भान्साको फोहोर छुट्याउने ल्याकत नराख्ने स्थानीय तहलाई ‘फलामको च्यूरा’ बन्दै विद्युतीय फोहोर

भान्साको फोहोर छुट्याउने ल्याकत नराख्ने स्थानीय तहलाई ‘फलामको च्यूरा’ बन्दै विद्युतीय फोहोर

बुटवल : देशका शहरी क्षेत्रका स्थानीय तहहरूले अहिले पनि घरेलु फोहोर व्यवस्थापन गर्न सकिरहेका छैनन्।

खुला स्थानमा जबरजस्ती बनाइएका ल्याण्डफिल्ड साइटमा वातावरणीय प्रभावको मूल्याङ्कन नगरी खोस्रिने र पुर्ने काम मात्र स्थानीय तहले गरिरहेका छन्। यतिसम्म कि भान्साबाट निस्कने फोहोर वर्गीकरण गरेर उठाउने ल्याकतसम्म स्थानीय तहले राख्दैनन्।

घरेलु फोहोर व्यवस्थापनको विषय चर्को गरी उठे पनि यसको निवारण हुन सकेको छैन। घरेलु फोहोर व्यवस्थापन नै टाउको दुखाइ बनिरहेको स्थानीय तहहरूले विद्युतीय फोहोर व्यवस्थापनमा भने कत्ति पनि ध्यान दिएका छैनन्।

घरमा प्रयोग हुने कुनै पनि इलेक्ट्रोनिक र इलेक्ट्रिकल सामानहरू बिग्रेपछि हामीले त्यसलाई फाल्छौँ। टेलिभिजन, कम्प्युटर, मोबाइल फोन, रिमोट कन्ट्रोल, बच्चाका गाडी, खेलौनाजस्ता इलेक्ट्रोनिक र इलेक्ट्रिकल सामग्रीहरू बिग्रेपछि फालिन्छ। त्यो नै विद्युतीय फोहोर हो।

बुटवल उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, तुल्सीपुर, नेपालगञ्ज, भैरहवा, कपिलवस्तु लगायतका सबै शहरमा विद्युतीय फोहोर व्यवस्थापन नगन्य जस्तै छ। उनीहरूलाई जैविक फोहोर व्यवस्थापन नै टाउको दुखाइ बनेको छ।

विद्युतीय फोहोर व्यवस्थापन लुम्बिनी प्रदेशका शहरमा मात्र होइन, गाउँ अनि सिंगो देशलाई नै चुनौती बन्दै गइरहेको छ। यस्तो अवस्थामा विद्युतीय उपकरणको प्रयोगमा कमी ल्याउने वा पुनः प्रशोधन गर्नुपर्नेमा विज्ञहरूको जोड छ।

विषाक्त रसायनहरू विद्युतीय फोहोरबाट निस्कन्छन् र त्यो स्वास्थ्यका लागि घातक हुन्छ। तर पनि विद्युतीय फोहोर व्यवस्थापनमा चासो दिएको पाइँदैन।

जैविक फोहोर कुहिने गन्हाउने भए पनि त्यसको तुलनामा विद्युतीय फोहोरबाट निस्कने विषाक्त रसायन कयौँ गुणा घातक हुने गरेको विभिन्न अध्ययनले देखाएको छ।

स्थानीय तहहरूले फोहोर व्यवस्थापन गर्दा जैविक फोहोरसँगै विद्युतीय फोहोर समेत उठाउँछन्। त्यो फोहोर ल्याण्डफिल्ड साइडमा लगेर फालिन्छ। त्यहाँबाट इलेक्ट्रोनिक र इलेक्ट्रिकल सामानहरू कबाडखानामा पुग्छन्। कति जलाउँछन् पनि।

त्यसरी जलाउँदा निकेल, क्रोमियम, मर्करी लिथियम, बेरिलियम, क्याडमियम, लिड, क्लोरोफ्लोरो कार्बन, ब्रोमिन एण्टिमोनी लगायत थुप्रै घातक रसायन निस्कन्छन्। जसले वनस्पति, जीवजन्तु र मानव स्वास्थ्य गम्भीर असर पुगिरहेको हुन्छ।

वातावरणविद् युवराज कँडेल विद्युतीय फोहोरको समस्या झन्-झन् विकराल भइरहेको बताउँछन्। यस्ता फोहोरलाई वर्गीकरण गरेर पुनः प्रयोग गर्न मिल्नेलाई पुनः प्रयोग गर्नुपर्नेमा उनले जोड दिए।

‘यसलाई वातावरण र मानिसलाई असर नगर्ने गरी केही पालिकाहरू मिलेर संयुक्त भट्टी बनाएर नष्ट गर्नुपर्छ,’ उनले भने, ‘त्यति मात्र हैन, प्रयोग भइसकेका वस्तुहरू बिग्रेमा सोही कम्पनीले कबाडको रूपमा फिर्ता लैजाने नीति ल्याएमा पनि विद्युतीय फोहारमा कमी आउन सक्छ।’

उनले विद्युतीय फोहोरलाई कम गर्न स्थानीय तहको एक्लो प्रयासले सम्भव नभएको भन्दै विज्ञ, ठूला देशले गरेको अभ्यासलाई हेरेर अघि बढ्नुपर्ने बताए। विद्युतीय फोहोरबाट सूचना र तथ्याङ्क चुहावट हुन सक्ने तर्फ समेत उनले सचेत गराए।

‘बिग्रेको मेमारी कार्ड, हार्डडिस्क, सिम कार्ड, बैंकिङ कार्डबाट डेटा चोरी हुनसक्छ,’ उनले थपे, ‘त्यसैले यस्ता विद्युतीय फोहोरको सही ढङ्गले व्यवस्थापन हुनु जरुरी छ।’

विद्युतीय फोहोरको व्यवस्थापनका लागि कानूनी प्रावधान प्रष्ट हुनुपर्नेमा समेत उनको जोड छ।

बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले अन्य फोहोरसँगै विद्युतीय फोहोर व्यवस्थापनका बारेमा आफूहरूले सोचे पनि अहिलेसम्म केही गर्न नसकिएको स्वीकारे।

‘अरू फोहोर, अस्पतालजन्य फोहोर, विद्युतीय फोहोर एकै ठाउँमा छुट्टा-छुट्टै व्यवस्थापन गर्न खोजेका छौँ। ठाउँ खोज्दैछौँ। जग्गाको टुङ्गो लागेपछि गरिन्छ। यसबारे विज्ञसँग पनि छलफल गर्नेछौँ’, उनले भने।

बुटवल उपमहानगरपालिकाकी वातावरण तथा अनुगमन महाशाखाकी प्रमुख एवं सूचना अधिकारी तुल्सा अर्यालले विद्युतीय फोहोर व्यवस्थापन भनेर छुट्टै व्यवस्थापन नभएको भन्दै अन्य फोहोर सरह नै विद्युतीय फोहोरको व्यवस्थापन भइरहेको बताइन्।

साथै उनले घरबाटै फोहोरको वर्गीकरण गर्नुपर्नेमा जोड दिइन्।

दाङ तुल्सीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर केसी स्थानीय तहले विद्युतीय फोहोर व्यवस्थापन भनेर छुट्टै काम गर्न नसकेको बताए।

उनले घरबाट निस्कने फोहोरमै विद्युतीय फोहोर उठाउने गरेको भन्दै त्यसबारे छुट्टै प्रयास र निर्णय नभएको स्वीकारे। 

५ मंसिर, २०८०, ११:२८:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।