आमाको दमको उपचार गराउन आर्मी बन्ने योजनामा थिइन् रशिला, तर बनिन् अन्तर्राष्ट्रिय अल्ट्राधाविका

आमाको दमको उपचार गराउन आर्मी बन्ने योजनामा थिइन् रशिला, तर बनिन् अन्तर्राष्ट्रिय अल्ट्राधाविका

आशिष मिश्र पर्यटन व्यवसायमा आउनु अघिसम्म एक गैरसरकारी संस्थामा काम गर्थे। गैरसरकारी संस्थामार्फत गाउँ-गाउँ डुल्ने गर्थे उनी। त्यसको अतिरिक्त खेलकुदका फ्यान उनी खेलेको अपडेट लिइरहन्थे। उनी आफैँ कुनै खेलका खेलाडी भने थिएनन्।

गैरसरकारी संस्थाकै कामले धादिङको धुनिवेशी पुग्दा बिहान चिया पसलमा रशिला तामाङबारे कुरा भइरहेको थियो। अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ‘फन रन’मा अल्ट्राधावक मिरा राईसमेत सहभागी थिइन्। रशिला दोस्रो भएपछि उनको प्रशंसा भइरहेको थियो। 

आशिषलाई चासो लाग्यो अनि रशिलाको सोधीखोजी गरे। रशिलाका दाइ भेटिए। दाइमार्फत रशिलालाई दौडन दिन हौस्याए। दाजुले नाइँनास्ती गरेनन्। त्यसपछि फेरियो रशिलाको दैनिकी।

‘मिरा राईसँग दोस्रो भएको मान्छेले अवसर पाउने हो भने अन्तर्राष्ट्रियस्तरमा हुने अल्ट्रारेशमा रशिला बहिनीले किन सक्दिनन् भन्ने लाग्यो,’ मिश्रले भने, ‘उनका दाइलाई क्षमता हुनेलाई खेल्न दिनुपर्छ भनेँ। उहाँले मान्नुभयो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय म्याराथन तथा अल्ट्रारेशबारे निरन्तर अपडेट हुन थालेँ। त्यसपछि रशिलाको उपस्थिति हुन थाल्यो।’

आठ वर्षमा छ देश
रशिला अहिले २५ वर्षकी भइन्। धादिङको धुनिवेशीमा जन्मिएकी उनी एक वर्ष हुँदा बुवा बिते। दुई दिदी, एक दाजु र आमाका साथ हुर्किइन् उनी। धुनिवेशीकै दशरथचन्द्र  माध्यमिक विद्यालयबाट २०७२ सालमा एसएलसी पास गरेर उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आइन्।

कक्षा १० पढ्दा नै नारी दिवसको दिन ५ किलोमिटर दौडमा दोस्रो भएकी थिइन् उनी। काठमाडौं आएपछि पनि उनले दौड्न छाडिनन्। उनलाई दह्रो गरी साथ दिएका थिए आशिषले।

‘हाम्रो बा-आमा फरक भए पनि उहाँ मेरो दाइ भएर आउनुभयो,’ रशिलाले भनिन्, ‘उहाँकै साथ र सहयोगले मैले यो अवसर पाएँ। कोही न कोहीले आफ्नो क्षमता चिन्दिनुपर्दोरहेछ। आशिष दाइ नभएको भए सायदै अल्ट्राधावक हुन्थे।’

आशिष भने रशिलाले विश्वस्तरमा खेल्न अझ मिहिनेत गर्नुपर्ने बताउँछन्।

‘ऊ अहिले जति रेशमा सहभागी भएको छ, त्यो धेरैजसो एशियाली मुलुक हो,’ उनले भने, ‘अब उसले विश्वस्तरमा लैजान धेरै मिहिनेत गर्न बाँकी छ।’

उनले नेपालमा भएका अधिकांश दौडमा सहभागी भएकी छन्। अधिकांशमा प्रथम र द्धितीय हुन सफल भएकी छिन् उनी।

काठमाडौं आएपछि सुरूमा उनले हात्तिवनको ‘हिमालय आउट डोर फेस्टिभल’मा सहभागी हुन फारम भर्न गइन्। फारम दिनेले तिमीले सक्दिनौ भनिरहे। तर उनले आफ्नो रटान छोडिनन्फा र फारम भरिन्। १ सय ५० जनालाई पछि पार्दै उनी प्रथम भइन्।

त्यसपछि २०७३ सालको नारी दिवसमा आयोजना भएको फन रनमा उनी प्रथम भइन्। पाँच किलोमिटरबाट प्रतियोगिता थालेकी उनले नेपालभित्रै सन् २०१९ मा भएको ‘१७० किमि मुस्ताङ ट्रेल रेश’मा सहभागी मात्र भइनन्, प्रथम नै भइन्।

देशमा राम्रो गर्न थालेपछि उनको विदेश यात्रा सुरू भयो। सन् २०१७ मा चीनमा ५० किलोमिटर दौडका लागि सहभागी भइन् र टप १० भित्र परिन्। दौडको नसा लागिसकेको थियो रशिलालाई। त्यसपछि जहाँ-जहाँ अल्ट्रा रेश हुन्छ, त्यहाँ-त्यहाँ पुग्न थालिन्। कतै सहभागिता मात्रै हुन्थ्यो भने कतै पहिलो-दोस्रो नै हुन्थिन्।

