दिमाग खराब : अल्लारे राजनीतिको पक्षमा बनेको बलियो फिल्म

दिमाग खराब : अल्लारे राजनीतिको पक्षमा बनेको बलियो फिल्म

स्थानीय तहको निर्वाचनमा केही क्षेत्रमा स्वतन्त्र उम्मेदवारको जित अनि संसदीय राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टीको उदयसँगै नेपाली फिल्म नगरीमा राजनीतिक परिवर्तनको विषयमा बनेका फिल्मको सङ्ख्या बढ्दो छ।

राजनीतिक परिवर्तनको जनचाहनालाई क्यास गर्न खोज्दा केही निर्देशक अलमलिए, केहीले विचारमाथि प्रहार गरे।

राजनीतिक विषयमा ‘छक्कापञ्जा ४’, ‘बहाव’, ‘ऐँचो पैँचो’ अनि ‘नाङ्गो गाउँ’ बने। ‘बहाव’ बाहेक अन्य फिल्मले राजनीतिक विषय लिए तर कोही चरित्र चित्रणमै चुके त कोही पटकथामा अलमलिए।

फिल्म ‘बहाव’ले परिवर्तनको पक्षधर दाबी गर्ने कम्युनिस्ट अनि समाजवादी दाबी गर्ने लोकतान्त्रिक विचारधारामा प्रहार गरेको थियो।

यी दुई विचारधारा बीचको भिन्नता देखाउन कम्युनिस्ट घोषणा पत्र र वीपी कोइरालाको जीवनीको पुस्तक पात्रलाई पढाएर चलाखीपूर्ण रूपमा निर्देशकले प्रगतिशील विचारधाराको वकालत गरेका थिए।

निर्देशक निश्चल बस्नेतले फिल्म ‘दिमाग खराब’ मार्फत रङ्गको सहयोगमा नयाँ र पुरानो राजनीतिक शक्तिबीच बठ्याइँका साथ राजनीति गरेका छन्।

उनले फिल्म प्रमोशनका क्रममा 'यो राजनीतिक फिल्म हैन' भन्ने दाबी गरे तर ‘दिमाग खराब’ राजनीतिक मात्र हैन ‘अति राजनीतिक’ फिल्म हो। यो निश्चलको राजनीतिक स्वार्थले निर्देशन गरेको फिल्म हो।

निश्चलले फिल्ममार्फत कुन खालको राजनीतिलाई प्रश्रय दिने प्रयास गरे त्यसबारे तल विस्तृतमा उल्लेख गरौँला। अहिले फिल्मका अन्य पक्षमा प्रवेश गरौँ।

निर्देशकले स्थानीय तहको राजनीतिलाई केन्द्र बनाएर गरी खाने र गराएर खाने वर्गबीचको सङ्घर्षको कथा पस्केका छन् ‘दिमाग खराब’मा।

पानी नचुहिने घर, आमाको राम्रो उपचार, छोरीलाई राम्रो शिक्षा अनि श्रीमतीलाई केही गहनाको जोहो गर्न चाहने निम्न आर्थिक अवस्था भएको युवालाई मुख्य पात्र बनाएर विभिन्न पक्षको दिमाग खराब बनाउने प्रयास गरेका छन् उनले।

न विदेशमा श्रम गर्न जान दिने न त नेपालमै टिकिखान दिने अवस्था आएपछि दिमाग खराब भएको युवाले को, कसको, कसरी दिमाग खराब बनाउँछन्? फिल्मको मुल कथा यही हो।

नेपालमै बसेर केही गर्छु भन्ने किसान उद्यमीको अवस्था, राजनीतिमा जितका लागि हुने फोहोरी खेल, युट्युबरको भरमा उदाएका नक्कली अभियन्ताको पक्षलाई निर्देशकले विभिन्न पात्रमार्फत सटिक प्रस्तुत गरेका छन्।

इन्द्र शर्माको भूमिकामा रहेका खगेन्द्र लामिछानेको अभिनय पात्रको चरित्र चित्रण अनुसार सुहाउँदो छ। तर, ‘पशुपतिप्रसाद’ र ‘टलकजंग भर्सेस् टुल्के’ हेरेका दर्शकका लागि उनको अभिनय नौलो लाग्दैन। यी फिल्ममा जस्तै रुन्चे पात्रको भूमिकामा छन् उनी।

इन्द्रको श्रीमती सचिको भूमिकामा देखिएकी अभिनेत्री स्वस्तिमा खड्काको अभिनय क्षमता कुन रफ्तारले निखारिइरहेको छ भन्ने प्रमाण बन्न सक्छ ‘दिमाग खराब’।

कहाँ ‘होस्टल रिटर्न’, ‘लभ लभ लभ’ अनि ‘छक्कापञ्जा’कि स्वस्तिमा कहाँ ‘दिमाग खराब’कि!

