फिल्म ‘हिटम्यान’को पोस्टर उघार्दा दंग पर्दै चुप्पा खाएकी आँचल टिजर हेरेर हिस्स परिन्

फिल्म ‘हिटम्यान’को पोस्टर उघार्दा दंग पर्दै चुप्पा खाएकी आँचल टिजर हेरेर हिस्स परिन्

काठमाडौँ : साउथ इन्डियन हिरो अल्लु अर्जुन, महेश बाबु लगायत दर्जनौँ कलाकारको साथी हुँ भन्दै बेलाबेलामा नेपाली, हिन्दी फिल्म बनाउँछु भन्ने व्यक्ति हुन् विष्णु अधिकारी।

उनले केही वर्ष अघि साउथ फिल्म ‘एक’निर्माण गरेका थिए। त्यो फिल्म कहिले रिलिज भो कहिले उत्रियो दर्शकले चालै पाएनन्।

उनले २ वर्ष अघि सोल्टी होटेलमा पत्रकार सम्मेलन गरेर नेपाली हिन्दी र अरेबियन भाषामा त्यहीँको माटो सुहाउँदो फिल्म भन्दै ‘हिटम्यान’को घोषणा गरेका थिए।

फिल्मका लागि नेपाली अभिनेत्री स्वस्तिमा खड्कालाई अनुबन्ध गरिने कुरा पनि चल्यो। तर, स्वस्तिमा चलाख। उनले यो फिल्ममा काम गरिनन्। निर्माण टिमले फेरि अर्की अभिनेत्री आँचल शर्मालाई अनुबन्ध गर्यो।

हिन्दी र नेपाली लगायत  भाषामा बन्न लागेको फिल्म भनेपछि उनी लोभिइन्। अनुबन्ध पनि भइन्। फिल्मको सुटिङ पनि भयो। फिल्मलाई नेपालकै पोखरा, काठमाडौँ र अन्य केही देशमा खिचिएको निर्माण टिमले जानकारी दियो।

आइतबार छायाँ सेन्टरको हलमा यही फिल्मको टिजर रिलिज कार्यक्रम राखिएको थियो। कार्यक्रममा अभिनेत्री आँचल, प्रशान्त ताम्राकार र फिल्मका मुख्य नायक तथा निर्देशक विष्णु अधिकारी उपस्थित थिए। फिल्मको टिजर रिलिज हुनुभन्दा अघि फिल्मको पोस्टरलाई रातो पर्दाले ढाकिएको थियो। उक्त पोस्टरलाई अभिनेत्री आँचल र विष्णु सहितको टिमले पर्दा हटाए।

पर्दा हटाउँदा आँचल र विष्णु देखिए। पोस्टरमा आफू देखिएपछि अभिनेत्री शर्मा निकै उत्साहित देखिइन्। उनले फिल्मको पोस्टरमा रहेको आफ्नो फोटोलाई चुम्पा समेत गरिन्। उनको उत्साह बेग्लै थियो।

उद्घोषकले आँचलको तारिफमै केही मिनेट खर्चिए पनि। आफ्नो तारिफ सुनेर मक्ख परेकी आँचल फिल्मको टिजर रिलिजपछि भने खासै बोल्ने मुडमा देखिइनन्। टिजरमा आफू कहिँकतै नदेखिएपछि भावुक बनिन्।

टिजर रिलिजअघि उत्साहित बनेकी आँचलको अनुहार एकाएक अँध्यारो देखियो। टिजरमा आँचल नदेखिएपछि निर्माण टिमका तर्फबाट अभिनेता तथा निर्देशक अधिकारीले टिजरमा आँचललाई नदेखाइको र ट्रेलरमा राखिएको बताए।

आँचलको क्यारेक्टर लुकाइएको र 'उहाँको अनुहारलाई साउथ इन्डियन फिल्म मेकरले समेत खोज्न थालेको' भन्दै आँचलको तारिफ गर्न थाले।

उनले भारतमा एक महिनापछि फिल्मको ट्रेलर रिलिज कार्यक्रम हुने अनि आँचल र प्रशान्तलाई लैजाने भन्दै हौस्याउन खोजे।

टिजरमा आफू नभएपछि निराश बनेकी आँचललाई उपस्थित पत्रकारले तपाईँलाई यो फिल्म चल्छ जस्तो लाग्छ भनेर प्रश्न गरेपछि आँचललाई आपत् पर्यो। उनले यो प्रश्न आफूलाई भन्दा पनि फिल्म मेकरलाई सोध्नुपर्ने तर्क गरिन्।

उनले यस्तो प्रश्न आउला भनेर आफूले सोच्दै नसोचेको र प्रश्नको उत्तर दिन गाह्रो भएको बताइन्।

उनले भनिन्,‘ओहो बडो गाह्रो प्रश्न गर्नुभयो। म उहाँहरूसँग नै छु। यो प्रश्न चाहिँ मेन मान्छेलाई नसोधीकन मलाई सोध्नुभयो। म प्रिपियर नै थिइनँ कि यस्तो प्रश्न आउँला भनेर।’

आँचलले फिल्म बनाउँछु भनेर लागे पनि कहिलेकाहीँ रिलिज नहुने गरेको जस्तो घुमाउरो पारामा उत्तर दिइन।

उनले भनिन्,‘तर विश्वास भनेको कस्तो चिज हुँदो रहेछ भने हामीलाई कसैले स्क्रिप्ट लिएर आउनुहुन्छ, उहाँहरूले आफ्नो मुभी यस्तो बनाउँछु उस्तो बनाउँछु भन्नुहुन्छ। कहिले राम्रो हुन्छ,कहिले नराम्रो हुन्छ। कहिले भनेको जस्तो होला,कहिले नहोला। आँचल तिमीलाई यस्तो देखाउँछन्,तिमीलाई उस्तो देखाउँछौँ भन्ने धेरै हुन्छ। यो चलिरहने प्रोसेस हो।’

उनको भनाइले फिल्ममा उनको खासै रोल नभएको सङ्केत गरिसकेको थियो। यो फिल्म घोषणा भएको  पनि करिब २ वर्ष भइसकेको छ। आँचलले बोलिरहेको बेला माइक तान्दै निर्देशक विष्णु अधिकारीले साउथ फिल्म ‘अल्लु अर्जन’,‘आरआर’बन्न चार वर्ष लागेको भन्दै प्रश्नको जवाफबाट तर्किन खोजेका थिए।

उनका अनुसार यो फिल्म फ्रेब्रुअरीमा नेपाल, भारत, अरब लगायत अन्य देशमा गरी १ हजार स्क्रिनमा रिलिज हुनेछ। तर उनको दाबी पत्यार लाग्दो थिएन।

मंसिर १७, २०८० आइतबार २२:०७:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।