प्रकाश सपुतको विवाद यात्रा : समाजको चेतनाको दोष कि उनको नियतमै खोट !

प्रकाश सपुतको विवाद यात्रा : समाजको चेतनाको दोष कि उनको नियतमै खोट !

काठमाडौँ : गायक तथा कलाकार प्रकाश सपुत जति चर्चामा आउँछन् उत्तिकै विवादमा पनि आइरहन्छन्। चर्चाको कारण उनको गतिलो काम नै भइहाल्यो। विवादको कारण पनि उनकै अगतिलो कामै हो। केही न केही नयाँ काम गरिरहन चाहने सपुतले आफ्नो काममा केही न केही विवाद हुने विषय मिसाइहाल्छन्।

जब विवाद हुन्छ अनि माफी माग्दै अन्जानमा भएको गल्ती भन्छन्। गीतको लय चोरीको विषय होस् या जनचेतनामूलक गीति भिडियोमा महिला पात्रको हिप हेरेर’ आफ्नै चा…त हो नि!’ भन्ने संवाद राखेर होस् उनी विवादमा तानिइनै रहे अनि माफी पनि मागिरहे।

अहिले उनी काठमाडौँको वसन्तपुरस्थित कुमारी घरनजिकैको जीवित देवी मानिने कुमारीको इनारमाथि नाचेर विवादमा तानिए। जुना विश्वकर्मासँग उनी जुन इनारमाथि नाचेका छन् त्यसको पानी अहिले पनि कुमारी घरमा प्रयोग हुन्छ। पवित्र कुवामाथि नाचेको क्लिप सार्वजनिक भएपछि तीव्र आलोचना भयो। उनले फेसबुकमा आफूलाई जानकारी नभएको र भिडियोको निर्माताले भने अनुसार गर्दा गल्ती भएको भन्दै माफी मागे।

अहिलेको विवादको कारक प्रकाशभन्दा पनि गीतको म्युजिक भिडियोको निर्माता देखिए। तर प्रकाशले आफ्नै म्युजिक भिडियोहरूमा यस्ता हर्कत दोहोर्याइरहेकाले उनी आलोचनाको केन्द्रमा परेका थिए।

सामाजिक चेतनामा विवाद मिसाएर युट्युबमा आफ्ना म्युजिक भिडियो हिट गराउन उनी खप्पिस छन्। उनी आफूलाई महिला अधिकार अनि जातीय छुवाछुतविरोधी कलाकारको रूपमा परिचित गराउने प्रयास गर्छन्। तर आफ्ना भिडियोमा महिलाद्वेशी संवाद र दृश्य राख्न छाड्दैनन्। जातीय छुवाछुत हटाउने भन्छन् तर चेतनाका लागि बनाएको दाबी गरिने म्युजिक भिडियोमै सङ्कीर्ण सोचाइ देखाउँछन्।

गलबन्दीदेखि जालेरुमालसम्मका विवाद

आफ्ना गीतहरूको कहिले बोल त कहिले म्युजिक भिडियो विवादमा आउने गरेकोबारे उकेरासँग प्रकाश सपुतले समाजलाई दोष देखाएका थिए। उनले भनेका थिए :

‘मैले मेरो समाजको कथा भन्छु। समाजले मेरा सृजना बुझ्दैन भने यो मेरो दोष होइन, समाजको दोष हो। समाज नै त्यस्तै छ त म मेरो कलाकारितामा मैले बाँचेको समय देखाउँछु। फरक शैली अपनाउन खोज्छु। म कलाकार हुँ, म समाजमा चर्चामा आउने नै मेरो प्रस्तुतिले हो। समाजलाई आफ्नो अनुहार गीतको माध्यमबाट मैले प्रस्तुत गर्दा निको लाग्दैन त त्यो समाजको दोष हो। त्यसमाथि मेरो नियत त्यस्तो केही छैन। मलाई मेरो पेसामा इमानदारिताका साथ अघि बढ्नु छ। र, म त्यसकै अभ्यास गरिरहेको छु।‘

