दीपक शर्माको प्रिय दश सुर : जेबी टुहुरेको गीत सुनेर रोएको छु, अहिले सुन्दा पनि भक्कानो फुटेर आउँछ

दीपक शर्माको प्रिय दश सुर : जेबी टुहुरेको गीत सुनेर रोएको छु, अहिले सुन्दा पनि भक्कानो फुटेर आउँछ

दुई दशक यता नेपाली गीतसंगीतमा सक्रिय संगीतकार हुन् दीपक शर्मा। उनले लेखेको र संगीत भरेका २० वटाभन्दा बढी गीत युट्युबमा करोड क्लबमा छन्। उकेराको ‘दश सुर’मा उनले आफ्ना पाँच र अरूका पाँच गीत मनपर्नुका कारण खुलाएका छन्।

आफ्ना गीत
देखन चम्पा
फरक र पश्चिमेली लवजको गीत आफैँमा पनि विशेष लाग्छ। यो गीत चलचित्र ‘छक्का पञ्जा’मा समावेश गीत हो। ‘छक्का पञ्जा’ आफैँमा पनि हिट फिल्म थियो। त्यो फिल्मभित्र एउटा सुदूरपश्चिमको लवजलाई उठाएर बनाइएको फिल्म हो।

कल्चरल लवजमा बनेको यो गीत पूरै लोकगीत भन्दा पनि अलिकति मोर्डन र पप बेशमा बसेर बनाइएको छ। सुदुरपश्चिममा चलेका गीतहरूभन्दा फरक बिटमा यो गीत निर्माण गरेको थिएँ मैले, जसलाई दर्शकश्रोतले पनि रुचाइदिनुभयो।

गीत राम्रो बन्नुमा गीतका शब्द र मेलोडी पनि फरक छ। यो गीतमा शान्ति प्रियको शब्द, मेरो संगीत एवं कृष्ण काफ्ले र दीपाश्री निरौलाको स्वर छ।

छुट्टिएर तिमीसँग बाँच्न सक्ने भए
यो गीतमा मेरो आफ्नै शब्द संगीत र गायक प्रमोद खरेलको स्वर रहेको छ। मेलोडीका कारण मलाई योग गीत विशेष लाग्छ। प्रेमीप्रेमिकाका लागि समर्पित गीत हो यो। यस गीतका शब्द धेरैजसोको जीवनमा मेल खान्छ जस्तो लाग्छ। धेरै श्रोताले मन पराएको यो गीत सीआरबीटी र पीआरबीटीमा अध्यधिक रुचाइएको थियो। मलाई चिनाउने गीत पनि यहि भएकाल पनि मनपर्छ।

पर्ख-पर्ख मायालु 
यो नेपाली गीत संगीतलाई उचाइमा पुर्याउन सफल गीत हो। विदेशी गीतलाई विस्थापित गर्दै मेला, पर्व, पार्टी जताजतै बजेकाले पनि मलाई यो गीत विशेष लाग्छ। यो गीतको शब्द, संगीत र स्वर असाध्यै सरल छन्। यो गीत मैले फिल्मको लागि भनेर बनाएको थिइन। तर ‘मंगलम्’ फिल्मका साथीहरूले मन पराउनुभो अनि दिएँ। गीत कृष्ण काफ्ले र विन्दु परियारले गाउनुभएको छ।

जदौ माया
आफ्नो यो गीत किन विशेष लाग्छ भने नेपालीपन छ, नेपाली माटो छ, नेपाली सुगन्ध छ। यो गीतको लेखकीय भूमिका असाध्यै उत्कृष्ट लाग्छ मलाई। आनन्द अधिकारीले लेख्नुभएको गीतमा संगीत गर्न मलाई एउटा चुनौती भएको थियो।

रामकृष्ण ढकालको एल्बममा राख्नका लागि गीत तयार पारिएको थियो। विभिन्न कारणले एल्बमको काम ढिला हुनपुग्यो। त्यसपछि फिल्म ‘हिजो आजका कुरा’को टिमले सुन्नुभयो र असाध्यै रुचाउनुभयो।

हामीले पनि उहाँहरूको प्रस्ताव स्वीकार गरिसकेपछि रामकृष्ण ढकालको एकलौटी आवाजको गीतलाई चाहि मेलिना राईको पनि आवाज हालेर डबल बनाइयो। यहि गीत स्रोतामाझ एकदमै लोकप्रिय बन्यो। यो गीतको संगीत गर्न पाउँदा म आफैँलाई गर्व लाग्छ।

दर्शन सलाम
दर्शन सलाम गीतलाई अन्यन्त चलाखीपूर्ण तरिकाले कम्पोज गरेको छु मैले। गीतकार राजेन्द्र थापाको शब्द रचना नै एकदमै बलियो र उत्कृष्ट छ। यसमा गायक डेबिड शंकर र गायिका महिमा श्रेष्ठले त्यतिकै बान्कीले गाइदिनुभएको छ।

फिल्म ‘छक्का पञ्जा ४’मा समावेश यो गीतको मेलोडी पनि सुन्दर छ। अर्को कुरा स्रोताहरूले अत्यधिक मन पराइदिनुभयो। अहिले मेला महोत्सव र पाटीहरूमा पनि बजेको सुन्छु। म आफैँ पनि यो गीत बेला–बेलामा गुनगुनाइरहेको हुन्छु। त्यसकारण पनि यो गीत मेरो लागि प्रिय छ।

