एक खर्ब ४३ अर्बमा किनेको एनसेलको सेयर जम्मा ६ अर्बमा विक्री गर्‍यो अजियाटाले!

एक खर्ब ४३ अर्बमा किनेको एनसेलको सेयर जम्मा ६ अर्बमा विक्री गर्‍यो अजियाटाले!

काठमाडौँ : एनसेलको माउ कम्पनी आजियाटाको नाममा रहेको एनसेलको ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट युके लिमिटेडलाई किनेको छ। अजियाटाले एनसेलबाट बाहिरिने घोषणा गरे लगत्तै सेयर विक्री गरेको सार्वजनिक गरेको हो।

स्पेक्ट्रलाइट युके लिमिटेडले एनसेलमा रहेको उसको ८० प्रतिशत सेयर ५ करोड अमेरिकी डलर ( करिब ६ अर्ब ६५ करोड नेपाली रुपैंया) मा किनेको दाबी सार्वजनिक भएको छ।

सन् २०१६ मा आजियाटाले १ खर्ब ४३ अर्ब रुपैंयामा एनसेलको ८० प्रतिशत सेयर स्वामित्व किनेको थियो। सात वर्षमै उसले जम्मा ६ अर्बमा आफ्नो ८० प्रतिशत स्वामित्व विक्री गरेको जानकारी सार्वजनिक गरेको छ।

विज्ञप्तीमा उसले बिनाशर्त सेयर विक्री गरेको उल्लेख गर्दै नेपाल छाड्नुको कारणमा अनुचित कर र नियामक अनिश्चिततालाई उल्लेख गरेको छ। 

'दोहोरो कर, सन् २०२९ मा कम्पनीको मोबाइल इजाजतपत्रको म्याद समाप्त हुने अतिरिक्त जोखिम, नेपाल सरकारद्वारा एक्जिएटाको हिस्सेदारी हडप्ने सम्भावना र नेपालमा विदेशी लगानी संरक्षणको प्रतिकूल वातावरणलाई ध्यानमा राख्दै' एनसेलमा रहेको आफ्नो स्वामित्वको सेयर विक्री गरेको उल्लेख गरेको छ।

एनसेलको ८० प्रतिशत सेयर किन्ने स्पेक्ट्रलाइटका सञ्चालक सतीशलाल आचार्य यसको पुरानै साझेदार हुन्। एनसेलमा यसको २० प्रतिशत सेयर स्वामित्व आचार्यको सुनिभेरा क्यापिटल भेन्चर प्रालिको नाममा रहेको छ।

सार्वजनिक भएको सेयर सम्झौता अनुसार सन् २०२९ सम्म एनसेलले पाउने लाभांश आजियाटाले नै पाउनेगरी खरिद बिक्री सम्झौतामा भएको छ।

खरिदकर्ता कम्पनीले ६ महिनाको अवधिमा ५० लाख अमेरिकी डलर आजियाटाले प्राप्त गर्ने र बाकी रकम चार वर्षभित्र तिर्नुपर्ने सम्झौतामा उल्लेख छ।

लाइसेन्स अवधिबारे नेपाली कानुनका कारण अजियाटा नेपालबाट बाहिरिएको विश्लेषण हुँदै आएको छ। खरिद मूल्यले यसलाई थप बल भने दिएको छ।

दूरसञ्चार ऐन २०५३ ले दूरसञ्चार सेवा सञ्चालनको २५ वर्षपछि उक्त कम्पनी सरकार मातहत आउने व्यवस्था छ। ऐन अनुसार एनसेल कम्पनी अबको ६ वर्षमा सरकारी स्वामित्वमा आउने थियो। नेपाली साझेदारसँग सत् प्रतिशत सेयर भएपछि अब सन् २९ पछि पनि कम्पनी निजी नै रहनेछ।

आजियाटाले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार सन् २०२३ को ९ महिनाको अवधिमा २८ अर्ब २७ करोड रुपैंयाको कारोबार भएको थियो। अघिल्लो वर्षको सोही महिनामा कम्पनीले ३० अर्ब १९ करोडको कारोबार गरेको थियो।

मंसिर १५, २०८० शुक्रबार १९:५९:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।