‘बुलबुल’, ‘चिसो मान्छे’बाट सुरू भएको फरक धारको अभिनयको प्रयास  ‘दिमाग खराब’मा आएर थप निखारिएको देखिन्छ।

मेयर हरिप्रसादको सहयोगी बले बनेका विजय बरालको अभिनय दमदार छ। हाउभाउ, लवाई, बोलाई चरित्रसँग मिलेको छ। इन्द्रप्रसादले बारम्बार दिमाग खराब बनाउँदा तनावमा हातले कन्चटमाथि ट्वाक्क हान्ने शैली बढो सुन्दर देखिएको छ।

उनको चरित्र चित्रणमा केही कमजोरी गरेका छन् निर्देशकले। तर, अभिनयको सवालमा निर्देशकको श्रीमती भएर हैन क्षमता भएरै फिल्ममा अनुबन्ध भएकी हुन् भन्ने प्रष्टिकरण दिनै नपर्ने तहको अभिनय छ स्वस्तिमाको।

अभियाननगरको मेयर हरिप्रसाद बराल बनेका अर्पण थापाको अभिनय पात्र अनुसार सुन्दर छ। इन्द्रका साथी भोलासाङ थोकर बनेका दयाहाङ राईको अभिनय बिझाउँदैन तर नयाँपन पनि छैन।

‘कबड्डी ४’, ‘जारी’ र ‘दिमाग खराब’का क्लिप मिसमास गर्दा कुन क्लिप कुन फिल्मको हो भनेर छुट्टाउन डायलग र ड्रेसकै सहयोग लिनुपर्छ।

मेयर हरिप्रसादको सहयोगी बले बनेका विजय बरालको अभिनय दमदार छ। हाउभाउ, लवाई, बोलाई चरित्रसँग मिलेको छ। बारम्बार दिमाग खराब बन्दा तनावमा हातले कन्चटमाथि ट्वाक्क हान्ने शैली बढो सुन्दर देखिएको छ।

अभियन्ता नीरज गौडेल बनेका सुमन कार्कीको अभिनय प्रयास ठिकै छ। कमेडी क्लब विथ च्याम्पियन्समा उनले मेक्सम गौडेलसँग मिलेर गरेको अभिनय हेरेका दर्शकका लागि भने ‘दिमाग खराब’को उनको अभिनय फिक्का लाग्छ।

कथाभित्रको सामान्य तर प्रभावशाली पात्र हुनसक्ने भूमिकामा निर्देशक बस्नेत आफैँ देखिएका छन्। प्रेममा धोका पाएर निरास पात्र हुन् कि बाइकर्स ग्याङको लिडर खुल्दैन। बाइकर्स समूह जो गाउँठाउँ घुम्दै हिँड्ने चरित्र हो भने स्कुटी चालकको प्रतिनिधित्वको अर्थ के? 

निश्चल अभिनय गर्न हैनन् निर्देशन गर्न जन्मिएका हुन् भन्ने आफैँले, आफ्नै फिल्मबाट पुष्टि गरेका छन्। घटनाको अवस्था अनुसार फेसियल एक्प्रेसनदेखि डायलग डेलिभरीसम्ममा उनी निकै फितलो देखिएका छन्। यो फिल्ममा सबैभन्दा कमजोर अभिनय उनकै छ। अबका फिल्ममा उनले अभिनयको रहर नगरेकै राम्रो।

फिल्ममा गीत जबर्जस्ती घुसाइएको छैन। कथालाई सहयोगी हुने गरी नै गीत राखिएको छ। जयन के बाइबा र बाबुल गिरीको सङ्गीत फिल्मको कथा अनुसार म्याच गर्छ।

ब्याकग्राउन्ड म्युजिक(बिजिएम) केही ठाउँमा लाउड सुनिन्छ। केही ठाउँमा बिजिएमसँगै ‘दिमाग खराब’ भन्ने सुनिँदा दर्शकलाई गुडफिल गराउनुको साटो ध्यान भङ्ग गराउँछ।

