विद्यार्थी विदेश पलायनहुँदा विश्वविद्यालय खाली हुन थाले : प्रधानमन्त्री

विद्यार्थी विदेश पलायनहुँदा विश्वविद्यालय खाली हुन थाले : प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवा विद्यार्थीहरूको विदेश पलायनका कारण देशका विद्यालय तथा विश्वविद्यालयहरू खाली हुँदै जाने डरलाग्दो स्थिति आएको बताएका छन्। अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीको उद्घाटनमा उनले पलायनलार्ई रोक्नु सबैभन्दा ठुलो चुनौती भएको बताए।

‘विद्यार्थी पलायनबाट देशको युवा जनशक्ति मात्र बाहिरिइरहेको छैन, देशको ढुकुटी पनि उनीहरूसँगै बाहिरिँदै गएको छ’ उनले भने’ त्यसैले छिटोभन्दा छिटो यस पलायनलाई रोक्न शिक्षा नीतिलाई सकेसम्म युवा उपयोगी बनाएर नेपाली विद्यार्थीलाई यहीँका विद्यालय, विश्वविद्यालयहरूमा अध्ययन गर्न प्रोत्साहन गर्नुपर्छ।‘

विदेशी विद्यार्थीलाई नेपालका विश्वविद्यालयहरूमा अध्ययन गर्न आकर्षित गर्ने खालको शिक्षा प्रणाली लागू गर्न सकियो भने देशको पैसा बाहिरिने नभई विदेशी मुद्रा नेपाल भित्रिने अवस्थाको सिर्जना हुने भन्दै उनले भने’ यो कुरा आजको भोलि नै पूरा गर्न सम्भव छैन। तर, दीर्घकालीन रणनीतिसहित व्यवस्थित कार्यक्रम र कार्य योजना बनाएर यस दिशामा ठोस परिणाम हासिल हुन सम्भव हुनेछ।‘

सरकारको नीति, नियम र संविधान तथा कानुनको दायरामा रही निजी व्यवसाय गर्ने व्यवसायीलाई आर्थिक विकासको हिस्सेदार पक्ष मानेर अघि बढ्ने उनको भनाई थियो।

कोभिड महामारी, विश्वव्यापी ध्रुवीकरण र द्वन्द्व, नेपालको आफ्नै संरचनागत प्रणाली, क्षमता र कार्यसम्पादनका कारण राष्ट्रिय अर्थतन्त्रले दबाबको महसुस गरिरहेको भन्दै उनले अर्थतन्त्रमा सुधार आए पनि दबाबमुक्त भई नसकेको बताएका थिए।

‘अर्थतन्त्रको दबाबलाई अन्त्य गर्न मैले हिजोदेखि गम्भीर गृहकार्य थालेको छु। आज पनि सरकार, निजी क्षेत्र, विकास साझेदारहरू र अर्थविदहरुको संयुक्त बैठक बोलाएको छ। अर्थतन्त्र सुधार्ने सरकारको प्रयासले एकाध दिनमा मूर्तरूप लिने पनि म यहाँहरूलाई जानकारी गराउँछु’ उनले भने।

५ मंसिर, २०८०, १५:५१:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।