‘अरेली काँडैले...’ गीत मनपर्ने एलिनाका प्रिय दश सुर : बाबुल गिरीको गीतले बेग्लै आनन्द दिन्छ

‘अरेली काँडैले...’ गीत मनपर्ने एलिनाका प्रिय दश सुर : बाबुल गिरीको गीतले बेग्लै आनन्द दिन्छ

काठमाडौं : पछिल्लो समयकी एकदमै व्यस्त गायिका हुन् एलिना चौहान। उनको व्यस्तता स्टेज कार्यक्रमदेखि स्टुडियोसम्म हुने गरेको छ।

एलिनाले गाएका अधिकांश गीतहरू चर्चामा छन्। गीत मात्र नभएर उनी व्यक्तिगत जीवनलाई लिएर समेत चर्चामा आउने गरेकी छन्।

देश तथा विदेशका कार्यक्रममा समेत भ्याइनभ्याई छ उनलाई अहिले। उनै एलिनाले आफूलाई मनपर्ने आफ्ना पाँच र अरुका पाँच गीत मन पर्नुका कारणसहित उकेरासँग कुरा गरेकी छन्।

आफ्ना पाँच
के माया लाग्छ र? 
यो मेरो पहिलो गीत हो। पहिलो गीतले नै मलाई स्रोतामाझ एलिना चौहान भनेर चिनाउन सफल भएको थियो। त्यसैले पनि यो गीत मेरो लागि एकदमै प्रिय छ। यो गीतलाई अंकितबाबु अधिकारीले संगीत भर्नुभएको छ भने हर्क साउदको शब्द रचना रहेको छ। गीतमा मेरो र निशान भट्टराईको स्वर छ।

मेरो बाबा सुपरम्यान
मलाई एकदमै मन पर्ने मेरो गीत ‘बाबा सुपरम्यान’। मलाई बाबाको बारेमा गीत गाउन मन लागेर गाएको थिएँ। जुन गीत ठूला साना सबैले मन पराइदिनु भयो। यो गीतले पनि एलिना चौहान भनेर चिनाउन सफल भयो जस्तो लाग्छ। त्यसैले पनि यो गीत मेरो लागि प्रिय छ। गीतमा नरेश खातीको शब्द संगीत रहेको छ।

२० वर्ष पाखुरी
गीत ‘२० वर्ष पाखुरी’बोलको गीत एकदमै मनपर्छ। यो गीत मेरो घरपरिवारकै लागि दीपक सरले बनाइदिनुभएको हो कि जस्तो जस्तो लाग्छ। किनभने हामी धेरै छोरी–छोरी छौँ। त्यहि भएर पनि यो गीत मन परेको हो। गीतमा छोरीहरूको पीडालाई समेटिएको छ। गीतमा दीपक शर्माको शब्द संगीत रहेको छ भने भिडियोमा अन्जली अधिकारी, सनिशा भट्टराई र म आफैँले पनि अभिनय गरेकी छु।

भाग्यमा खोट छ
यो मेरो पहिलो आधुनिक गीत हो। यो भन्दा अघि मैले कुनै पनि आधुनिक गीत गाएको थिइनँ। यो गीत गाइसकेपछि मैले पनि आधुनिक गीत गाउन सक्ने रहेछु भन्ने लाग्यो। गीतका शब्दहरू पनि मनछुने खाल्का छन्। त्यसकारण पनि यो गीत मलाई मन परेको हो। गीतमा रोशन सिंहको शब्द तथा संगीत छ।

धोकेबाज हौ तिमी 
यो गीतलाई स्रोता तथा दर्शकले अत्यधिक मन पराइदिनुभएको गीत हो। यो गीतले मलाई अघिल्ला गीतले जस्तै उचाइमा पुर्यायो। मैले स्टेजमा गाउँद पनि दर्शकहरूले अत्यधिक रुचाइदिनुहुन्छ। स्टेजमा धेरै पटक दर्शकबाट ‘वान्स मोर’ भनिएको गीत हो यो। म आफैँलाई पनि यो गीतको शब्द संगीत मनपर्छ। यस गीतमा कार्की जी(सुवास कार्की)को शब्द तथा संगीत छ।

अरुका पाँच 
रुनलाई त हो नि माया लाउने 
यो गीतको मेलोडीसँगै शब्द र संगीतम मलाई एकदमै मन पर्छ। यो गीतमा राज सिग्देल दाई र शान्तीश्री परियारको स्वर एकदमै म्याच गरेको जस्तो लाग्छ मलाई। बेला-बेलामा गुनगुनाइरहेको हुन्यु म यो गीत। यो गीतलाई श्रीकृष्ण बम मल्ल दाईले संगीत गर्नुभएको छ भने शब्द लक्ष्मण परियारको हो।

ऊनभित्र गुन फूल्ने 
यो गीतको शब्द तथा संगीत नै एकदमै राम्रो लाग्छ मलाई। यो गीत बाबुल गिरी दाइले साह्रै मिठो तरिकाले कम्पोज गर्नुभएको छ। गीत गुनगुनाउँदा बेग्लै खालको आनन्द मिल्छ। त्यसकारण पनि यो गीत मेरो रोजाइमा परेको हो। यस गीतलाई बाबुल गिरी दाइ आफैँले गाउनुभएको छ।

करिमै खोटो रैछ
यो गीत सुनेपछि म आफूले गाउन पाए पनि हुन्थ्यो जस्तो लागेको थियो। किनभने मलाई स्याड गीतहरू गाउन र सुन्न मनपर्छ। रेडियो टेलिभिजनमा कतै बजेको सुने पनि गुनगुनाउन थालिहाल्छु। बादल थापा दाजुको स्वरमा रहेको यो गीत एकदमै मनछुने छ। यो गीतको पनि मलाई स्वर, शब्द, संगीत तीनै कुरा मन परेको हो। गीतमा बादल दाजुले नै शब्द तथा संगीत भर्नुभएको छ।

अरेली काँडैले मलाई च्वास्सै
यो गीतको अडियो र भिडियो दुवै नै मन परेको हो। शान्तीश्री परियारको स्वर र अञ्जली अधिकारी दिदीको अभिनय एकदमै राम्रो लागेको गीत हो यो। अर्को कुरा मलाई यो गीत युनिक लागेको भएर पनि मन परेको हो। गीतमा नेत्र अर्यालको शब्द रचना रहेको छ भने लय खेम सेन्चुरी दाइको छ।

फूल थुँगे रानी 
मलाई मनपर्ने अर्को गीत हो ‘फूल थुँगे रानी’। यो गीत मलाई मात्र नभएर धेरैलाई मन पर्छ होला। यो गीत गाउनका लागि निकै गाह्रो छ। हार्ड गीत हो। भिडियो पनि निकै राम्रो छ। यो गीतलाई सुजन चापागाईंले गाउनुभएको छ भने संगीत पनि उहाँकै छ। गीतलाई हर्क साउदले लेख्नुभएको हो।

६ मंसिर, २०८०, १३:४२:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।