उद्योगीको पहिलो रोजाइ ‘भैरहवा-परासी’ औद्योगिक कोरिडोर

उद्योगीको पहिलो रोजाइ ‘भैरहवा-परासी’ औद्योगिक कोरिडोर

बुटवल: केडिया अर्गनाइजेसन अन्तर्गत रहेको वृज सेफ्टी ग्लास उद्योगले गत असोज १० गतेदेखि उत्पादनमा वृद्धि गर्ने गरि थप लगानी भित्र्यायो।

उद्योगीहरूका लागि निकै नै आकर्षणको क्षेत्र मानिएको भैरहवा-परासी सडक खण्डको रोहिणी गाउँपालिका-४ छिपागढमा रहेको यस उद्योगले विभिन्न आकार, मोटाइ तथा जीवन्त रङ्गहरूमा लेमिनेटेड शिशा, टिन्ड शीशा, इन्सुलेटेड शीशा, रीफ्लेक्टिभ शीशा बनाउने गर्छ।

नेपालमै सबैभन्दा ठूलो दैनिक १२ हजार वर्ग फिट सिसा उत्पादन गर्ने क्षमता रहेको यस उद्योगले लगानी थप भित्र्याउनुको उद्देश्य त्यसक्षेत्रमा औद्योगिक वातावरण हुनु नै हो।

अर्गनाइजेसनका प्रबन्ध निर्देशक उत्सव केडियाका अनुसार उद्योगीहरूका लागि जग्गाको सहज उपलब्धता, विद्युत र भारतसँग नजिक नाका भएकाले पनि सो क्षेत्र उद्योगीका लागि आकर्षित क्षेत्र बन्न पुगेको हो। 

केडियाको यो उद्योगमा ४० करोडको लगानी छ भने यसमा २ सय बढीले रोजगारी पाएका छन्। उद्योगका अध्यक्ष मनोज केडिया, निर्देशकहरू गौरव अग्रवाल, अजय गुप्ता र सतीश केडिया रहेका छन्। यस्तै प्रबन्ध निर्देशक सत्यम केडिया हुन।

प्रबन्ध निर्देशक केडियाले अन्यत्र उद्योग विस्तारका लागि जग्गा पाउन मुस्किल हुने भएकाले पनि आफूहरूले भैरहवा-परासी औद्योगिक कोरिडोर रोजेको बताए।

‘उद्योगका लागि आवश्यक ठूलो जग्गा सीमा नजिक पाउन मुस्किल छ। पाइहाले पनि जग्गाको अधिक मूल्य भएकाले उद्योग स्थापना गर्न सकिदैन। त्यसैले पनि यो कोरिडोर उद्योगीकाे  रोजाइमा परेको हो’ उनले भने।

भैरहवा–परासी सडक खण्डमा पर्ने ओमसतिया गाउँपालिका-४, बालापुरमा केही महिना अघि इश्रावती स्टिल्स प्रालिले उत्पादन सुरु गर्यो। करिब ६ करोड रूपैयाँको लगानीमा स्थापना भएको उक्त स्टिल्सले जस्तापाता, ग्याल्भनाइज टिन, सिट, स्मल रिप प्रोफाइल, कट टु लेन्थको उत्पादन सुरु गरेको हो। 

उद्योगका प्रबन्ध निर्देशक अमरिश यादव भैरहवा-परासी औद्योगिक कोरिडोरमा जग्गाको मूल्य सहज भएको र धेरै उद्योगहरु स्थापना भएकाले आफहरूले उद्योग स्थापना गरेको बताउँछन्।

उनले उत्पादित वस्तुको बिक्री र कच्चा पदार्थलाई सीमानाकाबाट कम समयमा, कम लागतमा उद्योगमा ल्याउन सहज हुने भएकाले पनि यो औद्योगिक कोरिडोर रोजाइमा परेको उनले बताए। उद्योगी यादवका अनुसार उद्योगमा २५ जनाले रोजगारी पाएका छन्।

यो उद्योगको प्रति २४ घण्टामा ७२ टन उत्पादन क्षमता छ। उद्योगका अध्यक्ष सुनील यादवले उद्योगका सबै कच्चा पदार्थ चीनबाट आयात हुने र उद्योग प्रदूषण रहित भएको बताए।

यी त केवल प्रतिनिधि उदाहरण मात्र हुन। तीन साताको फरकमा यी दुई फरक-फरक उद्योगले हुलाकी राजमार्गअन्तर्गत भैरहवा-परासी क्षेत्रमा लगानी बढाएका छन्। यसरी लगानीमा आकर्षित हुनेमा उनीहरू मात्र छैनन्।

पछिल्लो समय धेरै उद्योगीहरुका लागि भैरहवा-परासी औद्योगिक कोरिडोर रोजाइमा परेको छ। एक दशक अघिसम्म त्यति नाम नै नसुनिएको यो कोरिडोरमा अहिले ठूला घरानाका उद्योगहरु स्थापना भइरहेका छन्। 

