बली चढाएर पनि गरिन्छ लक्ष्मीको पूजा

बली चढाएर पनि गरिन्छ लक्ष्मीको पूजा

काठमाडौं : दीपावलीले समेत परिचित तिहारलाई नेपालमा दशैंपछिको दोस्रो ठूलो चाडका रूपमा मनाइन्छ।

यमपञ्चक समेत भनिने यसको पहिलो दिन काग, दोस्रो दिन कुकुरको पूजा गरिन्छ। पूर्णिमान्त-कार्तिककृष्ण-चतुर्दशीमा कुकुर तिहार मनाउने परम्परा छ।

सामान्यतया तेस्रो अर्थात् औंशीको दिन भने लक्ष्मीको प्रतिकको रूपमा गाईको पूजा गर्ने चलन छ। जसलाई लक्ष्मी पूजा समेत भनिन्छ। लक्ष्मी पूजाका दिन धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरिन्छ। यो रातलाई शुखरात्रीका नामले पनि चिनिन्छ।

तिहार पर्वमा चतुदर्शीदेखि तीन दिनसम्म साँझमा घरमा दीपावली गरिन्छ। देवताका मन्दिरमा पनि दीपावली गर्नुपर्ने हुन्छ। लक्ष्मीको पूजा पनि दुई तरिकाले गर्ने परम्परा छ।

त्रिभूवन विश्वविद्यालय, संस्कृति विभागका प्रमुख तथा प्रा.डा. सोमप्रसाद खतिवडा सात्विक र तान्त्रिक गरी दुई किसिमले लक्ष्मीको पूजा गरिने परम्परा रहेको बताउँछन्।

सनातनी परम्परामा शाकाहारी किसिमका फलफूल लगायत चढाएर गरिने पूजा सात्विक पूजा विधि हो भने पशुपंक्षीको बली दिएर तान्त्रिक रूपमा समेत लक्ष्मीको पूजा आराधना गरिन्छ।

‘तान्त्रिक पद्धतिले पनि महालक्ष्मीको पूजा हुन्छ,’ उनले भने, ‘तान्त्रिक पद्धतीले बली दिएर लक्ष्मी पूजा गरिन्छ।’

सनातनी परम्परामा विष्णु र लक्ष्मीलाई अहिंस्रक देवता मानिन्छ। विष्णु र लक्ष्मी मांशाहारी होइनन् भन्ने मान्यता रहेको डा. खतिवडा बताउँछन्।

तर, मानिसले माछामासु खाँदा देवतालाई पनि चढाएर खानुपर्छ भन्ने मान्यताअनुसार तान्त्रिक पद्धतिमा महालक्ष्मी र शिवजीलाई भैरवको रूपमा बली चढाइन्छ भने गणेशलाई पनि बली दिने चलन छ।

‘तान्त्रिक लक्ष्मी धेरै हात भएकी हुन्छिन् भने सात्विक लक्ष्मी विष्णुको जस्तै चार हातवाला हुन्छिन्’, डा. खतिवडाले भने।

सात्विक र तान्त्रिक दुवै किसिमले लक्ष्मीको पूजा गर्ने परम्परा सांस्कृतिक रूपमा चलि आएको उनी बताउँछन्।

त्यसो त अर्थोपार्जनको उदेश्यले धनकी देवीको रूपमा लक्ष्मीको सात्विक पूजा आराधना गरिन्छ भने शक्ति आर्जनका लागि भने तान्त्रिक विधिले पूजा आराधना गरिने गरेको वाल्मीकी विद्यापीठका सह-प्राध्यापक डा. वासुदेव खनालको भनाइ छ।

विष्णुकी शक्ति वैष्णवी भन्ने हो भने वैष्णवीको तान्त्रिक रूपमा पूजा गरिने डा. खतिवडाका बताउँछन्। विशेषगरी काठमाडौं उपत्यकामा यस्तो पूजा गरिने उनी बताउँछन्। तर, विष्णुकी शक्ति लक्ष्मीको सात्विक विधिले बली नचढाई पूजा गरिन्छ।

काठमाडौं उपत्यकाका भद्रकाली लगायतका देवीका मन्दिरमा तान्त्रिक रूपले बली दिएर पूजा हुने उनले बताए।

