१६ वर्षपछि फन्दामा परेका भगौडा प्रहरी जवान जसले प्रहरी पोशाकमै जेलबाटै भगाएका थिए खैरो हेरोइनको 'किङ' कारोबारी

१६ वर्षपछि फन्दामा परेका भगौडा प्रहरी जवान जसले प्रहरी पोशाकमै जेलबाटै भगाएका थिए खैरो हेरोइनको 'किङ' कारोबारी

काठमाडौँ : 'मैले नगर्नुपर्ने काम गरेँ। तर नेपाल प्रहरीले अपराध गरेर जहाँ भागे पनि पक्राउ गरिहाल्ने रहेछ। त्यसैले त्यस्तो काम गर्न हुन्न।'

मुखमा मास्क अनि हातमा हत्कडी लागेको बिरबल राय यादव काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा पत्रकारहरूमाझ भन्दै थिए।

उनी नेपाल प्रहरीको भगौडा पूर्व जवान। २०६१ सालमा नेपाल प्रहरीमा प्रहरी जवानको रूपमा प्रवेश गरेका उनले २०६४ सालमा गरेको अपराधले प्रहरीको मोस्ट वान्टेडको सूचीमा थिए।

लागु औषधका कारोबारीलाई हनुमानढोकामा रहेको जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासत कक्षबाट भगाएर उनीसँगै भारत पुगेका यादव १६ वर्षपछि बल्ल पक्राउ परे।

'२०६४ सालमा मैले थुनुवा भगाएर लगेको। १६ वर्षपछि सरहरुले समातेर ल्याएको' उनी भन्दै थिए।

रौतहटका उनी ४१ वर्षका भइसके। २०६४ जेठ ९ गते खैरो हेरोइनको कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका भारत रक्सौलका असरफ आलमलाई प्रहरी हिरासतबाट निकालेर उनले कालीमाटी, कलङ्की, बुटवलहुँदै आफू पनि भारत पुगे। एक करोडबाट बार्गेनिङ गरेर १० लाख पाउने लोभमा उनले इन्सपेक्टरसापले बोलाउनु भएको छ भन्दै आलमलाई मध्यरात प्रहरी हिरासतबाट निकालेर भगाएका थिए।

उनले थुनुवालाई मात्र भगाएनन्, उनीसँगै भागेर भारतमै बसे। उनी पक्राउ परेपछि प्रहरीलाई दिएको जानकारी अनुसार १० लाखमा भगाउने सहमति भए पनि उनले ६ लाख २५ हजार रुपैयाँ मात्र पाए।

त्यो रकमले उनले ट्याक्सी किनेर भारतको कोलकातामा बसे। उनले भारतकै आधार कार्ड, भोटर कार्ड, लाइसेन्स बनाएर अहिले नौ वटा ट्याक्सीको मालिक भएर बसेको बेलामा नेपाल प्रहरीले पक्राउ गरेर नेपाल ल्याएको छ।

खैरो हेरोइनको 'राजा'सँगै आफू पनि भारतमा

उनले जसलाई भगाएका थिए उनी सामान्य लागुऔषध कारोबारी थिएनन्। लागुऔषधको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू आलमलाई अहिले पनि खैरो हेरोइन कारोबारको 'राजा' नै भन्छन्।

अनि त्यो बेलामा लागुऔषध नियन्त्रण तथा कार्यान्वयन इकाइका तत्कालीन प्रहरी अधिकारीहरूले निकै लामो मिहेनतपछि बल्ल बल्ल उनलाई पक्राउ गरेर नेपाल ल्याएका थिए।

निकै मिहिनेत गरेर पक्राउ गरेको कारोबारीलाई प्रहरी जवानले हिरासतबाट भगाएर प्रहरी पोसाकमा उनीसँगै भागेर भारत पुगेको विरलै घटना भएकाले पनि प्रहरीले यादवको खोजी छाडेको थिएन। त्यसैले त १६ वर्षपछि भए पनि उनी प्रहरीको हिरासतसम्म आइपुगे। यादव त आइपुगे तर त्यो बेलामा उम्किएका आलम त्यसपछि कहिल्यै प्रहरीको नियन्त्रणमा आइपुगेनन्।

प्रेमिका भेट्न आउँदा हेटौँडामा पक्राउ

लागुऔषध इकाइमा काम गरेका एक प्रहरी अधिकृतका अनुसार आलम भारतहुँदै नेपालमा खैरो हेरोइनको कारोबार गर्ने सबैभन्दा ठुला कारोबारी हुन्।