फिल्मका सटहरू राम्रा छन्। शासक र शासित समूहबीचको आर्थिक भिन्नता देखाउन प्रयोग गरिएको चप्पल र जुत्ताको दृश्य सुन्दर छन्। तर पटक-पटक दोहोर्याउँदा किरकिर हुन्छ।

अपवादमा जे पनि हुनसक्छ। तर राजनीतिक नेतृत्वबाट सकारात्मक परिवर्तन गर्न अल्लारेपन र सनक हैन स्पष्ट विचार महत्त्वपूर्ण हुन्छ भन्ने धरानका मेयर साङपाङकै गतिविधिबाट पुष्टि भइसक्यो।

फिल्म लुटको सबैभन्दा सबल पक्ष नै कथा भन्ने शैली थियो। बैंक लुट्नुभन्दा अगाडि नै कसरी बैंक लुटिँदै छ भन्ने दर्शकलाई बुझाउने ट्रिकको सफल प्रयोग गर्दा फिल्म सफल भयो।

दर्शकलाई बैंक लुटेको अन्तिम दृश्यमा कन्भिन्स गर्न त्यति मिहेनत गर्नु परेन निर्देशकले। ‘लुट-२’  र ‘टलकजंग भर्सेस टुल्के’मा कथ्य शैलीमा चुकेका निर्देशक निश्चल ‘दिमाग खराब’बाट आफ्नै ट्र्याकमा फर्किएका छन्।

कथा नयाँ हैन। तर उनको चलाखीपूर्ण प्रस्तुति क्षमताले दर्शकलाई तानेर राख्न फिल्म सफल छ।

गम्भीर फिल्ममा हाँस्यरसको चटनी मिसाउन उनी खप्पिस छन्। तर चुकेका पनि छन्। राजनीति अनि समाज परिवर्तनको पक्षमा वकालत गर्ने निर्देशकले दर्शक हँसाउने लोभमा यौन दुर्व्यवहारजन्य दृश्य फिल्ममा राखेको पटक्कै सुहाएन।

खगेन्द्र र दयाहाङबीच विवाहबारेको संवादका बीचमा युवा र युवती आउँदा दयाहाङलाई निर्देशकले जसरी महिलाको अङ्गप्रत्यङ्ग घुर्न लगाएका छन्, त्यो व्यवहार नेपालको कानून अनुसार यौन दुर्व्यवहारभित्र पर्छ।

निर्देशकले दर्शक हाँस्छन् भन्ने लागेर ‘आँखा नसेक’ भन्ने संवाद राखेका होलान् तर त्यसरी महिलाको अङ्गप्रत्यङ्ग हेरेर आँखा सेक्नु दण्डनीय अपराध हो। जुन दृश्य राखेका छन् त्यो नहुँदा पनि फिल्मको कथाको बहाव रोकिँदैन।

निर्देशक निश्चलले राजनीतिमा सुधारको वकालत गर्दा-गर्दै यौन कुण्ठित र यौन दुर्व्यवहारजन्य गतिविधि गर्ने पात्रलाई नयाँ नेतामा स्थापित गराएका छन्। यसले पुराना दलका नेताविरुद्ध राजनीतिमा आउने जस्ता नयाँ पात्र पनि स्वीकार्य हुन्छन् भन्ने गलत सन्देश दिएको छ। 

काठमाडौंमा घर भएकी सचि र एउटा चप्पल समेत फेर्न नसक्ने हरितन्नम आर्थिक अवस्था भएका इन्द्रबीचको सम्बन्धको कारण खुलाउन सकेको छैन फिल्मले।

फिल्मभरि निरीह पात्रलाई एकै चप्पल लगाउन बाध्य बनाउनुको उद्देश्य चुनाव चिन्ह त्यसैलाई बनाउने निर्देशकको रहर बाहेक अर्को कारण देखिन्न। पात्रको आर्थिक अवस्था दर्शकलाई महसुस गराउन विमानस्थलकै दृश्य काफी छ।

स्थानीय तहको निर्वाचनमा बालेन्द्र शाह अनि हर्क साङपाङको चुनावी प्रचार मोडलबाट निर्देशक अलि बढी नै प्रभावित देखिए। चुनाव प्रचार शैली बालनेबाट सापट लिए अनि पात्रमा हर्क।

