लगानी सम्मेलनको तयारीमा रहेको सरकारलाई झड्का, एनसेलको माउ कम्पनी आजियाटा बाहिरिने

लगानी सम्मेलनको तयारीमा रहेको सरकारलाई झड्का, एनसेलको माउ कम्पनी आजियाटा बाहिरिने

काठमाडौँ : सरकार नेपालमा वैदेशिक लगानी आकर्षित गर्न लगानी सम्मेलनको तयारीमा छ। तर यहीबिच नेपामामा दूरसञ्चारमा लगानी गरिरहेको एनसेलको माउ कम्पनी आजियाटा नै नेपालबाट बाहिरिने भएको छ। सरकारले आगामी वैशाखमा नेपालमा लगानी सम्मेलनको तयारी गरिरहेको छ।

उसले नेपालमा व्यावसायिक वातावरण चुनौतीपूर्ण भएको भन्दै नेपालबाट बाहिरिने निर्णय सार्वजनिक गरेको छ। एनसेलमा अजियाटाको ८० प्रतिशत लगानी रहेको छ। अजियाटा नेपाल भित्रिए लगत्तै कर छलीको विवादमा पर्दा एनसेल बहिष्कारसम्मको अभियान चलेको थियो।

‘यो वर्ष महत्त्वपूर्ण समष्टि आर्थिक चुनौतीहरूबिच समूहले आफ्नो मूल्य सिर्जनाको यात्रालाई निरन्तरता दिइरहेको छ। हामी हाम्रो रणनीतिलाई अनुकूल गर्ने, हाम्रो लगानी पोर्टफोलियोलाई परिष्कृत गर्ने र समूहलाई स्थान दिन सही रणनीतिक साझेदारीको खोजी गर्न केन्द्रित छौँ’ एनसेलले भनेको छ।

एनसेलको पछिल्लो समय आम्दानी घट्दै गएको थियो। पछिल्लो समय भोइस प्याकका प्रयोग गर्नेक्रम घटे पनि इन्टरनेट डेटाको प्रयोगकर्ता बढेका थिए। तर सो अनुरूप एनसेलको आम्दानी बढेको देखिएन।

६ वर्षमा एनसेल आजियाटाको आम्दानी २२ अर्बले घटेको देखिन्छ। आर्थिक वर्ष २०७४-७५ देखि २०७९-८० सम्म एनसेलको आम्दानीमा २२ अर्बको गिरावट आएको देखिन्छ। त्यस्तै २०७४-७५ मा एनसेलको आम्दानी ५९ अर्ब ६९ करोड रुपैयाँ थियो।

त्यसपछि कम्पनीको आम्दानीमा निरन्तर घट्यो। तथ्यांकअनुसार २०७५-७६ मा एनसेलको आम्दानी ५५ अर्ब २८ करोड, २०७६-७७ मा ४६ अर्ब ७७ करोड, २०७७-७८ मा ४० अर्ब २२ करोड, २०७८-७९ मा ३९ अर्ब ५१ करोड र २०७९-८० मा आउँदा ३७ अर्ब ४४ करोड रुपैयाँमा सीमित भएको नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्कले देखाउँछ।

एनसेलमा आजियाटा ग्रुप बर्हाडको ८० प्रतिशत सेयर स्वामित्व छ। २० प्रतिशत सेयर स्थानीय साझेदार सुनिभेरा क्यापिटल भेन्चर प्रालिको छ। २०७२ चैत ३० मा आजियाटा समूह एनसेलको ८० प्रतिशत सेयर किनेर प्रवेश गरेको थियो। 

मंसिर १३, २०८० बुधबार १६:२६:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।