स्मृति दिवसमा नारायण गोपाल र रानी ऐश्वर्यको सम्बन्धको चर्चा

स्मृति दिवसमा नारायण गोपाल र रानी ऐश्वर्यको सम्बन्धको चर्चा

काठमाडौं : स्वर्गाीय नारायण गोपाल गरुवाचार्यको ३३औं स्मृति दिवसका अवसरमा काठमाडौंको नाचघरमा भव्य कार्यक्रम भयो।

नारायणगोपाल सङ्गीत कोष र सांस्कृतिक संस्थानको आयोजनामा भएको कार्यक्रममा स्वर किन्नरी तारादेवी (मरणोप्रान्त) र सङ्गीतकार गणेश रसिकलाई ‘नारायणगोपाल स्मृति सम्मान एवं विशेष पुरस्कार’ प्रदान गरिएको हो।

दिवंगत तारादेवीलाई प्रदान गरिएको सम्मान तथा पुरस्कार तारादेवी स्मृति प्रतिष्ठानका उपाध्यक्ष भुवन चन्दले ग्रहण गरिन्।

वाङ्मय तथा साहित्यकार गणेश रसिकले नारायण गोपालको आचरण, व्यवहार र उनीसँगको सम्झना कार्यक्रममा सुनाए।

‘नारायण गोपालसँगको केहि बाहेक सबै जना गइसक्नुभयो,’ उनले सम्झँदै भने, ‘सायद मदन लामा एकजना हुनुहुन्छ होला। अरु सबै स्वर्गीय भइसक्नुभयो।’

नारायण गोपालसँग एक दशकभन्दा लामो समय बिताएका रसिकले नारायण गोपाललाई देख्नेबित्तिकै मान्छेहरू डराउने गरेको बताए। उनका आनीबानी र स्वभाव सबै रसिकलाई थाहा थियो।

उनले थपे, ‘नारायण दाइ हेर्दा अरमठ्ठे मान्छे, छेउमा कोही जो कोही पनि डराउथेँ।’

रानीसँगको सम्बन्ध के हो?
रसिकले तत्कालीन रानी ऐश्वर्यसँग नारायण गोपालको सम्बन्धको विषयमा समेत स्पष्ट पारे।

उनले नारायण गोपाल र रानी ऐश्वर्यबीचको प्रेमको चर्चा, हल्ला मात्र भएको बताए। मान्छेहरूले नारायण गोपाल र रानी ऐश्वर्यको जीवनमा दाग लगाउन त्यस्तो हल्ला फिजाएको उनले तर्क गरे।

उनले भने, ‘रानी ऐश्वर्यसित नारायण दाइको प्रेम थियो भन्ने कुरा गर्छन् मान्छेहरू। त्यसलाई भाइरल पनि बनाए। यो सरासर गलत हो।’

नारायण गोपालसँग दाजुभाइजस्तो भएर काम गरेको बताउँदै उनले महिलाप्रति केन्द्रीत भएर काम नगरेको उनले सुनाए।

‘मैले १२/१५ वर्ष नाचघरमा सँगै काम गरेँ उहाँसँग। मन पराउने लाखौँ स्रोता थिए। त्यसमध्ये आधा त महिलाहरू नै थिए होला। उहाँ गीत गर्नुपर्छ प्रेम होइन भन्ने खाल्को हुनुहुन्थ्यो। कुनै केटीले नारायण दाइलाई भेट्न गेटमा आएको मैले देखिनँ।’

राष्ट्रिय नाचघरमा नारायण गोपाललाई जीएम बनाएपछिको कुरासमेत उनले सम्झिए।

उनले थपे, ‘उहाँसँग काम गर्दागर्दै उहाँ मेरो हाकिम हुनुभयो। म उहाँको कारिन्दा भएर पनि बसे। हेर्दा बाहिरबाट ओखर जस्तो मान्छे, चाम्रो। तर, भित्र एकदमै कमलो।’

मंसिर २०, २०८० बुधबार ११:२३:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।