रक्सौलमा बस्ने उनले आफ्नो कारोबारको सञ्जालबाट नेपालमा प्रतिमहिना २० किलोसम्म खैरो हेरोइन भित्र्याउँदै आएका थिए। त्यसैले उनी लागुऔषध अनुसन्धानमा सक्रिय प्रहरीको मोस्ट वान्टेड सूचीमा थिए।

प्रहरीले आलमका सहयोगीहरू पक्राउ गरिरहेको थियो। तर आलमसम्म पुग्न सकेको थिएन। आलममात्रै हैन असरफ भन्ने अर्को भाइ पनि खैरो हेरोइनकै कारोबारमा सक्रिय थिए। उनीहरूको मुख्य कारोबारस्थल नेपालै।

अनुसन्धानकैक्रममा २०६३ चैततिर कुलेखानीमा हेटौँडाका एक नेपाली नागरिक पक्राउ परे। उनी खैरो हेरोइनकै कारोबारमा संलग्न थिए।

खैरो हेरोइनको कारोबारमा संलग्न कोही पक्राउ पर्यो कि असरफ आलमबारे केही नयाँ जानकारी पाइन्छ कि भनेर अनुसन्धान अधिकृतहरू चनाखो भइहाले। ती व्यक्ति समातिएपछि पनि तत्कालीन इकाइका अनुभवी प्रहरी अधिकारीहरूले कतै उनको आलमसँग सम्बन्ध छ कि भन्नेतिर अनुसन्धान केन्द्रित गरे।

त्यो बेलामा इकाइमा थिए कुवेर सिंह राना। प्रहरी टोलीले उसलाई फकाउँदै सोधपुछ गर्दा उनले आलम समूहकै लागि काम गर्ने मात्र खुलेन। उनी निकै निकट रहेको समेत खुल्यो।

पक्राउ परेका उनले आलमलाई जिजाजी भनेर सम्बोधन गर्ने रहेछ। पहिला त जिजाजी उनको नक्कली नाम राखेको हो कि भन्ने लाग्यो प्रहरीलाई। तर अनुसन्धानकोक्रममा जिजाजी आलमको उपनाम नभई सम्बन्धकै आधारमा उनले भनेको खुल्यो।

आलम भारतमा बसेर नेपालमा नियमित खैरो हेरोइनको कारोबार गर्ने भएकाले पक्राउ परेकाहरूको आधारमा उनी विरुद्ध टन्नै मुद्दा भइसकेको थियो। त्यसैले उनी कुनै हालतमा नेपाल आउँदैनथे। अब भारतमै पक्राउ गरेर भारतीय नागरिकलाई नेपाल ल्याउन उनी सामान्य अपराधी थिएनन्। रक्सौलबाट लागुऔषध कारोबार गरेरै आर्थिक रूपमा सम्पन्न भइसकेका थिए। कुलेखानीमा पक्राउ परेको व्यक्तिमार्फत आलमलाई नेपाल भित्र्याउन सकिन्छ कि भन्नेतिर लागे इकाइका प्रहरी।

तर त्यो त्यति सहज थिएन। उनीहरूको अनुसन्धानमा कुलेखानीमा पक्राउ परेको व्यक्तिको कुनै आफन्त आलमको प्रेमिका भएको पत्ता लगाइसकेको थियो। प्रेमिकालाई केही समस्या भयो भने कतै नेपाल आइहाल्छन् कि भनेर उनीहरूले त्यही व्यक्तिलाई प्रयोग गरेर आलमलाई नेपाल ल्याउने प्रयास सुरु गरे।

प्रारम्भमा त उनले मानेको थिएन। एक दिन उनले ल आउँछु भने। आलम नेपाल आउने सम्भावना थिएन। तर दशा लागेर आइहाल्छन् कि भनेर इकाइबाट प्रहरी निरीक्षक कृष्णप्रसाद त्रिपाठी, सई कृष्णगोपाल पनेरु, असई किशोर खरेल, सुरेश थापालगायतकाहरु मकवानपुर गए। आलमले मकवानपुरको बसपार्क छेउछाउ आएर फोन गर्छु भनेका थिए। प्रहरी टिम बसपार्क वरपरकै होटेलमा बसेका थिए।