कुनै एकाध विवादमा आउनु सोचाइको भिन्नता हुनसक्छ। तर हरेक गीत विवादमा आउनुमा समाजको बुझाई मात्र हैन उनको नियत पनि कारक देखिन्छ। विवादका कारणहरू खोतल्दा पनि त्यस्तै देखिन्छ।

चार वर्ष अगाडि उनको ‘गलबन्दी च्यातियो’ बोलको गीत रिलिज भयो। गीत चर्चित हुँदै थियो विवाद भइहाल्यो। लोक गायक शम्भु राईले आफ्नो पुरानो देउसी भैलो गीतको लय चोरेको भन्दै कानुनी उपचार खोजे। उनले यो गीतको लय लोकगीत भएकाले कसैको अधिकार नहुने तर्क गरे। जब राई प्रहरीसँगै प्रतिलिपि अधिकारको कार्यालयमा जाने तयारीमा लागे उनले भिडियोमा ‘क्रियसन शम्भु राई’ भनेर राख्न सहमत भए। बल्ल विवाद मिल्यो।

गीत विवादमा आउँदा मानसिक तनावमा परेको अभिव्यक्ति दिएका सपुतलाई विवादले आर्थिक राहत भने दियो। युट्युबमा उनको यो म्युजिक भिडियो ५ करोड ८० लाख पटक हेरियो।

उनले ‘कुरा बुझ्न पर्छ’ बोलको गीतमा बनाएको भिडियो पनि विवादमा आयो। दुई वर्षकोविचमा यसको भिडियो चार करोड पटक हेरिएको छ।

उनको ‘पिर’ बोलको गीतले त राजनीतिक विवादै निम्त्यायो। सशस्त्र द्धन्द्धमा सहभागी महिला लडाकुको जीवनलाई आधार बनाएर बनेको भिडियोबारे माओवादी कार्यकर्ताले चर्को विरोध गरे। विरोधको कारण उनले महिला लडाकुलाई यौन व्यवसायमा संलग्न भएको दृष्याकंनको शैली थियो।

भिडियोमा 'देहव्यापार गर्न लागेकी महिला'को भूमिकामा अभिनय गरेकी कलाकार केशु पुन मगर (केशरी) आफैँ पनि द्धन्द्धकालमा जनवादी कलाकार थिइन्। गीतले विवाद बढाएपछि सपुतले फेसबुकमा ‘पिर एउटा सिर्जना, गीत र भिडिओको साथसाथै एउटा प्रश्न पनि हो। बेजोड प्रश्न’ भन्दै वचाउँको प्रयास गरे।

माओवादी सशस्त्र द्वन्द्वमा सहभागी भएका नेताहरूको अवस्था अनि लडाकुको वाध्यतालाई उनले भिडियोको कथानक बनाएका थिए। हतियार उठाएर ल्याएको परिवर्तनको बलमा राज्यसत्तामा मोज गरिरहेका नेता अनि दैनिक जीवन चलाउन पनि नसकी बिदेसिन बाध्य लडाकुको कथामा यौन व्यवसाय मिसाउँदा यसले राजनीतिक भन्दा चरित्रगत विवाद बढायो। सपुतले बेजोड प्रश्न भने पनि विवाद धान्न सकेनन् र अन्तमा म्युजिक भिडियोबाट यौन व्यवसायमा लागेको दृश्य सम्पादन गर्न बाध्य भए। युट्युबमा यसको म्युजिक भिडियो ९८ लाख पटक हेरियो।

फेरि ‘सकम्बरी’ बोलको गीतमा महिलाको चरित्र चित्रणमा चुके उनी। महिलाले आफ्नो करिअर अगाडि बढाउन पुरुषसँग देह साट्नुपर्ने भाष्य निर्माणको प्रयास मात्र गरेनन् उनले स्कुटी, कानको झुम्कासम्म कसले किन्दियो भनेर व्यङ्ग्य हुने अवस्था निर्माण गरे। महिला कलाकारलाई अगाडि बढ्न पुरुषसँग देह साट्नुपर्ने भाष्य देखाएपछि उनी आलोचनाको तारोमा परे।

