उपप्राध्यापक चलाउनेलाई आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद, २८ लाख जरिवाना

उपप्राध्यापक चलाउनेलाई आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद, २८ लाख जरिवाना

काठमाडौँ : त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने सात अभियुक्तमध्ये ६ जनालाई २ वर्ष कैद सजाय भएको छ। आरोपित दीपक ओझाले भने सफाइ पाएका छन्।

जिल्ला अदालत काठमाडौँको न्यायाधीश विनोद खतिवडाको इजलासले नेपाल विद्यार्थी संघ त्रिवि इकाइका तत्कालीन सभापति हरिप्रसाद आचार्य, सचिव योगेन्द्र रावल, रुपेश साह, रविन लामा, सयुज श्रेष्ठ, नीरज राना मगरलाई ज्यान मार्न खोजेको अभियोगमा दोषी ठहर गर्दै सजाय तोकेको हो। अदालतले चलाउनेलाई २८ लाख रुपैयाँ क्षतिपूर्ति भराउने समेत आदेश दिएको छ।

२०७७ असोज २० गते त्रिभुवन विश्वविद्यालय कीर्तिपुर परिसरमा चलाउनेमाथि नेविसंघमा आबद्धहरूले आक्रमण गरेका थिए। चलाउने समाजशास्त्र विभागका उपप्राध्यापक हुन्। नेविसंघ त्रिभुवन विश्वविद्यालय क्याम्पस इकाइका सभापति आचार्य र सचिव रावलको नेतृत्वमा उनीमाथि आक्रमण गरेको आरोप लागेको थियो।

पछि घटनामा दीपकराज ओझा, रुपेश साह, रविन लामा, सयुज श्रेष्ठ, नीरज राना मगर समेत जोडिए। आक्रमणमा घाइते भएका चलाउने एक महिना अस्पताल भर्ना हुनु परेको थियो। चलाउनेले आफूमाथि आक्रमण गर्नेहरुविरुद्ध जाहेरी दिएपछि प्रहरीले उनीहरूमाथि ज्यान मार्ने उद्योगको आरोपमा अनुसन्धान गरेको थियो। जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गर्यो। थुनछेक बहसमा आरोपितहरू धरौटीमा छुटेका थिए।

७ मंसिर, २०८०, २०:०१:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।