दलीय रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रवर्द्धन गर्न रङमा चलाखी गरेर राम्रै वकालत गरेका छन् निर्देशकले। रातो रङको झन्डालाई मतदातामार्फत कुल्चाएर उनले आफ्नो मनमा रहेको पुराना दलप्रतिको वितृष्णा प्रस्तुत गरेका छन्। तर रङ हैन रङ्ग बोक्ने व्यक्ति खराब हुन सक्छन् भन्ने बिर्सिए उनले।

अपवादमा जे पनि हुनसक्छ। तर राजनीतिक नेतृत्वबाट सकारात्मक परिवर्तन गर्न अल्लारेपन र सनक हैन स्पष्ट विचार महत्त्वपूर्ण हुन्छ भन्ने धरानका मेयर साङपाङकै गतिविधिबाट पुष्टि भइसक्यो।

धन्न बालेनले स्वतन्त्र उम्मेदवारका रूपमा जिते पनि दलीय आधारमा जितेका उपमेयरदेखि वडाअध्यक्षहरूसँग सहकार्य गरेर अगाडि बढेका छन्। नीति, कार्यक्रम पारित गराएका छन्।

फिल्म कल्पनामा आधारित होला। तर कल्पना भनेर राज्यको कुनै निकायप्रति यतिसम्म दुराभाव राख्नु वर्तमान राज्य प्रणालीप्रति चरम पूर्वाग्रह हो। निर्देशक त्यस्तै देखिएका छन् फिल्ममा।

उता हर्कको अराजक शैलीले धरान झन्डै जातीय द्वन्द्वमा फसेको थियो। उनको अराजक शैलीका कारण कार्यपालिकाको बैठक समेत बस्न सकेको छैन।

उनले झन्डाको रङमार्फत वकालत गर्ने प्रयास गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू कहिँकतै अराजक भएको आत्मबोध गरिसके। तर निर्देशकमा त्यो आत्मबोध देखिएन।

उनले कला जस्तो सशक्त विधामार्फत राजनीतिकमा नयाँ पुस्ताको पक्षमा वकालत गर्दा चरित्रगत अल्लारे, योजना र विचारहीन भए पनि हुन्छ भन्ने कित्तामा उभिए। फिल्ममार्फत उनले आफ्नो कच्चा राजनीतिक सोच पनि देखाए।

राजनीतिमा समाज हुन्छ। मतदाता हुन्छन्। राजनीतिक अंक गणित हुन्छ। सबै विलिन छ फिल्ममा। इन्द्रलाई हेरेर उनले उभ्याउन खोजेको सामाजको कल्पना गर्ने हो भने दुखी, गरिबको बाहुल्यता भएको समाजको कथा हो। तर अन्य पात्रले त्यस्तै समाजको प्रतिनिधित्व गरेका छैनन्। एकल पात्रले समाजको एक वर्गको प्रतिनिधीत्व गर्न सक्छन्, समग्र समाजको हैन।

नेपाली फिल्म क्षेत्रमा भित्रिएको स्क्रिप्ट डाक्टरको प्रभाव कस्तो भयो त्यो ‘पशुपतिप्रसाद : २ भस्मे डन’ को अलपत्र स्क्रिप्टले देखाएको थियो नै। ‘दिमाग खराब’को स्क्रिप्टको हालत त्यतिसम्म कमजोर त छैन। तर मुख्य विषयमा स्क्रिप्ट लेखकसँगै स्क्रिप्ट डक्टर मनोज पन्डित पनि चिप्लिए उपचार गर्न।

स्थानीय तहको अनुदान दुरुपयोगको आरोपमा पात्र पक्राउ गराउने दृश्यका लागि उनीहरूले नेपाल प्रहरीको प्रयोग गरे। प्रहरीकै हिरासतमा राखे। अनि मुद्दा फिर्ता पनि मेयरबाटै गराए।

स्थानीय तहको अनुदान भनेको सरकारी कोष हो। सरकारी कोषको रकम दुरुपयोग गरेर भ्रष्टाचार गरे न मेयर न प्रहरीले छानबिन गर्छ। त्यो गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग हो।

छानबिन, पक्राउ आयोगले गर्छ, निर्दोष भए आयोगले नै मुद्दा नचलाउने निर्णय गरेर सफाइ दिन्छ वा विशेष अदालतमा मुद्दा जान्छ। यत्रो राजनीतिक परिवर्तनको पक्षमा वकालत गर्दा भ्रष्टाचारको छानबिन गर्ने निकायबारे पनि जानकारी नहुनु अल्लारे चेत नै त हो।