अरूका पाँच 
पर लैजाऊ फूलहरू 
मलाई यो गीत सुन्दा एकदमै आनन्द लाग्छ। यो गीतको जस्तो शब्द र संगीतको संयोजन विरलै गीतमा मात्र पाइन्छ। प्रेमिकाको सम्झनामा बसेको प्रेमीको अगाडि अमूल्य चिजहरू पनि मूल्यहीन हुन्छन् भन्ने भाव गीतले बोकेको छ।

म बेलाबखत गुनगुनाइरहन्छु यो गीत। मैले हार्मोनियम र पियानो बजार धेरै गाएको गीत नै यहि हो। जति सुने यो गीतको धित मर्दैन। आजका दिनमा पनि उतिकै सुन्छु। प्रेमध्वज प्रधानले गाउनुभएको गीतमा नातिकाजीको संगीत र राजेन्द्र थापाको शब्द रचना छ।

ठूला-ठूला महल होइन
मेरो मन मस्तिस्कमा बसेको गीत हो यो। नेपाली भाव र पहिचान बुझेर देशप्रतिको सद्भाव, माया र लगाव यो गीतमा पाउँछु मैले। यो गीत सुन्दा मेडिटेसन गरेको जस्तो लाग्छ मलाई। गीतले मभित्रको मको वास्तविक रुप देखाउँछ अनि यो गीतको शब्द, संगीत र स्वरको तालमेल असाध्यै अद्भुत छ। यस गीतको भिडियो पनि हेरेको थिएँ। एकदमै राम्रो लागेको थियो। यो गीतको सर्जक गायक कणदास हुन्।

बनेको छ पहराले यो छाति मेरो
कालापानीको युद्ध, इष्ट इण्डियाको लडाईँ, त्यसपछि आजसम्मको इतिहास अनि नेपालको बहादुरीको प्रतिबिम्व भन्छु म यो गीतलाई। ‘खोसेको रोटीले मेरो पेट भरिन्न, मागेको धोतीले मेरो लाज छोपिन्न’, यी शब्दले सबै कुरा हामी आफैँले गर्नुपर्छ, नेपाली कसैको दास बन्दैन भन्ने कुरा आम नेपालीलाई भनेको छ। साथै हामी कसैको अधिनमा रहदैनौँ भन्ने भाव बोकेको गीत हो।

यो गीत सुन्दा ‘म संगीतकार भन्दा पहिला नेपाली हुँ’ भन्ने भाव जाग्छ। गीतले नेपालीलाई पुर्खाको सान बचाउन सक्नुपर्दछ भन्ने सन्देश दिएको छ। गीतको शब्द, संगीत र स्वर एकदमै कर्णप्रिय छ। गीतलाई गोपाल योञ्जनले गाउनुभएको हो भने शब्द संगीत पनि उहाँले नै गर्नुभएको छ।

आमा दिदी बैनी हो
जेबी टुहुरे दाइले गाउनुभएको यो गीतको श्रष्टा म भइदिएको भए हुन्थ्यो भन्ने डाह लाग्छ। मलाई यो गीतको शब्द अनि संगीतको लोभ लाग्छ। यो गीत जतिबेला म सुन्छु, भक्कानिएर रुन्छु।

आजको दिनसम्म सयौंपटक सुनेको हुँला, त्यति नै पटक भावुक बनेको छु। यो गीत सुन्दा मेरो दिदीबैनी सम्झन्छु, मेरी आमा सम्झन्छु अनि सम्पूर्ण नारी जातिलाई सम्झन्छु। यो गीत सुन्दा पृथ्वी सम्झन्छु किनभने यत्रो भार थामेको छ। पृथ्वी नै नारी जाती हो भनेर सम्झन्छु म।

नारी जाति संसारमा नै अपहेलित भइरहेको छ, छुटपुट एक दुई वटा देश बाहेक। यो गीतलाई हरेक भाषामा अनुवाद गरेर सारा संसार पुर्याउनुपर्छ। महिलालाई पृथ्वीसँग तुलना साँच्चिकै महिला एक पृथ्वी समान भएर पनि अनेक दुःख कष्ट सहेर पनि त्यो दुःख कष्टको पृथ्वी तत्वको आभास नपाएको यो गीतले दिन्छ।

एउटा महिलालाई पृथ्वी तत्व भएर पनि त्यसको भ्यालु नपाएको, भ्यालु नदिएको आभास यो गीतले प्रतिबिम्वित गरेको हुनाले पनि यो गीत सुन्दा म भावुक हुन्छु।

देखेर तिमीलाई हेरेर तिमीलाई 
यो गीत मलाई किन पनि स्पेशल लाग्छ भने शब्द चयन एकदमै राम्रो छ। गीतमा प्रेमलाई एकदमै उत्कृष्ट शैलीमा व्यक्त गरिएको छ। यो गीतको शब्द संगीत र गायनको तालमेल असाध्यै राम्रो छ। गीतिनाटक जस्तो भावमा पनि छ यो गीत।

अहिले जसरी गीतहरूको ट्रयाकमा आइरहेका छन्। त्यो भन्दा फरक तरिकाले हेर्दै सुन्दै फिल गर्न सकिन्छ भन्ने गतिलो सन्देश पनि गीतले दिएको छ। आफैँमा पनि शब्द संगीत र एउटा स्वरको संरचना पनि उत्कृष्ट छ।

गीतमा विद्या तिवारी र सुजन चापागाईँको स्वर छ भने शब्द हर्क साउदको छ। संगीत पनि सुजन चापागाईँले नै गर्नुभएको छ। सबै कुरामा उत्कष्ट भएको भएर पनि यो गीत मलाई मन परेको हो।

१५ मंसिर, २०८०, १२:३०:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।