एनसेलको शंकास्पद शेयर विक्रीमा लेखा समितिको चासो, तीन निकायलाई पठायो पत्र

एनसेलको शंकास्पद शेयर विक्रीमा लेखा समितिको चासो, तीन निकायलाई पठायो पत्र

काठमाडौँ : अत्यन्त कम मूल्यमा एनसेलको ८० प्रतिशत शेयर विक्री भएकोबारे संसद्को सार्वजनिक लेखा समितिले तीन निकायलाई आधा दर्शन प्रश्न सोध्दै पत्र पठाएको छ।

आइतबार लेखा समितिले आन्तरिक छलफल गर्दै नेपाल दूरसञ्चार प्राधिकरण, आन्तरिक राजस्व विभाग र कम्पनी रजिस्ट्रारको कार्यालयलाई पत्र पठाएको हो।

मलेसियाको आजियाटाले एनसेलमा रहेको ८० प्रतिशत शेयर बेलायतको स्पेक्ट्रलाइट युके लिमिटेडलाई जम्मा ५ करोड अमेरिकी डलरमा विक्री गरेको सार्वजनिक गरेको थियो।

स्पेक्ट्रलाइट कम्पनी दुई महिना अगाडि जम्मा एक अमेरिकी डलरमा दर्ता भएको र एनसेलको २० प्रतिशत लगानी रहेको स्थानीय लगानीकर्ता सुनिभेरा क्यापिटल भेञ्चर्सका सञ्चालक सतिशलाल आचार्यकै कम्पनी हो।

सुनिभेरा भने उनको श्रीमतीको नाममा रहेको छ। सतिशलाल स्मार्ट सेलसँग पनि जोडिएका छन् जसले सरकारी बक्यौता नेपाली बैङ्कहरूको अर्बौँ रकम तिरेको छैन। ट्याक्स हेवन देशमा कम्पनी खोल्दै शंकास्पद कारोबारमा सतिशलाल पहिल्यैदेखि जोडिँदै आएका छन्।

एनसेलको ८० प्रतिशत सेयरको मूल्याङ्कन नै अस्वाभाविक देखिएपछि विभिन्न शङ्का उठिरहेकै छन्। त्यसमा पनि नेपालको नियामक निकायलाई शेयर विक्रीबारे कुनै जानकारी नभएको पुष्टि भइसकेको छ।

यही बिच लेखाले पठाएको पत्र पठाएको हो। पत्रमा शेयर खरिद–बिक्रीको आधिकारिक जानकारी नेपालको सम्बन्धित निकायलाई भए/नभएको, शेयरको हक हस्तान्तरण गर्दा नेपालको कानुनी व्यवस्था परिपालना भएको वा नभएको, सम्बन्धित देशको कानुन पालना गर्नु पर्ने कि नपर्ने?, शेयर स्वामित्व परिवर्तन हुँदा तिर्नुपर्ने दायित्व के-कति हो?, ठुला करदाता कार्यालयले समग्र पक्षको परीक्षण गरे/नगरेको भन्दै पत्र पठाएको हो।

मंसिर १७, २०८० आइतबार १९:२२:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।