कसले किन्दियो भन्ने शब्द महिलालाई होच्याउने थेगो बन्दा आर्थिक रूपमा भने उनी फाइदामै पुगे। युट्युबमा यो गीत पाँच करोड ३० लाख पटक हेरियो।

‘दमाई महाराज’ होस् या ‘जाले रुमाल फाट्यो’ विवादबाट जोगिन सकेन। दमाई महाराजमा उनले दलित समुदायको सदस्य पढेर धार्मिक प्रवचक बनेको कथा बुनेर भिडियो बनाएका थिए। उनले जातीय छुवाछुत विरुद्ध सिर्जना गरेको दाबी गरे पनि जातीय छुवाछुत विरुद्धको उनको सङ्कीर्ण सोचले यो गीतको आलोचना भएको थियो।

‘जाले रुमाल फाट्यो’ को म्युजिक भिडियोको थिम महिला हिंसा विरोधी थियो। तर उनले विवाद घुसाइहाले। सुरक्षाकर्मीको चरित्रमा रहेकी प्रेमिकाको हिप हेरेको दृश्य मात्र राखेनन् आफ्नै चा..त हो नि’ भन्ने संवाद बोलाए अभिनेत्री स्वस्तिमा खड्कालाई।

गीतको बोल र उनले दिन खोजेको सन्देशमा त्यो दृश्यको कुनै साइनो देखिएन। यसको नियत केवल विवाद निम्त्याउने मात्र देखियो। महिलाको अङ्गलाई आफ्नो अधिकारको रूपमा लिने सङ्कीर्ण पुरुष सोचले निर्माण गरिएको संवाद र दृश्य विवादित हुने पक्का थियो। त्यसमा उनी सफल भए।

उनले पछि दृश्य सम्पादन गरेर भिडियो हाल्दा पनि गीतको म्युजिक भिडियो पूर्ण नै देखियो। विवादसँगै म्युजिक भिडियो चल्ने नै भयो। यो भिडियो एक करोड ५० लाख पटक हेरिएको छ युट्युबमा।

चर्चित अनुहार, ट्याप्प टिपिने लय

उनका अधिकांश गीतको लय सुन्नासाथ दिमाग बसिहाल्ने खालको सरल हुन्छन्। यो उनको सफल पक्ष हो। उनी चुक्दै आएको म्युजिक भिडियो निर्माणकोक्रममा बनाउने कथामै हो। आफ्नो म्युजिक भिडियो उनी आफैंले निर्देशन गर्ने भएकाले उनको यो कमजोरीको मुख्य भागिदार पनि उनी नै हुन्।

गीत अनि त्यसको म्युजिक भिडियो निर्माणमा हुने लगानी उठाउने माध्यम युट्युबको भ्युज अनि गीत चर्चित भएसँगै आउने कार्यक्रमहरूको अफरै हो। उनले खर्च उठाउन म्युजिक भिडियोमा जताततै विज्ञापनको प्रयोग गर्ने गरेका छन्।

म्युजिक भिडियो चलाउन अधिकांश चल्तीका अनुहार भित्र्याउँछन् अनि आफैँ अभिनय पनि गर्छन्। गलबन्दीमा उनले अञ्जली अधिकारीसँगै आफूले पनि अभिनय गरे।

जाले रुमाल फाट्यो मा आँचल र स्वस्तिमा खड्काले अभिनय गरेका छन्। चा..’ तिम्रै त हो भन्ने स्त्रीद्वेशी संवाद महिला अधिकारबारे वकालत गरिरहने अभिनेत्री स्वस्तिमाले नै बोलेकी थिइन्। कुरा बुझ्नुपर्छ को म्युजिक भिडियोमा पनि यी दुवै अभिनेत्रीले अभिनय गरेका थिए।

सकम्बरीमा कुसुम शर्मालाई अभिनय गराए। गीत विवाद र चर्चासँगै कुसुम फुलमायाको रूपमा चर्चामा आइन्। उनका लागि अभिनयको ढोका खुल्यो। पिर मा अभिनेत्री आफूसँगै सुरक्षा पन्तलाई अभिनय गराएका थिए।

२१ मंसिर, २०८०, १७:२१:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।