इजरायलबाट फर्केपछि सृजना थारुले बदलेको बाटो

इजरायलबाट फर्केपछि सृजना थारुले बदलेको बाटो

बुटवल : रूपन्देहीको शुद्धोधन गाउँपालिका-७ खुनगावाकी सृजना थारु साना किसान सहकारी संस्था मार्फत कृषि अध्यायनका लागि इजरायल जाने मौका पाइन्। यो ०७४ सालको कुरा थियो।

इजरायलमा उनले कृषिमा नयाँ क्रान्ति देखिन्। त्यहि अध्ययनकै क्रममा उनलाई लाग्यो- ‘नेपालमा यहाँ जस्तै सबै सम्भव छ। मात्र ईच्छाशक्तिको कमी हो।’

त्यसपछि उठोट गरिन् कि उनले अध्ययन सकेर नेपाल फर्केपछि कृषिलाई व्यवसायीकरणसँग जोड्छु।

‘त्यहाँ पुगेपछि केही गर्नुपर्छ देशभित्र भन्ने लाग्यो। हरेक हिसाबले हाम्रो भुगोल, मौसम, पानी, माटो कृषिका लागि उपयुक्त छ। तर हाम्रो इच्छाशक्ति मात्र देखाएका रहेनछौ भन्ने लाग्यो’, उनले भनिन्।

०७४ साल अघिसम्म उनी समाजमा जड बसेर बसेको बाल विवाहविरुद्धको अभियानमा थिइन्। साथी सञ्जालमार्फत बिहेबारी कम उमेरमा गर्नु स्वास्थ्यका लागि र राज्यबाटै बर्चित हो भन्दै सचेतना जगाउँथिन्।

‘कम उमेरमा विवाह गर्ने चलन खासगरी मधेशका गाउँहरूमा हुन्छ। त्यो देखेरै यो अभियानमा लागेँ। पछि साना किसानसँग जोडिएपछि यो कामको गति केही कम भएको हो’, उनले भनिन्।

कुनै बेला ‘सचेतना फैलाउने बाहक’ बनेकी सृजनाले अहिले भने छोटो समयमै सफल माछा पालकको रूपमा आफ्नो पहिचान बनाएकी छन्।

इजरायलबाट फर्केपछि उनले व्यावसायिक माछापालन गर्ने निधो गरिन्। सृजनाको घरमा पहिले पनि केही माछा पोखरी थिए। साथीभाइ, इष्टमित्र आउँदा त्यहि पोखरी माछा खुवाउँथे।

उनी इजरायलबाट फर्केपछि त्यहि माछा पोखरी विस्तार गर्दै व्यावसायिक रूपमा अगाडि बढाइन्।

‘म अध्ययनमा जानुअघि नै ३ कठ्ठामा माछा पालन भइरहेको थियो। म फर्केपछि धान खेतलाई माछा पोखरी बनाएँ। अनि व्यावसायिक तवरले माछा पालनमा लागेकी हुँ’, उनले थपिन्।

इजरायलमा सिकेको सीपलाई उनले व्यावसायिकता दिनको लागि शृजनशिल मत्स्यपालन फार्म स्थापना गरेकी छन्।

हाल उनले १ विघा क्षेत्रफलमा माछापोखरी बनाएकी छन्। अहिले पोखरीमा १५ हजार भुरा र ४५ सय बढी विभिन्न जातका माछा छन्।

२९ वर्षीया सृजनाको कृषि कर्म समुदायको लागि उदाहरणीय नै बनेको छ। धेरैका लागि यो फार्म सिकाइको थलोसमेत बनेको छ।

सृजना माछा पालनका लागि आवश्यक ज्ञान आफैँले लिएकी छन्। कस्तो दाना राख्ने, औषधि आवश्यकता हुँदा कुन चलाउने यी सबै विषयमा उनी जानकार छिन्।

माछा पालनलाई अझ विस्तार गर्दै लैजाने उनको योजना छ। उनले माछा पालनबाटै बार्षिक १५ लाखको कारोबार गर्दै आएकी छन्।

माछाका अलवा उनले फार्ममा १५ वटा बाख्रासमेत पालेकी छन्। बाख्राको संख्या पनि बढाउँदै लैजाने उनको योजना छ।

पोखरीमा उत्पादन भएका माछा बुटवल, भैरहवा लगायत विभिन्न होटल तथा रेष्टुरेन्टहरूमा जाने गर्छन्। अहिले पोखरीमा कमन, रहु, ग्रास, सिल्भर, विगहेड जातका माछा हुर्किरहेका छन्।

सृजनाले नेपाली विषयमा स्नातक तह उत्तीर्ण गरेकी छन्। अब स्नातकोत्तर तह पूरा गर्ने उनको लक्ष्य छ।

‘अनुदानले उत्साहित बनायो’
सृजनाको शृजनशिल मत्स्य फार्ममा नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले अनुदान दिएको छ।

५० प्रतिशत अनुदानमा साना सिंचाइ पूर्वाधार निर्माण गरिएको छ। जसको कुल लागत २ लाख ४ हजार ३ सय १९ रूपैयाँ हो।

जसमध्ये १ लाख रूपैयाँ लागतमा बोरिङ्गको व्यवस्थापनका लागि अनुदान प्रदान गरिएको प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजना कार्यान्वयन एकाई रूपन्देहीका प्रमुख नारायण काफ्लेले बताए।

सृजनाको फार्ममा मत्स्य उत्पादकत्व वृद्धिका लागि प्रोबायोटिक प्रविधि प्रदर्शन समेत गरिएको थियो।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बाटै उनको फार्मको लािग सिल्पोलिन सहितको मत्स्य पोखरी सुुदृढिकरण कार्यक्रमका लागि ८७ हजार ९ सय ९८ रूपैयाँ अनुदान समेत प्रदान गरिएको थियो। जसबाट उनले माछा पोखरीमा सिल्पोलिन लगाएकी छन्।

सिल्पोलिन एक प्लास्टिक हो, जसबाट खासगरी बर्खाको समयमा पोखरीमा झार उम्रने र पोखरीको डिल भत्किने समस्याको समाधानमा सहयोग पुग्छ।

२३ कात्तिक, २०८०, ०९:३५:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।