा छाड्न उच्चले टेकेको नौ आधार : जाहेरी र टेकनारायण पाण्डेले लेखेको चिटमा नाम छैन

काठमाडौँ : नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा राख्ने काठमाडौँ जिल्ला अदलको आदेश बेरितको देखिएको भन्दै उच्च अदालत पाटनले पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई तीन लाख धरौटीमा छाड्न आदेश दिएको छ।

जिल्लाको आदेशविरुद्ध परेको निवेदनमा यस अगाडि आदेश आउँदा दुई न्यायाधीशबिच राय बाझिएपछि न्यायाधीश कृष्णराम कोइरालाको एकल इजलासले बिहीबार उनलाई धरौटीमा रिहा गरेको हो।

मंसिर १५ गते न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासमा राय बाझिएपछि तेस्रो न्यायाधीशकोमा पुगेको थियो।

न्यायाधीश पाण्डेले खाँणलाई धरौटीमा रिहा गर्नुपर्ने आदेश गरेका थिए भने अर्का न्यायाधीश खरेलले खाँण निर्दोष रहेको भन्न नमिल्ने आदेश दिएका थिए।

धरौटीमा छाड्न उच्चले टेकेको आधार

आदेशमा जाहेरवाला तथा घटना विवरण कागज गर्ने पीडितहरूले खाँणले ठगी गरेको वा निजहरूबाट रकम लिएको भनेर नाम उल्लेख नगरेकोलाई मुख्य प्रमाणको रूपमा टेकेको देखिन्छ।

खाँणले अधिकार प्राप्त अधिकारी तथा अदालत समक्ष बयान गर्दा अभियोगवादीको कसुर इन्कार गर्दै बयान दिएको, घटना विवरण कागज गर्ने गृह मन्त्रालयमा कार्यरत स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखाका प्रमुख शाखा अधिकृत यन्तोष प्रधानले बालकृष्ण पन्थीको कार्यालयले तयार पारेको प्रतिवेदन पछिल्लो समयमा मन्त्रीपरिषदबाट फिर्ता आई आफ्नो जिम्मामा रहेको, विभिन्न समयमा उक्त प्रतिवेदन शाखा प्रमुख सागरमणी पाठक, उपसचिव शेखर पौडेल, महाशाखा प्रमुख फणीन्द्रमणि पोखरेल तथा सचिव टेक नारायण पाण्डेले माग्ने गरेको, के कसरी उक्त प्रतिवेदनको समानान्तर अर्को प्रतिवेदन तयार भयो आफूलाई थाहा नभएको भन्दै दिएको बयानलाई समेत खाँण प्रत्यक्ष संलग्न रहेको नदेखिएको भनिएको छ।

तत्कालीन गृह सचिव टेकनारायण पाण्डेको बयानमा खाँणले प्रतिवेदन मागेको अथवा उक्त प्रतिवेदनमा कुनै चासो नराखेको बयान दिएको,  

प्रतिवादी केशव दुलाल र पाण्डेबिच भएको टेलिफोन संवादमा गिफ्ट भनेको रकम हो र उक्त रकम केशव दुलालबाट खाँणले लिएको दाबीबारे बयान र ततिम्बा बयानमा दुलालले इन्कार गर्दै खाँणलाई नभेटेको र कुनै पैसा नदिएको बयान गरेकोलाई समेत इजलासले धरौटीमा छाड्ने प्रमाणको रूपमा लिएको छ।

केशव दुलालाले टेक नारायण पाण्डेलाई एक करोड २५ लाख दिएको भनी उल्लेख गरेको, आडटावा शेर्पाले यातना दिएर बयान गराएको दाबी गरेको, पाण्डेले नरेन्द्र केसीलाई सम्बोधन गरी लेखेको चिटमा खाँणको नाम उल्लेख नभएको र उक्त कागज पाण्डेले आफू पक्राउ परेपछि लेखेको भन्ने तथ्य बयान र प्रहरी हिरासत कक्ष खानतलासी गर्दा डायरी तथा पेन बरामद गरेको मिसिल संलग्न बरामदी मुचुल्काबाट देखिएको इजलासको व्याख्या छ।

खाँण विरुद्ध किटानी जाहेरी नपरेको र अनुसन्धान अधिकारी एवं, अदालत समक्ष कसुरमा इन्कार गरेको, सहप्रतिवादीहरूले खाँण संलग्न रहेको भनी पोल नगरेकोलाई प्रमाण मान्दै उनलाई धरौटीमा छाड्न आदेश दिएको देखिन्छ।

२८ मंसिर, २०८०, १८:२४:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।