दुई रात बसपार्कमा बस्दा पनि आलम आएनन्। प्रहरी टिमलाई आस त थिएन। तर यस्तोमा भन्न पनि सकिन्न। कहिलेकाहीँ फ्याट्टै आइदिन्छन्।

तेस्रो दिन पक्राउ परेका नेपाली नागरिकलाई आलमले फोन गरेर कता छौँ भनेर बसपार्कमा बोलाए। प्रहरी टिम बसपार्कमा छरियो अनि पक्राउ परेको नेपालीको हत्कडी खोलेर आलम भेट्न पठाए।

उनी सरासर एउटा मोटरसाइकलतिर गएपछि चारैतिर घेरा हालेको प्रहरी टिमले झ्यापझुप समात्यो। मोटरसाइकलमा बसिरहेको व्यक्ति साँच्चिकै आलमै थिए।

टिममा संलग्न प्रहरी अधिकारीका अनुसार प्रहरीले उनलाई पक्राउ गरेकै बेलामा छाड्ने हो भने पाँच करोड रुपैयाँ दिने प्रस्ताव गरेका थिए। प्रहरीले तत्कालीन एसएसपी रानालाई आलम पक्राउ परेको जानकारी गराए।

राना खुसी हुँदै 'स्याबास, जतिसक्दो चाँडो काठमाडौँ ल्याऊ' भने। उनीहरूले आलमलाई काठमाडौँ ल्याए। त्यो बेलामा लागुऔषधको कार्यालय नयाँबानेश्वरमा थियो। त्यहाँ हिरासत कक्ष थिएन।

त्यो बेलामा इकाइले पक्राउ गर्नेहरूलाई पनि सुरक्षाका लागि हनुमानढोकामा रहेको हिरासतमै राखिन्थ्यो। अनुसन्धानकोक्रममा बोलाएर सोधपुछ गर्यो अनि हिरासत कक्षमा लगेर राख्यो।

यादव त्यहीँ काम गर्थे। हनुमानढोकामा उपत्यका अपराध महाशाखा र काठमाडौँ प्रहरी परिसरको कार्यालय थियो। हिरासतमा बस्दाबस्दै आलम र यादवबिच मित्रता भइसकेको थियो।

कहिलेकाहीँ अनुसन्धानका लागि बेलुका पनि हिरासत कक्षमा रहेका थुनुवा निकालिन्छ नै। दुबैबिच लेनदेनमा कुरा मिल्यो। यादवले त्यसैलाई बहाना बनाउन प्रहरी निरीक्षकले आलमलाई सोधपुछ गर्न हिरासतबाट निकाल्न पठाएको नक्कली चिट बनाएर हिरासत कक्षबाट निकालेर उनीसँगै भागेर भारत गए।

 पटक-पटकको अप्रेसन असफल

आलम पक्राउ पर्ने या नपर्ने पक्का थिएन। नेपालबाट उम्किएर रक्सौल पुगेपछि उनी आफ्नै क्षेत्रमा समेत त्यति बाहिर निस्कँदैनथे। उनी नेपालबाट भाग्न सफल नभएको भए कमसेकम २० वर्ष जेल पक्का थियो। त्यसैले उनी डराएका थिए।

यति मिहिनेत गरेर बल्ल समातेको लागुऔषध कारोबारी भगाउने यादव पक्राउ गर्न प्रहरीले पटक पटक प्रयास गरिरहेको थियो। तर फेला परेका थिएनन्।

ठाकुर ज्ञवाली प्रहरी महानिरीक्षक भएको बेलामा यादवबारे जानकारी आएर भारतबाट नेपाल ल्याउने प्रयास भएको थियो। तर अप्रेसन सफल भएन। यो पटक भने उपत्यका प्रहरी कार्यालयको प्रहरी बल्ल सफल भयो।

प्रहरीको फन्दामा परिसकेपछि यादव भन्दै थिए' उसलाई नाइट बसमा राखेर भगाउँदा बसमा अमिताभ बच्चनको फिल्म लगाएको थियो। फिल्ममा अपराधी भगाएको जेल परेको थियो। त्यही बेलामा मैले गलत गरेँ भन्ने लागेको थियो। तर जेल परिन्छ भनेर केही भनिन।'

आलम त रक्सौलकै घरमा छन् तर उनलाई भगाउने यादवको जेल यात्रा सुरु हुने पक्का छ।

१२ माघ, २०८०, २२:२५:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।