स्वदेशी र विदेशी लगानीकर्ताको आर्कषण बनिरहेको यो क्षेत्र तिब्र गतिमा औद्योगिक कोरिडोरको रुपमा विस्तार भइरहेको छ।

हुलाकी सडकलाई बिस्तार र व्यवस्थित गरि भैरहवादेखि धकधई, परासी हुँदै महेन्द्र राजमार्गस्थित भूमहीसम्म जोडेर पक्की बनाइएपछि यस क्षेत्रमा उद्योगीहरुको आकर्षण बढेको हो।

नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य तथा सिद्धार्थ ग्रुपका प्रबन्ध निर्देशक राजेश कुमार अग्रवालले बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रमा उद्योग स्थापनाका लागि सरकारले रोक लगाउँदा उद्यमीहरु भैरहवा-परासी औद्योगिक कोरिडोर आकर्षित भएको बताए। 

‘बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर क्षेत्रबाट १५ किमी हवाई दुरी क्षेत्र भित्र वातावरणमा प्रदूषण फैलाउने प्रकृतिका कुनै पनि उद्योग स्थापनामा रोक लगाइएपछि उद्योगी व्यवसायीको रोजाइमा यस क्षेत्रमा परेको हो। परिणामतः अहिले यहाँ उद्योगी स्थापना गर्ने लहर नै चलेको छ’ उनले भने।

यस क्षेत्रमा पछिल्लो ८ वर्षमा ५० अर्ब रूपैयाँ भन्दा बढी लगानी उद्योग क्षेत्रमा भित्रिएको छ। साना तथा मझौला उद्योगमा पनि उत्तिकै लगानी छ।

भैरहवा लुम्बिनी क्षेत्रमा १५ किमीको हवाई दुरीको मापदण्ड, भैरहवा–बुटवल खण्डमा तीब्र गतिमा बढ्दो शहरीकरणले गर्दा जमिन अभाव, जमिनको मूल्य अत्यधिक महँगीलगायतका कारणले लगानीकर्ता यस क्षेत्रमा आकर्षित हुन थालेको उनले बताए।

तिरुपती बालाजी एग्रो प्रालिका सँचालक प्रकाश यादबले भारतबाट कच्चा पदार्थको सहज आपूर्ति र उत्पादन भएको सामग्री मुलुक भर एकै पटक र एउटै मूल्यमा बिक्री गर्न सकिने भएकाले भैरहवा-परासीमा खण्डमा नै उद्योग संचालन गरेको बताए।

सडकदेखि डेढ-दुई किमी भित्रसम्म पनि उद्योग खुल्ने क्रम जारी छ। सञ्चालनमा आइसकेका कतिपय उद्योगहरुले उद्योग विस्तार गरेका छन्। त्यस्तै उद्योग स्थापनाका लागि जग्गा खरिद गरेर कम्पाउन्डले घेरेर राखिएका स्थल दर्जनौं भेटिन्छन् । 

सोही कोरिडोरमा अग्रवालले स्थापना गरेको श्री स्टिल उद्योग पनि संचालित छ। यस उद्योगमा मात्रै ४ अर्ब बढीको लगानी छ। त्यस्तै यो क्षेत्रमा अर्बको लगानीमा ५ तारे सरहको बोधी रेडशन होटल समेत सञ्चालनमा छ। 

यस्तै, लुम्बिनी कोइर, श्री स्टिल्स, सिद्विविनायक फुड्स, रोहिणी एग्रो, आरती एग्रो, गज्जबको चाउचाउ, वास्र्टन टायर बियर, रुसलाई भोड्का (विजय डिस्टिलरी), वेष्टर्न फ्लोर मिल, बरुण बेभरजको तराई प्लान्ट (पेप्सिकोला), मिलानो सुज, इन्भीपावर इनर्जी एण्ड फर्टिलाइजरको सिएनजी ग्यास उद्योग, आसी इण्डष्ट्रिज, एचएच बजाज मोटरसाइकलको प्लान्ट, चैतन्य रेडिमिक्स कंक्रिट उद्योग लगायत दर्जनौँ ठूला-साना उद्योगहरु सञ्चालनमा छन। 

अझैपनि यस कोरिडोरमा दर्जनबढी उद्योगहरू सञ्चालनको तयारीमा छन्।

रोहिणी गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादवले यो क्षेत्रमा लगानीमैत्री वातावरण र प्रशस्त जमिन भएकाले अन्यत्र भन्दा यहाँ उद्योग खुल्ने क्रम बढेको बताए। साथै उनले उद्योग सञ्चालनका लागि उद्योगीहरूलाई गाउँपालिकाले सहजिकरण पनि गरिरहेको बताए।

१९ कात्तिक, २०८०, ०९:४२:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।