‘वैष्णवी, नारसिंही, कौमारी, ब्रह्मायाणी भनियो भने तान्त्रिक पूजा गरिन्छ, यी सप्तमात्रिका अष्ट मात्रिका गणका देवी भए,’ डा. खतिवडाले भने, ‘तर, विष्णुकी शक्ति लक्ष्मी छन्, उनलाई सात्विक रूपमा पशुपंक्षी बली नदिइकन पूजा गरिन्छ।’

तर, तान्त्रिक परम्परा पनि वेद जत्तिकै पूरानो परम्परा रहेको संस्कृतिविद्हरू बताउँछन्। तान्त्रिकमा पनि दुई वटा हाँगा छन्। जसमध्ये समय अनुसार चल्ने परम्परालाई समइन् भनिन्छ।

समइन् तान्त्रिक विधिमा दशैं लगायतका पर्वमा पशुपंक्षीको बलीको सट्टामा कुभिण्डो, केरा, घिरौंला जस्ता फलफूलको बली दिइन्छ। त्यसैगरी तान्त्रिक विधिको अर्को हाँगोलाई ‘कौल’ पनि भनिन्छ।

कौल तान्त्रिक विधिमा पशुपंक्षी बली चढाउनुका साथै माछामासु खाने परम्परा हुन्छ। कौल तन्त्रविधिमा मत्य, मध्य, मुद्रा, मैथुन, मांश (माछा, मासु, मैथुन, रक्सी आदी)ले पूजा गरिन्छ।

प्राचिन कालमा वैश्यहरूको पर्वको रूपमा परिचित दीपावली वर्तमान समयमा सबै जातजाती र भाषाभाषीहरूको महत्वपूर्ण पर्वका रूपमा परिचित भएको डा. उपाध्याय बताउँछन्।

डा. खनालका अनुसार धनधान्यकी देवी लक्ष्मीको विशेष पूजा तथा आराधना गरिने भएको हुनाले यो पर्वलाई सबै जातजाती र भाषाभाषीले विशेष महत्वका साथ मनाउँदै आएको परम्परा छ।

जनश्रुती अनुसार प्राचीन कालमा ब्रम्हाले ब्राम्हणहरूका लागि जनैपूर्णिमा, क्षेत्रीहरूका लागि दशैं, वैश्यहरूका लागि दिपावली, र शूद्रहरूका लागि होली मनाउन ब्राह्मणले निर्देशन गरेका थिए।

वैदिक सनातन हिन्दू धर्ममा ब्राह्मणलाई ज्ञानको खानीको रूपमा लिइन्छ, जसले गर्दा सम्पूर्ण ज्ञान विज्ञानको जिम्मा ब्राह्मण वर्गमा रहेको धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरेको पाइन्छ।

त्यसैगरी क्षेत्रीयहरूको जिम्मामा राष्ट्रको रक्षाका साथै जनताका आवश्यकताको कसरी परिपूर्ति गर्न सकिन्छ भन्ने विषयलाई प्राथमिकता दिएको छ।

सम्पूर्ण अर्थव्यवस्थाको जिम्मेवारी वैश्यहरूको भएकाले दिपावलीमा धनकी देवी लक्ष्मीको विशेष पूजा तथा आराधना गर्ने प्रचलन पनि वैश्यहरूबाटै सुरू भएको धार्मिक मान्यता रहेको सह-प्राध्यापक डा. खनालले बताउँछन्।

डा. खनालका अनुसार धर्मशास्त्रीय ग्रन्थमा उल्लेख भएअनुसार ब्राम्हण, क्षेत्रीय, वैश्य र शूद्रसँग सम्बन्धित यी पर्वहरूमध्ये ब्राम्हणहरूको विशेष पर्वका रूपमा परिचित जनैपूर्णिमालाई वैदिक विधि अनुसार मनाउने गरिन्छ भने क्षेत्रीय, वैश्य र शूद्रसँग सम्बन्धित दशैं, तिहार र होली पर्वलाई विशेषगरी तान्त्रिक विधि अनुसार पूजा तथा आराधना गर्ने गरेको देखिन्छ।

