शंकर अधिकारी ‘घायल’का प्रिय दश सुर : ‘छक्का पञ्जा ४’ निर्माण टिमले हेलाँ गरेको गीत हो ‘सिरुपाते जुँगामा’

शंकर अधिकारी ‘घायल’का प्रिय दश सुर : ‘छक्का पञ्जा ४’ निर्माण टिमले हेलाँ गरेको गीत हो ‘सिरुपाते जुँगामा’

दुई दशकदेखि नेपाली गीतसंगीतमा कलम चलाइरहेका गीतकार हुन् शंकर अधिकारी (घायल)। उनले सिर्जना गरेका अधिकांश गीतहरू नेपाली स्रोता तथा दर्शकमाझ चर्चामा छन्। फिल्म, टेलिफिल्म तथा एल्बमका लागि सयौँ गीतहरू लेखेका उनले आफूलाई मनपर्ने आफ्ना पाँच र अरूका पाँच गीतलाई यसरी बताएका छन्।

आफ्ना पाँच
सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गाला
यो गीत मैले १४ वर्षअघि लेखेको हो। यही गीतले मलाई शंकर अधिकारी घायल भनेर चिनायो। यसअघि पनि थुप्रै गीत लेखे पनि चलेका थिएनन्। गीतको शब्द हल्का नै भएपछि दर्शक स्रोताले अत्यधिक रुचाइदिनुभयो।। बसन्त सापकोटाले संगीत गरेको गीतमा दीपक लिम्बु र माण्डबी त्रिपाठीको स्वर छ। मलाई चिनाएको कारण यो गीत मेरा लागि प्रिय छ।

सिरुपाते जुंगामा दाइने हातको ताउ
‘सिम्पल सिम्पल कान्छीको..’ गीत आएको १४ वर्षपछि मलाई फेरि चर्चामा ल्याउने गीत हो यो। हरेक गीतकारले ‘सिरुपाते जुँगा’ लेखे तर ‘दाहिने हातको ताउ’ लेखेनन्। त्यसलाई मैले समेटेँ। हिट होला भनेर सोचेको पनि थिइनँ। ‘छक्का पञ्जा ४’ फिल्ममा राखिएको यो गीतलाई फिल्मको निर्माण टिमले पनि हेलाँ गर्यो। फिल्मका अरु गीतलाई जस्तो बुस्ट गरिएन। ट्रेलरमा २० सेकेण्डको क्लिप काटेर राखेको भरमा हिट भएको गीत हो यो। यसका शब्द मैले केहीबेरमै लेखेको थिएँ। गीतमा बाबुल गिरीको संगीत र स्वर छ। अर्को कुरा, पहिला यो गीत दुई जनाले गाएका थिए। पछि फिल्मको कन्सेप्टका लागि भनेर केटीले गाएको शब्द हटाइएको हो।

उनभित्र गुन फूल्ने ठाउँ कहाँ होला
‘गणपति’ फिल्ममा समावेश यो गीत पनि टिजरमा २० सेकेण्ड काटेर हालेकै भरमा हिट भएको हो। गीतको शब्दमा मान्छेका मर्म लुकेको छ। भान्सामा काम गर्दा होस् या बाटोमा हिँड्दा बेला–बेला म आफैँ पनि यो गीत गुनगुनाइरहेको हुन्छु। म आफूलाई असाध्यै मनपर्ने गीतमा यो पर्छ।

चाकन चुकुन माया के लाउनु र
यो शब्द प्रदान गीत हो। हामी चानचुने माया भन्छौँ नि, त्यसैलाई मिलाएर ‘चाकन चुकुन माया’ राखेर गीत लेखेको थिए। आफैँले शब्द कोरे पनि यो गीत सुन्दा एकदमै मज्जा लाग्छ मलाई। गीतमा बाबुल गिरी र नित्या शिवाको आवाजमा रेकर्ड भएको छ भने संगीत पनि बाबुलकै छ। गीतको शब्दले प्रेमीप्रेमिकालाई केहि भन्न खोजिएको छ। माया भनेको ठ्याक्कै लगाइन्छ, चानचुन लगाइँदैन भन्ने भाव गीतले बोकेको छ। त्यसकारण पनि यो गीत मेरो लागि प्रिय छ।

