काठमाडौंमा पार लाग्दैन भनेर बुटवल फर्किएका दिलिप अहिले पाँच उद्योगका मालिक

काठमाडौंमा पार लाग्दैन भनेर बुटवल फर्किएका दिलिप अहिले पाँच उद्योगका मालिक

बुटवल : दिलिप सापकोटा रुपन्देहीमा एक सफल उद्योगी हुन्। मेहनत, कामप्रतिको लगनशिलता, व्यवस्थापन र धैर्यताले आज दिलिपलाई सफल उद्योगीको पहिचान दिलाएको छ।

पर्वतको फलेबासमा ०२९ सालमा जन्मिएका सापकोटा बुवा ताराप्रसादकै प्रेरणाले रुपन्देहीको मोतिपुरस्थित ‘पर्वत ईट्टा उद्योग’ सम्हालिरहेको बताउँछन्।

पर्वतबाट ०३३ सालमा बुवासँगै रुपन्देही झरेका दिलिपको बाल्यकाल बुटवलमै बित्यो। २०४६ सालमा बुटवलको कालिका मावि (हाल कालिका मानवज्ञान मावि) बाट एसएससी उत्तीर्ण गरेका उनी आईएस्सी पढ्न काठमाडौं गए।

केही समय पढे पनि। तर विज्ञान संकाय गाह्रो त हुने नै भयो। अब पार लाग्दैन भन्ने लागेपछि उनी पुनः बुटवल फर्केर लुम्बिनी वाणिज्य क्याम्पसमा भर्ना भए र त्यहिँबाट स्नातक उत्तीर्ण गरे।

उनले एसएलसी उत्तीर्ण गर्नुअघि नै ०३८ सालमा बाबुराम आचार्यसँग दिलिपका बुवा ताराप्रसाद सापकोटाले पार्टनरमा आचार्य ईट्टा उद्योग खोलेका थिए। एसएलसी दिएपछि उनी ईट्टा उद्योगमा जान थाले। त्यहिँबाटै उनले उद्योगमा चासो देखाउन थाले अनि त्यहि कर्मलाई अहिलेसम्म निरन्तरता दिए।

पहाडबाट परिवारसहित तराई झरेको उनको परिवारलाई दिलिपका हजुरबुवाले २ वर्षपछि पुनः पहाडमा लगेर राखेका थिए। तर, तराईमा शिक्षण र उद्योगबाट भविष्य देखेका दिलिपका बुवाले केही समयमा आफ्ना बुवालाई चित्त बुझाएर पुनः तराई झर्ने वातावरण बनाए र अहिलेको अवस्थामा पुर्याए।

नाताले ज्वाईं र जेवान रहेका बाबुराम र ताराप्रसादले उक्त उद्योग ०५० सालसम्म सँगै गरे। त्यसपछि बावुरामले आचार्य ईट्टा चलाए भने ताराप्रसादले पर्वत ईट्टा उद्योग सञ्चालन गरे।

त्यसो त दिलिपमा काठमाडौंमा व्यापार व्यवसाय गरेर चम्कन्छु भन्ने नभएको होइन। ०६० सालमा उनी व्यापारका लागि काठमाडौं पुगे। तर त्यहाँ त्यति सहज भएन।

२ वर्षपछि फर्केर बुटवल फर्किए। २०६४ सालमा परासीमा पवन ईट्टा उद्योग चलाए। केही समयपछि बिक्री गरे। पुनः रुपन्देहीको मोतीपुर–८ मा पर्वत ईट्टा उद्योगलाई नै निरन्तरता दिए। यो उद्योग अहिलेसम्म निरन्तर चलिरहेको छ।

आमा गंगादेवी सापकोटा, बुवा ताराप्रसाद सापकोटाको आर्शिवाद र श्रीमती सुजिता सापकोटाको साथले अहिले दिलिप एक सफल उद्योगीको रूपमा परिचित छन्। उनको उक्त उद्योगमा हाल ११ करोड बढी लगानी भइसकेको छ।

एकल लगानी बाहेक उनले साझेदारीमा पनि उद्योग तथा व्यवसाय गरेर स्थापित भएका छन्।

नेपाल ब्याक गोल्ड उद्योग, नवलपरासी सरावल-४ मा उत्तम ईट्टा, रुपन्देही शुद्धोधनमा आरवी ईट्टा, कपिलबस्तुमा नम्बर १ ईट्टा उनले साझेदार गरेर चलाएका उद्योग हुन्। यी उद्योगमा १ हजार बढीले रोजगारी पाएका छन्।

व्यवसायी, उद्योगीका समस्या बुझ्ने, सरल, इमान्दार व्यक्तित्वको छवि बनाएका दिलिपका एक छोरा सम्राट र एक छोरी सुदीक्षा छन्।

सदस्यबाट उद्योग संघको नेतृत्वसम्म
०५६ सालमा रुपन्देही उद्योग संघको सदस्यता लिएका दिलिप ०५८ सालमा कार्य समिति सदस्यको रूपमा संघको नेतृत्वमा उक्लिए। सह–कोषाध्यक्ष, कोषाध्यक्ष, द्धितिय उपाध्यक्ष, प्रथम उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष भएका उनी हालै मात्र संघको अध्यक्षमा निर्वाचित भएका छन्।

देखिन छाड्दैछन् भट्टामा बाल मजदुर
दिलिप अहिले ईट्टा भट्टामा बाल मजदुर घट्दै गएको बताउँछन्। बाल श्रमिकको कुनै बेला ईट्टा उद्योगमा अधिक प्रयोग हुने भए पनि यो अहिले नगन्य जस्तै भएको उनको दाबी छ। उनले बाल मजदुरका विषयमा बाहिर फरक प्रचार भएको बताए।

‘मजदुरका बुवाआमा भट्टामै बसेर काम गर्ने भएकाले उनीहरूका केही साना बालबालिका पनि सँगै हुनसक्छन्। उद्योगीले ज्याला तिरेर काम लगाउने भएपछि किन बाल श्रमिक लगाउनुपर्यो। यो अनावश्यक विषय चर्चामा ल्याइएको हो’, उनले भने।

साथै उनले अहिले उद्योगमा भारतीय मजदुरको संख्या पनि घट्दै गएको बताए। उनले आफ्नो उद्योगमा अहिले ८० प्रतिशत नै नेपाली मजदुर रहेको उनको भनाइ छ।

सरकारलाई सुझाव
अहिलेको आर्थिक मन्दीमा सरकारले उद्योग क्षेत्रलाई प्राथमिकतामा राखेर योजनाहरू ल्याए मात्र उद्योगहरू बन्द हुन अवस्थाबाट जोगिने उनले बताए।

‘सरकारले उद्योगबाट कर उठाउने बाहेक अरूमा ध्यान दिएको छैन। उसको दृष्टिकोणनै उद्योगहरूप्रति पोजेटिभ छैन। उद्योगमैत्री नीति छैन। त्यसैले पनि उद्योगीहरू उत्साहित भन्दा बढी हतोत्साही हुने गरेका छन्। यस्ता विषयमा नियमक निकायको ध्यान जानुपर्छ’, उनले भने।

साथै उनले उद्योगबाट उत्पादन भएको वस्तुको बजारको ग्यारेन्टी समेत सरकारले गरेमा उद्योगीहरू ठूला लगानी गर्न तयार हुने बताए। त्यस बाहेक खुला सिमानामा कडाइ गर्नुपर्ने उनको भनाइ छ।

२१ कात्तिक, २०८०, ०९:५७:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।