नेपाली फिल्म खेल्न काठमाडौं आए ह्यारी जोश

नेपाली फिल्म खेल्न काठमाडौं आए ह्यारी जोश

काठमाडौं : बलिउड अभिनेता ह्यारी जोशले नेपाली फिल्ममा अभिनय गर्न नेपाल आएका छन्।

उनी बलिउडमा नकारात्मक भुमिकामा रुचाइएका कलाकार हुन्। ‘वान्टेड’, ‘धूम २’, ‘वेलकम’ जस्ता फिल्ममा अभिनय गरिसकेका उनी नेपाली फिल्म ‘देव वाणी’मा देखिन लागेका हुन्।

बुधबार फिल्मको निर्माण टिमले त्रिभुवन विमानस्थालमा खादा र मालाले स्वागत गरेको हो। बिहीबार बिहानदेखि बालाजु ल्याबमा जोशको भागको छायांकन भैरहेको निर्देशक बाबु साहेव बलामीले बताए।

फिल्ममा ह्यारीको विशेष भूमिका रहेने बलामीले जानकारी दिए। फिल्म हिन्दी भाषामा पनि बनेकाले भारतीय कलाकारलाई समेटिएको उनको भनाई छ।

फिल्म नेपालसँगै भारतमा पनि हलमा रिलिज हुनेछ। दशैंभन्दा अगाडि नै सिमरा र वीरगञ्ज क्षेत्रमा छायांकन भैसकेको फिल्मको काठमाडौं छायांकनपछि प्याकअप हुनेछ।

एक्सन-लभस्टोरी कथामा बनेको फिल्ममा कुन्दन भारद्वाज, अनुजा लेप्चा, सुनिल थापा, ध्रुव कोइराला, घनश्याम गिरी, रबिन्द्र झा, नन्दु श्रीवास्तव, मौसम पौडेल, प्रदीप ढकाल, लक्ष्मीनाथ तिमल्सिनाको पनि अभिनय रहेको छ।

मिना खड्का र हिराबहादुर लेप्चा फिल्मका निर्माता हुन्। अनुजा इन्टरटेनमेन्ट र मौसम फिल्म्स प्रोडक्सन हाउसले निर्माणमा सहकार्य गरेको फिल्मको कथा निराजन मेहता मन्जिलको हो। फिल्मको कार्यकारी निर्मातामा कुलमान लेप्चा छन्।

श्री श्रेष्ठको द्वन्द्व, हरिबहादुर घलेको छायांकन, रामजी लामिछाने र तेञ्जु योञ्जनको कोरियोग्राफी, मनोहर सुनामको संगीत र बन्दे प्रसादको सम्पादन फिल्ममा रहनेछ।

मंसिर २२, २०८० शुक्रबार ११:५५:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।