रशिला अहिलेसम्म एभरेष्ट म्याराथुन २०१९ मा ४२ किलोमिटर दौडमा प्रथम, २०१९ मा चीनमा भएको ५० किलोमिटर झाइझेइ माउन्टेन क्रसिङ्ग कम्पटिसनमा प्रथम, १७० किलोमिटर मुस्ताङ ट्रेल रेशमा प्रथम, भारतको मनालीमा भएको ‘हेल रेश’मा प्रथम, सन् २०२२ मा स्विट्जरल्याण्डमा भएको १ सय किलोमिटरको अल्ट्रा टुर मोन्टे शेरमा प्रथम र २०१८ मा हङकङमा भएको अक्सफाममा दोस्रो भएकी छिन्।

कोरोनाको समयमा केही समय रोकिए पनि २०२२ देखि उनी निरन्तर दौडका लागि विदेश गइरहिन्। २०२२ मा थाइल्याण्डमा भएको युटीएमबी १ सय किलोमिटर रेशमा उत्कृष्ट १० भित्र परिन्। त्यहाँ घाइते भएर आफू टप १० भित्र परेको उनी बताउँछिन्।

‘गोडा यति दुखेको थियो की प्रतिस्पर्धीहरू आफूलाई उछिन्दा मन दुखाउनुको विकल्प थिएन,’ उनले भनिन्, ‘धन्न टप टेनभित्र परेँ।’

त्यस्तै सन् २०२३ मा युटीएमबीले नै फ्रान्समा आयोजना गरेको १ सय किलोमिटरमा उनी ४२ नम्बरमा पर्न सफल भइन्। यो दौडमा २६ हजार खेलाडी सहभागी थिए।

‘आयोजकले हामीलाई दिएको जानकारी अनुसार रनरहरू २६ हजार थिए रनरको र्याङ्कअनुसार दौडने पालो आउँथ्यो म तेस्रो हारमा परेँ। पहिलो हारमा १ हजार हुन्थे,’ उनले भनिन्, ‘सुरूमा त म पछि नै थिएँ तर पछि मेरो गति बढ्यो। अन्तिममा ४२ नम्बरमा परेछु।’

त्यस्तै  २०२३ मा नै मलेसियामा भएको ५० किलोमिटर दौडमा पनि उनी प्रथम भइन्। यहि वर्ष भएको नर्थ फेस माउन्टेन ट्रेल फेस्टीभलमा उनी दोस्रो भइन्।

हालसालै एसिया ट्रेल मास्टर च्याम्पियनसिपमा प्रथम भइन् रशिला। इन्डोनेसियाको सोलमा भएको फाइनलमा उनले बेल्जियमकी भन्ज नोप्स र फिलिपिन्सकी एन्जेली काबालोलाई पछि पार्न सफल भएकी थिइन्।

७७ किमि दौड उनले १२ घन्टा २५ मिनेट ५२ सेकेन्डमा पार गरेर प्रथम भइन्। भन्ज र एन्जेली दोस्रो भए। रशिला र उनीहरूबीच ७ मिनेटको मात्रै फरक थियो।

दौडकै लागि भनेर १० पटक ६ वटा देश पुगिसकेकी छन् रशिला। आर्मी बन्ने सपना पालेकी उनी अब अल्ट्रा रेशमै करियर बनाउन चाहन्छिन्।

‘मेरो आमा दमको रोगी हुनुहुन्छ। आर्मी भएपछि परिवारलाई नै स्वास्थ्य जाँच निःशुल्क हुन्छ भनेको सुनेको थिएँ,’ उनले भनिन्, ‘आर्मी नै बन्छु होला जस्तो लाग्थ्यो। यता दौडतिर पो लागियो। दौडिरहँदा लाग्छ, मेरो करियर यहि हो।’

‘टुरिष्ट गाइड’पनि  रशिला 
अल्ट्रा रनिङलाई राष्ट्रिय खेलकुदमा समावेश गरेको छैन। सरकारले माउन्टेन रनिङमा केही लगानी गरेर प्रतियोगिता आयोजना गर्ने भए पनि अहिलेसम्म राष्ट्रिय खेलकुदमा समावेश नगर्दा खेलाडीहरूलाई समस्या परेको बताउँछन् आशिष।

‘नेपालमा माउन्टेनिङ दौडमै हो भविष्य, दुःखको कुरा राष्ट्रिय खेलकुदमा अहिलेसम्म समावेश हुन सकेको छैन,’ उनले भने, ‘यसले गर्दा खेलाडीहरू व्यक्तिगत तर्फबाट जानुपर्ने हुन्छ बाहिर खेल्न। एक त खर्च आफ्नै दोस्रो भिसा प्रक्रिया नै लामो हुन्छ। यसलाई राष्ट्रिय खेलमा राख्नुपर्छ भन्ने मलाई लाग्छ।’

गत वर्षसम्म आफ्नै खर्चमा बाहिर जान्थिन् रशिला। अहिले भने उनलाई ‘टि एट’ भन्ने कम्पनीले हेर्न थालेको छ। ६ हजार मिटरभन्दा माथिका पाँच वटा हिमाल चढेकी रशिला प्रोफेसनल टुरिष्ट गाइड पनि हुन्। ट्रेलमाण्डु नेपाल प्रालिकी को-फाउण्डर पनि हुन् उनी।

‘विदेशी प्रोफेसनल रनरहरू नै आएका हुन्छन्। मैले उनीहरूलाई गोसाइँकुण्ड, अन्नपूर्ण बेसक्याम्प लगायतका क्षेत्रमा लिएर जान्छु,’ उनले भनिन्, ‘मलाई प्राक्टिस पनि हुने खर्च पनि हुने।’

२३ मंसिर, २०८०, १२:३७:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।