काभ्रेबाट बसमा काठमाडौं आएर, दिनभर अपहरितको खोजी गरेर पुन: पाँच बजे काभ्रे फर्काउने समय तालिका के हो? निर्देशक नै जानुन्।

यता अपहरणमा संलग्न रहेको देखिएपछि पक्राउ गर्न गएका प्रहरीले ‘तपाईं विरुद्ध मुद्दा परेर अरेस्ट वारेन्ट जारी भएको छ’ भन्ने अर्को हास्यास्पद डायलग छ फिल्ममा।

प्रहरीमा मुद्दा पर्दैन, उजुरी वा जाहेरी पर्छ। प्रहरीले जाहेरीका आधारमा अनुसन्धान सक्काएर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएपछि अदालतमा अभियोग पत्र दर्ता हुन्छ अनि मुद्दा दर्ता हुन्छ।

यसमा पटकथाकार त चिप्लिए। तर पटकथाको उपचार गर्ने डाक्टर त यति सामान्य ज्ञानमा नचिप्लनुपर्ने? जाहेरी र मुद्दाको अर्थ नै बुझेेनन्।

अहिलेको अवस्थामा भक्कुमार कुटाई खाएर रगताम्मे हुँदै अस्पताल पूर्याइएका कसैलाई अस्पतालको बेडबाटै पक्राउ गरेर प्रहरी हिरासतमा राख्न सम्भव छ?

फिल्म कल्पनामा आधारित होला। तर कल्पना भनेर राज्यको कुनै निकायप्रति यतिसम्म दुराभाव राख्नु वर्तमान राज्य प्रणालीप्रति चरम पूर्वाग्रह हो। निर्देशक त्यस्तै देखिएका छन् फिल्ममा।

निर्वाचनको बेलामा यो गर्छु र त्यो गर्छु भन्ने अनि जब जितिन्छ 'लौ भनिहालियो अब के गर्ने होला' भनेर अलमलिएका नयाँ नेता टन्नै देखिएका छन्।

फिल्मको पहिलो हाफ जुन रफ्तारमा गएको छ दोस्रो हाफमा निर्देशक कथा अगाडि बढाउन उही जितेपछि नेता अलमलिए जस्तै अलमलिएका छन्।

पहिलो हाफको रफ्तार दोस्रो हाफमा कायम राख्न सकेको भए फिल्म थप बलियो हुनसक्थ्यो। द्वन्द्व बढाउन केही दृश्य तन्काउँदा फिल्म स्वादिष्ट हुँदाहुँँदै आधा पाकेको, आधा काँचो जस्तै देखियो।

पद्धतिमा परिवर्तन गफले सम्भव हुन्न। प्रस्ट सोच, स्पष्ट योजनाले मात्र सम्भव हुन्छ। रातारात परिवर्तन सम्भव हुन्न।

निर्देशक बस्नेतले सामाजिक विषयवस्तुको आवरणमा जुन राजनीतिक परिवर्तनको पक्षमा वकालत गरेका छन् त्यसको नतिजा परिवर्तन हैन अराजकता हो।

फिल्ममार्फत नयाँ पुस्ताको पक्षमा वकालत गर्दा-गर्दै निर्देशक अराजकताको पक्षमा वकालत गर्न पुगेका छन्। कुनै लक्ष्य, सिद्धान्त नभए पनि सनकको भरमा जनमत पाउन सकिन्छ भन्ने गैर राजनीतिक सिद्धान्तलाई समर्थन गरेका छन् उनले। 

तै पनि कलाकार र निर्देशकको दाबी पत्याएर हलमा जाँदा ठगिएको महसुस हुने अवस्था ‘दिमाग खराब’ मा छैन।

‘निर्देशकले जुनसुकै राजनीतिक शैलीको पक्षमा वकालत गरुन् के मतलब, फिल्म हेरेर रमाइलो गर्ने त हो’ भन्ने सोचका साथ हलमा जाने हो भने निराश हुनु पर्दैन। हाँस्ने, रुने, सिठी बजाउने टन्नै मौका दिन्छ फिल्मले।

तर कला जस्तो शक्तिशाली माध्यम अराजक राजनीतिको पक्षपोषक हुनुहुन्न भन्ने सोच छ भने फिल्मले निराश बनाउँछ।

२५ कात्तिक, २०८०, ०२:१४:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।