प्रधानमन्त्री प्रचण्डसँग गृह मन्त्रालय डिल गरेर मधेस झरेका थिए रवि, नारायणकाजी असहमत

प्रधानमन्त्री प्रचण्डसँग गृह मन्त्रालय डिल गरेर मधेस झरेका थिए रवि, नारायणकाजी असहमत

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पार्टीको कार्यक्रममा मधेस झर्नु अगाडि प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग ' ब्रेकफास्ट मिटिङ'मा सहभागी भए।

सभापति रविकै आग्रहमा ब्रेकफास्ट मिटिङ तय भएको थियो। दुवै नेताबीचको छलफलमा मन्त्रीपरिषद् पुनर्गठन र सरकारमा रास्वपाको सहभागिताबारे छलफल भएको थियो।

बैठकको छलफलबारे जानकारस्रोतका अनुसार रविले पहिला नेपाली कांग्रेससँगको सहकार्य छाडेर एमालेसहितको सरकार बनाउन आग्रह गरेका थिए। त्यसका लागि एमाले अध्यक्ष केपी ओलीसँग कुरा गर्ने जिम्मा आफ्नो भएको उनले बताए।

'एमालेसँग मिलेर सरकार चलाऔँ। केपी ओलीलाई मनाउने जिम्मा मेरो' बैठकमा रविको भनाई उद्धृत गर्दै स्रोतले उकेरालाई भन्यो।

उनले माओवादी, एमाले, रास्वपा मिलेमा राप्रपासहित अन्य साना दलले पनि समर्थन गर्ने भन्दै त्यसको जिम्मा आफूलाई दिन आग्रह गरे। कांग्रेससँग गठबन्धन तोड्ने प्रस्तावमा प्रचण्ड सकारात्मक भएनन्। उनले यही गठबन्धनलाई अगाडि बढाउने बरु रास्वपा सरकारमा आउन तयार हो भने मन्त्रीपरिषद् पुनर्गठनका लागि आफू तयार भएको बताएका थिए।'नयाँ गठबन्धनमा नजाउँ। सरकार बनेको एक वर्ष पनि पुग्न लाग्यो। म मन्त्रिपरिषद् पुनर्गठन गर्दैछु। तपाई आउने हो भने गृह मन्त्रालयको नेतृत्वसहित आए हुन्छ' रविलाई प्रधानमन्त्रीले गरेको प्रस्ताव उदृतगर्दै स्रोतले भन्यो।

रविले उपनिर्वाचन जितेर आएपछि गृहमन्त्रीसहित सरकारमा प्रतिनिधित्व मागेका थिए। तर गठबन्धनबीच गृह, परराष्ट्र र कानुनबाहेक अन्य मन्त्रालय दिन सकिने भनिएपछि उनी सरकारमा सहभागी हुन राजी भएका थिएनन्।

काम नदेखाए मतदाताले नपत्याउने र सरकारमा आए काम गर्न सहज हुने भन्दै प्रचण्डले रविलाई सरकारमा आउन आग्रह गरेका थिए। सरकारमा आउने हो भने गठबन्धनका अन्य दलसँग सहमती लिने जिम्मा प्रचण्डले लिए।

तर एक साता अगाडिको भेटमा प्रचण्डले आफू गृहसहित केही मन्त्रालयको नेतृत्व परिवर्तनको गृहकार्यमा रहेको र रास्वपा आउने भए गृह दिन समस्या नहुने समेत बताएका थिए।

रविको पहिलो जोड एमालेसहितको सरकारमै थियो। तर प्रचण्ड राजी भएनन्। प्रधानमन्त्री प्रचण्ड अहिलेकै गठबन्धनमा सहभागी हुन बरु मागेको मन्त्रालय दिन राजी भएपछि रवि आफू सकारात्मक रहेको र पार्टीको केन्द्रीय र संसदीय समितिको बैठकमा छलफलपछि सरकारमा सहभागिताबारे निर्णय गर्ने बताएर बालुवाटारबाट हिँडेका थिए। 

प्रचण्डसँगको छलफलपछि प्रचण्ड र लामिछाने दुवेले पार्टीको आफू निकटहरूसँग छलफल गरिसकेका छन्।

'खै काम गरेको भनिरहेका छन्। सरकारमा नगइ काम देखाउन सकिन्न। प्रधानमन्त्रीले सरकारमा आउन भनेका छन्,' रविले कोर टिमको छलफलमा भनेका थिए। स्रोतका अनुसार उपप्रधान तथा गृह र श्रमसहितको मन्त्रालय दिए सरकारमा जानुपर्ने रविको कोर टिम सहमत देखिएका छन्।

यता प्रचण्डले पनि पार्टीका वरिष्ठ उपाध्यक्ष तथा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल गरिसकेका छन्। गृहमन्त्री बदल्न गठबन्धनमा रहेको कांग्रेसबाट दबाब बढेको र रवि गृह पाएमा सरकारमा सहभागी हुन तयार रहेको भन्दै आफूलाई सघाउन उनले श्रेष्ठलाई आग्रह गरेका थिए।

प्रचण्डले अहिले भइरहेको दुर्गा प्रसाईँ समूहको आन्दोलन लगायतका गृह प्रशासनसँग जोडिएको विषय रविले सेटल गराउनसक्ने समेत बताए। 

प्रसाईँ समूहको आन्दोलन जटिल नभएको तर आफूलाई काम गर्न नदिएको भन्दै श्रेष्ठ रिसाएका थिए। आफूले राम्रो काम गर्दागर्दै सरकारबाट बाहिर राख्न नेतृत्व नै लागेको भन्दै बैठकमा श्रेष्ठ रिसाए।

प्रचण्डले उनलाई मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्ने दबाब रहेको र पुनर्गठन गर्दा माओवादीकोमात्र मन्त्री नबदलिई कांग्रेसको पनि मन्त्री बदलिने भन्दै यसलाई सहज रूपमा लिन आग्रह गरेका थिए।

उनले श्रेष्ठलाई सरकारबाहिर राख्ने नभई मन्त्रालय मात्र बदल्न खोजेको र गृहमा पार्टीकै अर्को नेतालाई ल्याउनुभन्दा रविलाई ल्याउँदा रास्वपालाई सरकारमा ल्याउन उसको माग अनुसार मन्त्रालय बदलिएको सन्देश जाने भन्दै सम्झाएका थिए।

विश्वस्तस्रोतका अनुसार गृहको सट्टा उपप्रधान तथा उर्जामन्त्री बन्न उनले श्रेष्ठलाई प्रस्ताव गरेका थिए। तर श्रेष्ठले हुन्छ, हुन्न नभनी बैठकबाट बाहिरिएका थिए।

'प्रधानमन्त्रीसँगको छलफलपछि नारायणकाजीज्यू निकै रिसाउँदै आउनुभएको थियो,'बालुवाटारस्रोतले भन्यो' गाडीको ढोका लगाउँदा उहाँले भित्रबाटै आफैँ जोडले तान्नुभयो। रिसाएको बेलामा यस्तै गर्नुहुन्छ।'

मंसिर १२, २०८० मंगलबार १५:३७:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।