हुन त मोटामोटी रूपमा हेर्दा वैदिक र तान्त्रिक पूजा विधिमा खासै भिन्नता देखिँदैन। तर, दशैं, तिहार र होलीको शूक्ष्म रूपमा विश्लेषण गर्दा तान्त्रिक विधि अनुसार नै पूजा तथा आराधना हुँदै आएको डा. खनाल बताउँछन्।

दुर्गोत्सव र दिपावलीमा मन्त्र, तन्त्र र यन्त्रको प्रयोग धेरै भएको देखिन्छ भने होलीको उत्सवमा मन्त्र, तन्त्र र यन्त्रादिको त्यति धेरै प्रयोग भएको देखिँदैन।

धनको पूजा र रमाइलो
लक्ष्मी पूजाको दिन विशेषगरी साँझमा दियो तथा बत्ति बालेर घर तथा आफू बस्ने ठाउँ लगायत वरिपरिको वातावरण नै झिलिमिली बनाएर सिंगारिन्छ।

उज्यालो गरी दीप प्रज्वलन गरेको घरमा मात्रै लक्ष्मीको बास हुन्छ भन्ने मान्यताका कारण विशेषगरी लक्ष्मी पूजाका दिन चारैतिर उज्यालो पारिन्छ।

लक्ष्मी पूजाको दिन नै जनैपूर्णीमाको दिन नाडीमा बाँधिएको रक्षाबन्धनको धागो नाडीबाट फुकाएर गाइको पुच्छरमा बाँधिदिने परम्परासमेत छ।

चतुर्दशीदीपमालिका, लक्ष्मीपूजा र गोवर्धनपूजालाई ‘बलिराज्यत्रिरात्र’ पनि भन्ने गरिन्छ। दीपावलीको समयमा राजाले खेल्ने, उत्सव मनाउन अनुरोध गर्नुपर्ने जस्ता मान्यता शास्त्रमा उल्लेख छ।

दीपावलीको गाना बजानाका साथ नाचगान गर्ने तथा उत्सव मनाउने परम्पराबाट नै देउसी भैलोको सुरुवात भएको मान्न सकिने डा. खनाल बताउँछन्।

त्यसो त लक्ष्मी पूजाको दिन हर्षोल्लाशका साथ खेलिने देउसी भैलोले समेत तिहार पर्वलाई रौनक थपेको हुन्छ नै। यो पर्वको मौकामा देउसी भैलो खेलेर विभिन्न किसिमका सामाजिक कामको लागि आर्थिक संकलन समेत गर्ने गरिन्छ।

कार्तिक त्रयोदशीदेखि कार्तिक शुक्ल द्धितीयासम्म पाँचदिन तिहार मनाइन्छ। काग तिहार, कुकुर तिहार, गाई तिहार, गोरु तिहार, हलि तिहार, भाइ तिहार जस्तो नेपाली शब्द चलेका छन्।

तर, विशेषगरी तीन दिन मनाउने भएकाले तिहार भनिएको हो। त्रिरात्र शब्दको अपभ्रंश भएर तिहार शब्द बनेको देखिन्छ।

नेपाली समाजमा तिहारलाई दाजुभाइ र दिदीबहिनीबीचको आत्मियता र प्रेम बढाउने पर्वका रूपमा लिइन्छ। नाचगान गर्दै मीठा परिकार खानपान आएर जुवा र पिङ खेल्दै तिहार मनाउने परम्परा छ।

यमराज मृत्युसँग सम्बन्धित हुने भएकाले यमराजको पूजा आराधना गरेको खण्डमा पूर्ण आयु मिल्छ भन्ने मान्यता समेत रहेको छ।

पाँच दिनसम्म तिहार मनाइने भएकाले नै तिहारलाई यमपञ्चक समेत भन्ने गरिएको छ। त्यसो त पौराणीक कालमा तिहार तीन दिन मनाइने गरेको विज्ञको मत छ।

पौराणिक कालमा लक्ष्मीपूजा, गोवर्धन पूजा, भाइटीका(मयद्धितीया) मनाउने चलाउन थियो। करिब १९४० को दशकबाट काग र कुकुर तिहार पनि मनाउन थालिएको पूराणचार्य बताउँछन्।

२६ कात्तिक, २०८०, १६:२७:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।