वा वा वा...
रेखा थापाको फिल्म ‘उपहार’मा समावेश गीतमार्फत मैले रेखा थापासँग १४ वर्षपछि सहकार्य गरेको हो। हरेक मान्छेको मुखमा झुण्डिएको शब्दलाई मैले गीत बनाएको हुन्छु। यो गीत रिलिज हुने बितिक्कै एकदमै रुचाइएको थियो। अहिले पनि यो गीत विभिन्न पाटी तथा बिहे भोजमा बजेको सुन्छु। दर्शक स्रोताले मन पराएको गीत हुनाले पनि मलाई यो गीत राम्रो लागेको हो। शब्द एकदमै सरल छन् गीतका। एलिना चौहान र बाबुल गिरीले गाएको गीतमा बाबुलकै संगीत छ।

अरुका पाँच
एक धर्को सिन्दुर के हो र
सुरेश अधिकारीको शब्द, संगीत र स्वरमा रहेको यो गीतमा उहाँले शब्दलाई असाध्यै मिठासपूर्ण तरिकाले खेलाउनुभएको छ। गहकिला शब्दहरूमा यथार्थपरक गीत लाग्छ मलाई यो। यो गीत सुन्दा मन चसक्क हुन्छ। धेरै पटक भावुक बनाएको छ यो गीतले मलाई। मान्छेलाई भन्दा रुन्चे रहेछ भन्लान् तर गीत गहिरिएर सुन्दा छुन्छ क्या।

यो सम्झिने मन छ, म बिर्सु कसरी
म गीतकार हुनुभन्दा अघि धेरैपटक सुनेको गीत हो यो। यो गीत सुनेर नै मैले शब्द कोर्ने सुरू गरेको भन्दा फरक नपर्ला। नारायण गोपालले गाउनुभएको यो गीतलाई दिनेश अधिकारीले लेख्नुभएको हो। यो गीतलाई नारायण गोपालले नै संगीत भर्नुभएको छ। प्रेमिकाको यादमा तड्पिएको भावमा गीत लेखिएको हो। गाउँमा गोठालो जाँदा होस् या स्कुलमा यो गीत खुब गुनगुनाउँथे म। यो गीत कतै बज्दा मलाई बाल्यकालको झल्को आउँछ।

आज बाह्रहाते पटुकीको कुरा गर मायालु
आफ्नो मौलिक पहिचानको कुरा गर्न सिकाएको गीत हो यो। गीतले बाह्र हाते पटुकीको कुरा गर्न आग्रह गरेको छ। ‘बाह्रहाते पटुकी’ बोलको गीतमा पटुकी नलगाएको भनेर गीतको भिडियोका कारण झरना थापा विवादमा समेत पर्नुभएको थियो। यो शब्द प्रदान गीत हो। यसका शब्दले नाच्न प्रेरित गर्छ। त्यो समयमा नेपाली दर्शक स्रोतामाझ एकछत्र राज गरेको गीत हो यो। साधना सरगमको स्वरमा रहेको गीतमा सुरेश अधिकारीको शब्द तथा संगीत छ।

मैले हार्दा तिमी नै जित्छौ भने...
बजारमा आएका गीतमध्ये कति गीतले कसलाई छुन्छ थाहा हुँदैन। तर यो गीतले भने मलाई छोएको थियो। अहिले पनि बेला–बेलामा गुन्गुनाउँछु। यसको शब्द, संगीत र स्वर एकदम म्याच गरेको छ। गीतको भावले मैले हार्दा तिमीले जित्छौ भने ठिकै छ म हार्न तयार छु भन्न खोजेको छ। जति सुने पनि सुनिरहुँ जस्तो लाग्छ यो गीत। हुन त यो गीत सत्य घटनामा आधारित हो भन्ने गरिन्छ। अन्जु पन्तले गाउनुभएको गीतमा लय संग्रौलाको शब्द र चेतन सापकोटाको संगीत छ।

२१ मंसिर, २०८०, १२:१४:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।